योगदानमा आधारित सामाजिक सुरक्षा कोष अन्तर्गत वैदेशिक रोजगारीका डेढ लाख आबद्ध
2023-06-08 15:56:03CRI
Share with:

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म एक लाख ५१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा गएका श्रमिक आबद्ध भएका छन्। दुई महिनाअघि सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने योजना कार्यान्वयनमा ल्याएपछि सो सङ्ख्यामा श्रमिक आबद्ध भएका हुन्। जसमा एक लाख ५० हजार जनाले वैदेशिक रोजगारमा जाने बेलामा कोषमा रकम जम्मा गरेका छन् भने वैदेशिक रोजगार वा स्वरोजगार रहेकामध्ये एक हजार २४० जनाले कोषमा रकम जम्मा थालेको कोषले जनाएको छ ।

कोषका अनुसार यसरी कोषमा आबद्ध भएर वैदेशिक रोजगारीमा जाने श्रमिकले हालसम्म ३० करोड रुपियाँभन्दा बढी रकम योगदान कोषमा जम्मा गरेका छन् । कोषका प्रवक्ता विवेक पन्थीले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका, विदेशमा रोजगार र स्वरोजगार रहेका श्रमिकको कोषको उक्त योजनामा उत्साहजनक सहभागिता भएको बताउनुभयो ।

विदेश जानेले अनिवार्य कोषमा योगदान गर्नुपर्ने बाध्यकारी व्यवस्था भएकाले सङ्ख्या बढी भएको भन्दै प्रवक्ता पन्थीले विदेशमा रहेकाको हकमा कतिपय ठाउँमा कोषको अनलाइन प्रणाली विकास गर्ने क्रममै रहेको र भएका ठाउँमा पनि जनचेतनाको अभाव भएकाले सङ्ख्या थोरै भएको बताउनुभयो ।

उहाँका अनुसार कोष र वैदेशिक रोजगार विभाग सहकार्यमा तयार गरिएको अनलाइन प्रणाली कोषले अहिलेसम्म नेपालीका श्रम गन्तव्य देशमध्ये २० वटा देशमा आफ्नो अनलाइन प्रणालीको विकास गरिसकेको छ। कोषले चैत ८ गतेदेखि वैदेशिक रोजगारी र विदेशमा स्वरोजगार रहेका नेपालीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्धता गर्न सुरु गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगार रहेका नेपालीलाई योजनामा सहभागिता गराउन प्रमुख श्रम गन्तव्यका दूतावासलाई समेत अनुरोध गरेका कारण योगदानकर्ता बढ्ने विश्वास कोषको छ । 

विदेशमा रहेका कतिपय श्रमिकमा योजनाबारे भ्रम रहेका कारण विदेशबाट आबद्धता हुनेको सङ्ख्या एक हजार २४० मात्र रहेको देखिन्छ । कोषमा जम्मा हुने रकमको सुरक्षाका सम्बन्धमा धेरै श्रमिकमा भ्रम रहेको कोषको बुझाइ रहेको छ ।

सरकारले वैदेशिक रोजगारीमा रहेका र जाने तयारी गरेका श्रमिकको सुरक्षाका लागि योजनालाई अनिवार्य गरेको छ। नयाँ जाने श्रमिकले श्रम स्वीकृतिकै क्रममा योजनामा अनिवार्य आबद्ध हुने गरेका छन् । वैदेशिक रोजगारी जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृति नवीकरण गर्ने बेलामा योजनामा समावेश हुन सक्ने छन् । कोषका अनुसार योजनामा समावेश हुने श्रमिकले मासिक दुई हजार दुई रुपियाँ बुझाउनुपर्छ। रकम एकमुष्ट छ महिना वा एक वर्षसम्मको बुझाएमा जम्मा गरेको रकममा १० प्रतिशत छुट पाइने व्यवस्था छ। गोरखापत्र अनलाइनका अनुसार यो रकम खल्ती, इसेवा र कनेक्ट आइपिएसमार्फत जम्मा गर्ने व्यवस्था गरेको छ। कोषले वैदेशिक रोजगारीमा रहेका २२ लाख श्रमिकलाई कोषमा समेट्ने तयारीसहित योजना सुरु गरेको जनाएको छ। वैदेशिक रोजगारीमा रहेका श्रमिकले योगदान गरेको रकम दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ७.४८ प्रतिशत र वृद्ध अवस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत छुट्याउने गरेको छ ।

योगदानकर्ताले निवृत्तिभरण योजनामा जम्मा भएको रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ट लिन वा सो रकमलाई १६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना जीवनभर निवृत्तिभरण लिने गरी रोज्न पाउने छन् ।