न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको परामर्शदाता बन्यो पावर ग्रिड
2023-05-27 17:55:35cri
Share with:

पावर ग्रिड कर्पोरेसन अफ इन्डिया ४०० केभीको न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको परामर्शदाता नियुक्त भएको छ। बुटवल–गोरखपुर क्रस बोर्डर ट्रान्समिसन लिमिटेड (बीजीसीपीटीएल)ले पावर ग्रिड कर्पोरेसन अफ इन्डियालाई परामर्शदाता नियुक्त गरेको हो। बीजीसीपीटीएल नेपाल र भारतबीचको दोस्रो अन्तरदेशीय प्रसारण लाइनको निर्माण गर्न नेपाल विद्युत प्राधिकरण मिलेर स्थापित संयुक्त कम्पनी हो ।

यो कम्पनीले न्यू बुटवल–गोरखपुर ४०० केभी प्रसारणलाइन अन्तर्गत भारततर्फ पर्ने लाइन निर्माण गर्ने छ। यसमा विद्युत प्राधिकरण र भारत सरकारको स्वामित्वको पावर ग्रिड कर्पोरेसन अफ इण्डिया लिमिटेडको ५०/५० प्रतिशत सेयर स्वामित्व छ।

नेपालतर्फको प्रसारणलाइन भने प्राधिकरण आफैंले गर्दैछ । नवलपरासीको सुनवल नगरपालिका–१३ मा रहेको न्यू बुटवल सबस्टेसनबाट सुरु भई भारतको गोरखपुर सबस्टेसनसम्म पुग्ने ४०० केभी डबल सर्किट प्रसारण लाइन करिब १२० किलोमिटर छ । त्यसमध्ये नेपालतर्फ करिब २० किलोमिटर र बाँकी भारततर्फ पर्छ ।

कम्पनीको ५० प्रतिशत स्वामित्व हुन आउने ४६ करोड भारतीय रुपैयाँ (७३ करोड ६० लाख रुपैयाँ) रकम भारतमा स्थापना हुने संयुक्त कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणले स्वीकृति पाइसकेको छ। कम्पनीमा पावर ग्रिडको पनि प्राधिकरणको बराबर नै लगानी रहने अनलाइनखबरले जनाएको छ।

 

नेपाल–भारत ऊर्जा सचिव तथा सहसचिवहरुको संयन्त्रको २०७६ असोज २७ र २८ गते भएको सातौं बैठकले प्रसारणलाइन निर्माणको लगानीको स्वरुपलाई टुंगो लगाएको थियो । अनुमानित लागत ७ अर्ब ३९ करोड रुपैयाँ रहेको आयोजनाको वित्तीय व्यवस्थापन ८० प्रतिशत ऋण र २० प्रतिशत इक्विटीबाट जुटाइने छ।