पूर्वाधारमा स्रोत बढाउन विश्व बैङ्कलाई आग्रह
2023-06-09 15:37:15CRI
Share with:

अर्थमन्त्री डा. प्रकाशशरण महतले पूर्वाधार विकासमा स्रोत बढाउन विश्व बैङ्कसँग आग्रह गर्नुभएको छ। बैङ्कको दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरसँग बिहीबार अर्थ मन्त्रालयमा भएको भेटमा उहाँले पूर्वाधार विकास र सामाजिक विकासका सूचकबिच घनिष्ठ सम्बन्ध रहेकाले यसका लागि आवश्यक स्रोत व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्नुभएको गोरखापत्र अनलाइनमा खबर छ। 

पूर्वाधार विकासमार्फत गरिबी तथा पिछडिएको वर्गको जनजीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने, गाउँबाट साना बजारमा पहुँच विस्तार हुने र क्षमता विकास गरी अवसर पनि विस्तार हुने भएकाले पूर्वाधारका लागि स्रोतको आवश्यकतामा उहाँले जोड दिनुभएको हो । बसाइँसराइसँगै साना सहरी पूर्वाधारमा चाप परेकाले पूर्वाधार विकासमा थप स्रोत आवश्यक रहेको अर्थमन्त्री डा. महतको भनाइ थियो। खास गरी जलविद्युत्, सूचना प्रविधि, पर्यटन क्षेत्रको विकासमा सडक पूर्वाधार पूर्वसर्त रहेको पनि उहाँले बताउनुभयो ।

छलफलका क्रममा उहाँले सामाजिक सुरक्षा, राष्ट्रिय गौरवका आयोजना र चालु खर्च विनियोजन गरेपछि अन्य आयोजनाका लागि आवश्यक रकम न्यून रहने अवस्था रहेको बताउनुभयो । पछिल्लो समय साँवा ब्याज भुक्तानीमा हुने खर्च बढ्दै जाँदा ऋणको दिगो व्यवस्थापनतर्फ पनि सचेत रहनुपर्ने अर्थमन्त्रीको भनाइ थियो ।

विश्व बैङ्कको वित्तीय सहायतामा निर्माण हुन लागेको माथिल्लो अरुण आयोजनाको कार्यान्वयन गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको थियो।

सरकारले पूर्वाधार क्षेत्रमा लगानी बढाउन चाहेकाले आगामी आर्थिक वर्षको बजेटमार्फत पुँजीगत खर्च बढाउने प्रतिबद्धता गरेको उहाँले जानकारी गराउनुभयो।

छलफलमा उपाध्यक्ष मार्टिनले स्रोतको समुचित परिचालनमा समस्या रहेको र त्यसलाई सम्बोधन गर्न संयुक्त रूपमा काम गर्न आग्रह गर्नुभयो।