राष्ट्रियसभाका अध्यक्षद्वारा तिब्बतको विकासको प्रशसा
2023-06-21 11:01:52CRI
Share with:

चीनको स्वायत्त प्रदेश तिब्बतको भ्रमण सकेपछि नेपालको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सीएमजी नेपाली सेवालाई सङ्क्षिप्त अन्तर्वार्ता दिनु भएको छ। अन्तर्वार्ताका क्रममा उहाँले २३ वर्ष अगाडिको तिब्बत र अहिलेको तिब्बतको तुलनै हुन नसक्ने बताउनुभयो।

अध्यक्षज्यूको यो दोस्रो भ्रमण हो। २३ वर्ष अगाडि यहाँले तिब्बत भ्रमण गर्नु भएको थियो। त्यतिबेलाको तिब्बत र यसपटकको तिब्बतमा केकस्तो परिवर्तन पाउनुभयो?

मैले आजभन्दा २३ वर्ष अगाडि तिब्बतको भ्रमण गरेको थिएँ। त्यतिबेला ल्हासाभन्दा बाहिर धेरै हामी गएनौँ। ल्हासा वरिपरीकै क्षेत्रमा हामीले भ्रमण गरेका थियौँ। २३ वर्ष अगाडि र आजको ल्हासा धेरै फरक छ। त्यो स्वाभाविक पनि हो। ल्हासाको कुरा गर्दा २३ वर्ष अगाडि मैले देखेका सरचनाहरुमा आमूल परिवर्तन भएको छ। अर्थात् पुराना कुराहरु जस्ताको जस्तै भेटिँदैन। यहाँका पहाडहरु जस्ताका तस्तै छन् तर यहाँ अहिले हरियाली छाएको छ। बाटाहरु चौडा भएका छन्। अग्ला अग्ला घरहरु बनेका छन्। यी सबै कुराहरु अत्यन्तै आधुनिक विकासको पथमा ल्हासा सहर अगाडि बढेको पाएँ। पोतला दरवार पहिले गाडी जाने बाटो थिएन। अहिले माथिसम्मै गाडी जाँदोरहेछ। यस कारणले २३ वर्ष अगाडि र अहिले तुलनै हुन सक्दैन। यसपटक हामी मानसरोवर पनि गयौँ। मानसरोबर जाँदा विमानमा गएकाले बीचमा विमानबाट धेरै देखिने कुरा भएन। जब हामी विमानबाट झर्यौँ त्यहाँको विकास देख्यौँ। त्यहाँ पनि धेरै विकास भएको रहेछ। सडक घर लगायत सबै पूर्वाधारको विकाससँगै हरियाली बनाउने क्रम रहेछ। कृतिम हिसाबले वनजङ्गल रोप्दै बिरुवा हुर्काउँदै गरेको देख्दाखेरी मलाई अत्यन्तै खुशी लाग्यो। मानसरोबर र कैलास पर्वत जस्ता धार्मिक र पर्यटकीय हिसाबले अत्यन्त महत्वपूर्ण तिब्बतका ती गहना हुन्। वास्तवमा ती तिब्बतका लागि मात्र होइन विश्वकै लागि उपहारहरु हुन्। त्यसकारण त्यो ठाउँमा जाँदा बढी आनन्द लाग्यो। धेरै गर्व र खुशी महसुस भयो। त्यसका साथै हामी त्यो क्षेत्रका अरु गाउँहरुमा पनि गयौँ। ती गाउँ भनेपनि नेपालका हिसाबले ती सहरभन्दा कम छैनन्। पूर्वाधारको राम्रो व्यवस्था छ। सरसफाइ राम्रो छ। मानिसहरुमा हाँसो र खुशी देखिन्छ। यसैले २३ वर्ष अगाडिको तिब्बत र यतिबेलाको तिब्बतमा तुलना गर्ने कुनै सिमाना नै छैन।

अध्यक्षज्यू तपाई यसपटक मुख्य अतिथिका रुपमा तिब्बत एक्स्पोमा सहभागी हुनु भएको छ। तपाईले कस्तो विषयमा सम्बोधन गर्नुभयो र तपाईको विचारमा तिब्बत एक्स्पोले चीन र नेपाल तथा चीनको तिब्बत र नेपालबीचको सम्बन्धमा कस्तो भूमिका खेल्नेछ?

