आजदेखि चीनको क्वाङ्चौ–काठमाडौँ दैनिक उडान सुरु
2023-06-09 15:20:42CRI
Share with:

कोभिड महामारीपछि चीनको क्वाङतोङ प्रान्तको क्वाङ्चौदेखि काठमाडौँसम्म आजदेखि दैनिक हवाई उडान सुरु भएको छ। चाइना साउदर्न एअरले आजदेखि दैनिक काठमाडौँसम्मको उडान सुरु गरेको हो। सन् २०२० को मार्चको अन्तिमदेखि बन्द भएको दैनिक उडान आजदेखि सुरु गरेपछि चीनबाट नेपाल जाने पर्यटनहरू पनि बढ्ने भएको छ । महामारीपछि चीनले गत ३ महिना अघिदेखि सातामा २ उडान मात्र सुरु गरेको थियो । 

चिनियाँ समयअनुसार साँझ साडे ८ बजे उडेर नेपाली समय अनुसार राती ११ बजेर ५ मिनेट जाँदा नेपाल पुग्नेछ। नेपालबाट मध्य राति उडेर बिहान चीन फर्कने छ। क्वाङ्चौ चीनको एक प्रमुख व्यापारिक केन्द्र हो।  

दैनिक उडान सुरु भएपछि चीनबाट नेपाल जाने पर्यटकहरू वृद्धि हुने आशा गरिएको छ। दैनिक उडान भएपछि चीन आउने र जाने हवाई टिकट पनि सस्तो भएको छ। यसअघि सातामा ३ उडान हुँदा हवाई टिकट महँगो थियो। 

चिनियाँ पर्यटकलाई नेपालमा सेवा दिँदै आएका युवा पर्यटन व्यवसायी सुदर्शन नेपालले महामारीपछि पहिलोपटक दैनिक उडान भएपछि चिनियाँ पर्यटक बढ्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘आजदेखि हामी उत्साही भएका छौँ, नेपालमा अब चिनियाँ पर्यटक वृद्धि हुनेछ।’ 

जुन महिनाको २२ देखि तीन दिन छुटी हुँदै छ । त्यसपछि जुलाई महिनामा चीनमा विश्वविद्यालयमा हुने ४० दिने छुट्टीका कारण चिनियाँहरू घुमफिरमा निस्कने छन्।

यही जुन महिनाको २२ तारिक चीनको राष्ट्रिय पर्व ड्रागन बोड फेष्टिवल (त्वान वु चेइ) हुँदै छ । यो अवसरमा चीन सरकारले तीन दिनको सापटी छुटी दिँदै छ। यो तीन दिनको छुट्टीमा पनि चीनबाट नेपाल पर्यटन बढ्ने आशा गरिएको छ।

रातोपाटी अनलाइनका अनुसार नेपाल चीनको संयुक्त लगानीमा रहेको हिमालय एअरले जुन महिनाको २४ तारिखदेखि सातामा एक दिन काठमाडौँदेखि चीनको राजधानी बेइजिङ्गसम्म सीधा उडान तालिका राखेको छ । हालका लागि सातामा एक उडान र यात्रुको चाप वृद्धि भएपछि उडान थप गर्दै जाने हिमालय एअरले जनाएको छ । एअरका चिनियाँ प्रतिनिधि लुसीका अनुसार हिमालय एअरले हालका लागि साताको प्रत्येक शनिवार काठमाडौँदेखि बेइजिङग काठमाडौँ सम्मको उडान गर्न लागेको हो । 

त्यसैगरी, चीनको सुछवान प्रान्तको राजधानी छेन्दुदेखि काठमाडौसम्म एअर चाइना  र सुछवान एअरले सातामा ३ उडान गर्दै आएको छ। जुलाई महिनादेखि एअर चाइनाले छेन्दुदेखि काठमाडौँसम्मको दैनिक उडान गर्ने भनिए पनि हालसम्म तालिका सार्वजनिक गरेको छैन । 

थाहा भएअनुसार, गत महिना नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा चीनका आएको टोलीले काठमाडौँ–ल्हासा उडानका लागि तिब्बतस्थित चिनियाँ अधिकारीहरूसँग अनुरोध गरेका थिए । ल्हासा उडान हुँदा नेपालबाट कैलाश मानसरोवर यात्राका  लागि आउने पर्यटकहरूका लागि सुविधा हुने भन्दै नेपालले चीन सरकारसँग अनुरोध गरेको छ ।