नेपालबाट रोजगारीका लागि विदेशिनेको सङ्ख्या घट्दै
2023-05-28 18:19:25cri
Share with:

पछिल्लो पटक वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा ओरालो लागेको छ । नेपाली श्रमिकका गन्तव्य देशमा समेत आर्थिक मन्दीसँगै वैदेशिक रोजगारीका लागि माग कम आएकाले रोजगारीका लागि बिदेसिनेको सङ्ख्यामा ओरालो लागेको हो। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा सबैभन्दा कम वैशाखमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । पछिल्लो समय नेपाली युवाको उच्च माग हुँदै आएको मलेसियाले समेत विदेशी श्रमिक कोटा घटाएको छ ।

चालु आर्थिक वर्षको भदौमा वैदेशिक रोजगारीका लागि जारी भएको श्रम स्वीकृति उच्च बिन्दु रहे पनि त्यसयता श्रम स्वीकृति लिने युवा प्रत्येक महिना घट्दो क्रममा रहेका छन् । विभागका अनुसार चालु आर्थिक वर्षको भदौमा ७६ हजार युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकामा वैशाखमा घटेर ५४ हजारमा खुम्चिएको गोरखापत्र अनलाइनले जनाएको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले पछिल्लो पटक वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या घट्नुमा युरोपमा माग प्रमाणीकरण हुन नसक्नु, मलेसियामा नेपाली श्रमिकको माग घट्नु र विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दी मुख्य कारण रहेको जानकारी दिनुभयो। मलेसिया सरकारले पछिल्लो पटक यसअघि ‘एप्प्रुबल’ भएका आप्रवासी श्रमिक आपूर्ति नभएसम्म नयाँ माग नगर्न स्थानीय रोजगारदातालाई निर्देशन दिएसँगै मलेसियामा नेपाली श्रमिकको माग घटेको उहाँको बुझाइ रहेको छ ।

 

गत वर्षको तुलनामा चालु आवको वैशाखसम्म छ लाख ४० हजार युवा वैदेशिक रोजगारीमा गएको तथ्याङ्कले देखाएको छ । यद्यपि यो सङ्ख्या गत आर्थिक वर्षको तुलनाभन्दा बढी हो।

गत वर्षको वैशाखसम्म वैधानिक तरिकाले विदेश जानेको सङ्ख्या पाँच लाख ५९ हजार रहेकोमा चालु आर्थिक वर्षको सो अवधिमा यो सङ्ख्या छ लाख ४० हजार पुगेको छ।

विभागका अनुसार गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जान छ लाख ३५ हजारले श्रम स्वीकृति लिएका थिए । विभागको दुई आर्थिक वर्षको १० महिनाको तथ्याङ्क हेर्दा चालु आवमा दैनिक औसत दुई हजार दुई सयभन्दा बढी युवाले श्रम स्वीकृति लिएको देखिन्छ ।

गत वर्षको फागुनसम्म मासिक औसत ५० हजार युवाले श्रम स्वीकृति लिएकोमा चालु आवमा यो सङ्ख्या मासिक ६४ हजार रहेको छ । चालु आवको साउनमा ६३ हजार, भदौ ७६ हजार, असोज ५६, कात्तिक र मङ्सिरमा ६८ हजार, पुसमा ६५ हजार, माघमा ६४, फागुनमा ६१ र चैतमा ६१ हजार ४७८, वैशाखमा ५४ हजारले श्रम स्वीकृति लिएको देखिन्छ ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या खाडी देशबाट मलेसियातिर बढ्न थालेको भए पनि हाल आएर त्यहाँ जाने युवा सङ्ख्या घटेको छ । विगत १० महिनायता मलेसिया जानेको सङ्ख्यासमेत घट्दै गएको छ ।

कोरोनापछि लयमा फर्किएको वैदेशिक रोजगारी पछिल्लो पटक क्रमशः  खुम्चिन थालेको छ । साउनपछि लगातार उकालो लागेको विदेश जाने क्रम हालसम्म पनि घट्दो रूपमा रहेका कारण आगामी दिनमा आउने विप्रेषणसमेत घटने देखिएको छ।

 

गत आर्थिक वर्षमा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ३.६८ गुणाले वृद्धि भएर छ लाख ३६ हजार पुगेको थियो । गत वर्ष श्रम स्वीकृति लिनेको सङ्ख्या अघिल्लो आवको सोही अवधिको तुलनामा तेब्बर बढी छ । अघिल्लो आवमा एक लाख ६६ हजार ६९८ युवाले विदेशमा रोजगारीमा जाने जनाउँदै श्रम स्वीकृति लिएका थिए ।