विपत् न्यूनीकरणका लागि पूर्वतयारी सुरु
2023-05-28 18:19:56cri
Share with:

प्राकृतिक विपत्को ‘हटस्पट’का रूपमा रहेको सिन्धुपाल्चोक जिल्लामा मनसुन सुरु हुनुपूर्व विपत् न्यूनीकरण र विपत् प्रतिकार्यका काम थालिएका छन्।  जिल्ला र स्थानीय विपत् व्यवस्थापन समितिले विपत् न्यूनीकरण र प्रतिकार्यका लागि नीति योजना निर्माण गर्दै व्यवस्थापन र उद्धारको पूर्वाभ्यास, जोखिमयुक्त स्थानको भौगर्भिक अध्ययन, विपत् पूर्वसूचना प्रणाली, समुदाय स्तरमा खोज तथा उद्धार, प्राथमिक उपचारलगायतका पूर्वतयारीका काम भएको जिल्ला विपत् व्यवस्थापन समितिको संयोजक तथा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रमेश न्यौपानेले जानकारी दिनुभयो।

 

विपत् प्रतिकार्ययोजना तयार गरिरहेको, स्वयम्सेवक, विशेषज्ञ, परामर्शदाता परिचालन र सुपरिवेक्षण गर्ने, राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट गरिने उद्धार तथा राहतमा समन्वय गरिरहेको उहाँले बताउनुभयो। विपत्बाट उच्च जोखिममा रहेका बस्तीको भौगर्भिक अध्ययन भइरहेको र उक्त जोखियुक्त बस्ती स्थानान्तरणबारे सुरक्षित स्थानको खोजी भइरहेको प्रजिअ न्यौपानेले जानकारी दिनुभयो।

 

गोरखापत्र अनलाइनका अनुसार जुगल गाउँपालिकाको चार बस्ती गोल्चे, सेलाङ, बाँसखर्क, लिदी, भोटेकोशी गाउँपालिकाको लार्चा, धनपाल, मिलन, खाग्दललगायतका ५३ बस्ती, बाह्रबिसे नगरपालिकाको टङ्सर, नागपुजेलगायतका ८३ बस्ती, बलेफी गाउँपालिकाको खमारे र चौतारा साँगाचोकगढी नगरपालिकाको देउरालीमा भौगर्भिक अध्ययन भएको सहायक प्रजिअ निरञ्जन श्रेष्ठले जानकारी दिनुभयो। उक्त उच्च जोखिमयुक्त बस्तीलाई तत्कालै स्थानान्तरण गर्नुपर्ने सबैको प्रस्ताव आए पनि कहाँ सार्ने भन्ने टुङ्गो भइनसकेको उहाँले बताउनुभयो।

स्थानीय विपत् व्यवस्थापन समितिले विपत् उत्थानशील कार्यढाँचा, पुनर्निर्माण र पुनस्र्थापना, विपत् व्यवस्थापनमा स्थानीय सव्रिmयता, प्रविधिमा आधारित विपत् व्यवस्थापन एवं विपत् सूचना केन्द्र निर्माणका काम थाल्ने भएको छ। भू–उपयोग योजनाको तर्जुमा र विकास निर्माणमा मूलप्रवाहीकरण, सङ्घीय प्रणालीअनुरूप कानुन, नीति, संरचना र योजनाका तर्जुमा ज्ञान, सीप र क्षमताको विकासमा स्थानीय विपत् व्यवस्थापन समितिले कार्य गर्ने भएको छ।

 

विपत् पूर्वको तयारी, प्रतिकार्य, पुनर्लाभलगायतका क्षेत्रमा कार्य गर्न थाल्ने भएको छ। तीन नगरपालिका र नौ गाउँपालिका रहेको सिन्धुपाल्चोकमा जिल्ला विपत् व्यवस्थापन समिति र स्थानीय विपत् व्यवस्थापन समितिको समन्वयमा गैरसरकारी संस्था, सशस्त्र प्रहरी बललगायतले विपत्जन्य क्षेत्रका युवा, शिक्षक, विद्यार्थीलगायतलाई विपत् प्रभावितलाई बचाउन व्यावहारिक तालिम दिँदै आएको छ।

त्यस्तै सिन्धुपाल्चोक जिल्ला बहुप्रकोपबाट अत्यन्त प्रभावित जिल्लाका रूपमा रहेको छ। बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार गरेको बहुप्रकोप मूल्याङ्कन तथा जोखिम नक्साङ्कन प्रतिवेदन अनुसार सिन्धुपाल्चोक जिल्लाको ११ प्रतिशत क्षेत्र बाढीबाट अति उच्च संवेदनशील, ५६ प्रतिशत क्षेत्र उच्च संवेदनशील, ३१ प्रतिशत क्षेत्र मध्यम संवेदनशील र १.४ प्रतिशत क्षेत्र कम संवेदनशील देखिएको छ। त्यसै गरी पहिरोका लागि ६.४६ प्रतिशत क्षेत्र उच्च संवेदनशील, ३४.४९ प्रतिशत उच्च संवेदनशील, ५०.६९ प्रतिशत क्षेत्र मध्यम संवेदनशील र ८.३४ प्रतिशत क्षेत्र न्यून संवेदनशील पाइएको छ भने आगलागीका हिसाबले जिल्लाको ४.९२ प्रतिशत क्षेत्र अति उच्च, ४६.७७ क्षेत्र उच्च, ३२.७० प्रतिशत क्षेत्र मध्यम र १५.५९ प्रतिशत न्यून संवेदनशील देखिएको सो प्रतिवेदनले उल्लेख गरेको छ। सिन्धुपाल्चोकको उत्तरी क्षेत्र पहिरोको उच्च प्रकोपयुक्त क्षेत्र हो।