राजधानी काठमाडौँ छिर्ने नाका नागढुङ्गा सुरुङमार्ग निर्माण तीव्र गतिमा
2023-05-27 17:54:29cri
Share with:

राजधानी काठमाडौँ छिर्ने नाका नागढुङ्गा सुरुङमार्ग निर्माण अहिले तीव्र गतिमा भइरहेको छ। कोरोनालगायत विविध कारणले निर्माण प्रभावित हुँदा एक वर्षको समय थप गरेर निर्माणलाई तीव्रता दिइएको हो। अहिले सुरुङमार्ग निर्माणले तीव्रता पाए पनि टनेल जोड्ने काम भने सुरु नभएको नागढुङ्गा सडक आयोजनाले जनाएको छ।  नेपालको यातायात पूर्वाधारमा सुरुङमार्गको युगमा प्रवेश गराउने उक्त टनेलबाट कहिले गाडी कुदाउन पाइएला र सुरुङमार्गको मजा लिन कहिले पाइएला भन्ने आमनागरिकको चाहना छ।

 

बहुप्रतिक्षित उक्त सुरुङमार्गको दुई टनेलमध्ये मुख्य टनेल ६ सय मिटर सुरुङमार्गमा जोडिन बाँकी छ भने सहायक अर्थात् ‘रेस्क्यु’ (इभ्याकुएसन) टनेल दुई सय १० मिटर जोडिन बाँकी छ। पहिलो चरणमा दुई सय मिटर ‘ब्रेक थ्रु’ गर्ने र मुख्य टनेल दसैँ आसपासमा ‘ब्रेक थ्रु’ गर्नेगरी काम अगाडि बढाइएको नागढुङ्गा सुरुङमार्ग आयोजनाका कन्सल्ट्यान्टका इन्जिनियर रमेश कोइरालाले जानकारी दिनुभयो।

 

उहाँका अनुसार सिस्ने खोलाबाट सुरु भएको उक्त सुरुङमार्गको लम्बाइ २ हजार ६ सय ८० मिटर छ। ‘सिस्ने खोलाको प्रवेश बिन्दुबाट ९१ मिटर माथि निस्किन्छ। टनेल सिधा नभएर थोरै कर्प (घुमाएर) बनाइएको छ। यहाँ दुईवटा टनेल निर्माण भइरहेका छन्। एउटा गाडी सञ्चालनका लागि बनाइएको हो’, इन्जिनियर कोइरालाले भन्नुभयो।

 

उहाँका अनुसार टनेलभित्र कुनै घटना भयो भने रेस्क्यु गर्नका लागि ३० मिटरको दूरीमा रहने गरी साइडमा अर्को टनेल बनाइएको छ। ‘त्यो रेस्स्क्यु (इभ्याकुएसन) टनेल हो। हरेक तीन सय ७५ मिटरमा दुई टनेल जोडिन्छ, उहाँले भन्नुभयो।

सात ठाउँमा दुई टनेलको जडान गरिने कोइरालाले जानकारी दिनुभयो। अनुगमन गरेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी एक वर्षभित्रमा गाडी गुड्नेगरी कामलाई तीव्रता दिन निर्देशन दिनुभयो।

 

राससका अनुसार निर्माण भइरहेका र निर्माण कम्पनीलाई भुक्तानी दिइएका कामको प्रगति हेर्दा हालसम्म करिब ६० प्रतिशत निर्माण सम्पन्न भएको छ। मुख्य टनेल खन्ने काम धेरै गाह्रो भएकाले मुख्य टनेल खन्ने काम सकिएपछि धेरै काम सकिने बताइएको छ। टनेल खन्ने काम मात्रै चाहिँ ८३ प्रतिशत सकिएको नागढुङ्गा सडक आयोजनाले जनाएको छ।

‘टनेल जोडिएपछि भने अन्य काम छिटो सकिन्छ। भित्र २४सै घण्टा लाइट र पावर चाहिन्छ। त्यसका लागि पनि काम गर्नुपर्छ। त्यसैले टनेल जोडिएपछि अन्य कामका लागि एक वर्षभन्दा बढी समय लाग्नेछ’, आयोजनाका कन्सल्ट्यान्ट इन्जिनियर रमेश कोइरालाले भन्नुभयो। कोरोनाका कारण एक वर्ष समय थप भई आगामी अप्रिल २६ सम्मका लागि समय निर्धारण गरिएको छ।

 

नागढुङ्गा सुरुङमार्ग आयोजनाको अध्ययन सन् २०१४ मा सुरु भएको हो। ‘डिटेल’ डिजाइन सन् २०१७ र २०१८ मा सम्पन्न भएको थियो भने सन् २०१९ मा निर्माण सुरु गरिएको थियो। आयोजना निर्माणका लागि रु २२ अर्ब लाग्ने बताइएको छ। जम्मा खर्चमध्ये रु १६ अर्ब जापान सरकारको ऋण अनुदानबाट गरिने छ भने बाँकी नेपाल सरकारको लगानी रहनेछ।

 

सन् २०१९ मा निर्माण सुरु भई ४२ महिनामा निर्माण सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो। कोरोनाका कारण एक वर्ष थप गरी सन् २०२४ अप्रिल २६ सम्म निर्माण सम्पन्न गर्ने गरी समय निर्धारण गरिएको आयोजनाले जनाएको छ।