पोखरामा चिनियाँ ‘ड्रागन डुंगा दौड’
2023-06-09 10:15:39CRI
Share with:

चिनियाँ र नेपाली सभ्यताबीच आदानप्रदान र नेपालको पर्यटन प्रवर्द्धनको लागि यही जुन २३ र २४ तारिखसम्म अर्थात् असार महिनामा नेपालको प्रसिद्ध पर्यटकीय नगरी पोखराको फेवातालमा चीन-नेपाल मैत्री डुंगा दौड प्रतियोगिता आयोजना हुने भएको छ। सो प्रतियोगिता सम्बन्धि पत्रकार सम्मेलन जुन ८ तारिख नेपाल पर्यटन बोर्डमा आयोजित भएको छ। 

त्यस अवसरमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले दक्षिण एसियामै पहिलो पटक ‘नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’ नेपालको पोखरामा हुन लागेको जानकारी दिनुभयो। 

नेपालको पर्यटन क्षेत्रको सहयोगका लागि पर्यटक पठाउने एक मात्रै ठूलो छिमेकी चीन भएको भन्दै उहाँले पोखरामा आयोजना हुन लागेको यसप्रकारको नयाँ इभेन्टले चिनियाँ पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा लिएको बताउनुभयो।

डुंगा दौडकै अवधिमा पहिलो पटक चीनबाट पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड फ्लाइट गरिने जानकारी गराउँदै डा. रेग्मीले यो सफल भएमा भविष्यमा निरन्तर चीनबाट चार्टर्ड उडानको योजना गरिने पनि बताउनुभयो। 

नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिले बताएअनुसार चिनियाँ त्वान वु च्ये अर्थात् डुंगा महोत्सवको अवधिमा पोखरामा यसप्रकारको डुंगा दौड प्रतियोगिता संचालन गरिनेछ। 

ड्रागनबोट प्रतियोगिताका कदमहरूको कार्यान्वयन गर्न र सम्बद्ध कार्यको कार्यकुशलतालाई बढाउन जुन ७ को दिउँसो नेपाल पोखरा ओभरसिज चाइनिज एशोसिएशन र पोखरा पर्यटन बोर्ड बीच बैठक बस्यो र दुवै पक्षले प्रतियोगिता सम्बन्धित कार्यबारे विस्तृत रूपमा छलफल गरियो। हाल प्रतियोगितामा सहभागी चिनियाँ र नेपाली टोलीहरू समेत जम्मा गरी ८ टोलीले फेवातालमा अभ्यास गरिरहेका छन्। 

प्रतियोगिताका लागि चीनबाट ८ वटा डुंगा लगिने र सहभागीहरूले आवश्यक तालिम लिने कार्यक्रम छ।