तिब्बत एक्स्पो अहिले पाँचौँपटक आयोजना भएको हो। यसले पर्यटन र साँस्कृतिक एक्स्पोका रुपमा यसलाई मनाइँदैछ। यस अवसरमा मलाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरेर तिब्बत सरकारले जुन महत्व र स्थान दिएको छ यसका लागि सर्वप्रथम म तिब्बत सरकार र तिब्बती जनतालाई धन्यवाद भन्न चाहन्छु। तिब्बत एक्स्पोको यो कार्यक्रममा मैले सम्बोधन गर्दा मूलतः दुई देशबीचको सम्बन्धका बारेमा केही कुराहरु राखेँ। यसका ऐतिहासिक पृष्ठभूमि जुन कूटनीति मात्र नभएर दुई देशबीचको सम्बन्धका ऐतिहासिक पृष्ठभूमि र ऐतिहासिक व्यापारका पनि तिब्बत र नेपालका बीचको महत्व थियो। परम्परागत रुपमा पनि तिब्बत र नेपालबीचमा व्यापार हुने गरेको थियो। यस्तो प्रसङ्गहरुलाई कोट्याउँदै आधुनिक हिसाबमा अब व्यापारलाई नयाँ ढङ्गले हामीले प्रवर्द्धन गर्नुपर्ने हुन्छ। पर्यटनको आदानप्रदान गर्नु पर्ने कुराहरु सिधा हवाइ उडान सञ्चालन गरेमा चीनको तिब्बत र नेपालबीचमा अझै धेरै पर्यटकहरु जाने आउने गर्न सक्छन्। नेपालको कृषिउत्पादनलाई तिब्बतको बजारमा ल्याउन सहजीकरण गर्नुपर्ने र धेरैभन्दा धेरै  सहुलियत हिसाबले तिब्बतका लागि महत्व दिनुपर्ने। यी विषयहरु पनि मैले राखेँ। यसका साथसाथै यो महोत्सवले विगत स्मरण गराउँदै वर्तमान दर्साएको छ। अनि तिब्बतको भविष्य कस्तो हुनेछ भन्ने कुराको अनुमान पनि पेश गरेको छ। विश्वलाई तिब्बत एउटा सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य हो भन्ने कुरालाई यो यसको साँस्कृतिक पक्ष यसको ऐतिहासिक पक्ष यसको विकास निर्माणको पक्ष आधुनिकताको पक्ष सबै कुराहरु एक्स्पोमा हामीले अनुभूत गर्न पाउँछौँ। यस हिसाबले पनि यो अत्यन्त महत्वपूर्ण रह्यो। नेपालसँगको सम्बन्धमा कुरा गर्दा नेपालका धेरै व्यवसायीहरु जो तिब्बतसँग सम्बन्धित सङ्घसँस्थाहरु पनि सहभागी छन्। उदाहरणका लागि अरनिको समाजसँगै व्यापारीहरु र जनप्रतिनिधिहरु समेत सहभागी हुनु भयो। यसले व्यापार व्यवसायलाई मात्र नभई जनस्तरका हाम्रा सम्बन्धलाई अझै घनिष्ट र मजबुत बनाएको छ। यसका साथै यहाँबाट नेपालले आफ्नो व्यापार व्यवसायलाई बढाउन पनि नेपालका स्टल पनि एक्स्पोभित्र राखिएको छ। नेपाली व्यवसायीहरुले आफ्ना उत्पादन प्रदर्शन गर्ने मौका पाउनु भएको छ र आफ्ना सामान बेच्न पाउनु भएको छ। यसका साथै हामीले आफ्नो देशमा पनि कस्तो खालको एक्स्पोहरु गर्न सक्छौँ भन्ने कुरामा अनुभव लिन पाएका छौँ। तिब्बत एक्स्पोबाट हामीले आफ्नो इतिहासलाई बिर्सनु हुँदैन,त्यसलाई ध्यान दिनुपर्छ, वर्तमानमा हामी के गर्दैछौँ भन्ने कुरालाई पनि ध्यान दिनुपर्यो र हाम्रो भविष्य कस्तो हुनेछ भन्ने कुराको अनुभव पनि लिन पाएका छौँ। यी तीनवटाको सम्योजनमा महोत्सव उत्कृष्ट हुँदोरहेछ भन्ने कुरा तिब्बती एक्स्पोबाट सिक्न पायौँ, देख्न पायौँ, महसुस गर्यौँ। समग्र चीन त्यसमा पनि तिब्बतप्रति चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुरदर्शी र कुसल नेतृत्व छ त्यसले तिब्बतीहरुका बीचमा एकता र समृद्धि अनि विकास निर्माण जस्ता दुईवटा पक्षलाई सँगसँगै अगाडि बढाउने उहाँको महान सोच छ, त्यसले गर्दा तिब्बतको विकास एकदमै छलाङ मारेको छ भन्ने कुरा मैले अनुभूत गर्न पाएँ। यो एक्स्पोले यसरी विचारको आदानप्रदान गर्नुका साथै व्यापार व्यवसाय बढाउने र हामीबीचको सम्बन्धलाई घनिष्ट बनाउने अनि पर्यटन प्रवर्द्धन गर्ने कुरामा राम्रो भूमिका खेलेको छ।