अतिकम विकसितबाट स्तरोन्नति हुँदा नेपाललाई पर्ने प्रभावबारे छलफल
2023-05-26 16:11:21cri
Share with:

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हमदीबीच अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा नेपाललाई पर्ने प्रभावबारे छलफल भएको छ ।

 

अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्नति हुँदा पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्न ढकालले सिंगरलाई आग्रह गर्नुभयो। साना तथा मझौला उद्योग व्यावसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनै तहका सरकारसँग समन्वयका विषयमा सहकार्य गर्नेबारे पनि दुई संस्थाका प्रमुखबीच छलफल भएको छ। छलफलमा सिंगरले दिगो विकासका लक्ष्य कार्यान्वयन सम्बन्धमा भइरहेका प्रगतिबारे जिज्ञासा राखेको कान्तिपुर अनलाइनमा खबर छ।

 

महासंघको नयाँ नेतृत्वले अघि सारेका पाँच प्रमुख प्राथमिकताबारे पनि ढकालले अवगत गराएका थिए । महासंघको नयाँ नेतृत्वले आर्थिक संकट समाधानको लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने विषयलाई प्राथमिकतामा राखेको छ।

 

सो अवसरमा आवासीय संयोजक हाना सिंगरले महासंघका अध्यक्षले राखेका विषयलाई आफूले महत्त्वका साथ लिएको बताउनुभयो। आवासीय संयोजक हानाले दिगो विकास लक्ष्य र स्तरोन्नति विशेष चासोका रुपमा हेरिएको उल्लेख गर्नुभयो। स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार फार्ने क्रममा सरकार, निजी क्षेत्र र संयुत्त राष्ट्रसंघले सहकार्य गर्न सक्ने उहाँको भनाइ छ।