पोखरामा ‘ड्रागन बोट फेस्टिभल’, यस्तो छ चिनियाँ महत्त्व
2023-06-22 17:22:11cri
Share with:

---------अजय अलौकिक

पोखरामा चिनियाँ ‘ड्रागन बोट फेस्टिभल’को अवसर पारेर नौका दौड प्रतियोगिता आयोजना गरिँदै छ। यो प्रतियोगिता दक्षिण एसियामै पहिलोपटक नेपालमा आयोजना गरिन लागिएको हो। चिनियाँ पर्वसम्बन्धी प्रतियोगिता नेपालमा आयोजना गरिनु यहाँको पर्यटन उद्योगका लागि एउटा महत्त्वपूर्ण अवसर बन्ने अपेक्षा धेरैको छ।

यो ड्रागन बोट फेस्टिभलले नेपालको पर्यटनमा सघाउन सक्ने कुरा एकातिर छ। यसबाहेक छिमेकी मुलुक चीनसँग सांस्कृतिक सम्बन्धको आदानप्रदान तथा दुई देश बीचको सम्बन्धमा नयाँ आयाम थप्ने आशा पनि गर्न सकिन्छ। यसर्थ यस पर्वबारे र यसको सांस्कृतिकलगायत विविध पक्षबारे यहाँ चर्चा गरिएको छ।

सर्वप्रथम यो पर्वको नामबाट सुरु गरौँ। ड्रागन बोट फेस्टिभल नेपालीमा नौका पर्व हुन आउँछ। नौकालाई ड्रागनको रूपमा सजाएर या ड्रागन आकारका नौकाबीच दौड प्रतिस्पर्धा गरिने भएकोले यसलाई ड्रागन नौका पर्व भनिएको हो। तर चिनियाँहरू यसलाई ‘त्वान उ चे’ भन्छन्। यहाँ ‘चे’को अर्थ पर्व हो र ‘त्वान’ भनेको सही र ‘उ’ मध्याह्न हो।

यसको शाब्दिक अर्थमा चिनियाँ विश्लेषकहरूले विभिन्न विचार राखेको देखिन्छ। यो पर्वलाई चिनियाँहरूले विभिन्न नाम पनि दिएका छन्। ड्रागन बोट भनेझैँ ‘चोङ च पर्व’, ‘छु युआन पर्व’, ‘ग्रीष्म पर्व’, ‘पाँचौँ महिनाको पर्व’ आदि भन्ने गरेको पनि पाइन्छ। तापनि विशेषतः यो पर्व त्वान उ चे नै भनिन्छ।

विदेश र विदेशीमाझ ड्रागन बोट फेस्टिभलको रूपमा प्रसिद्ध छ। यो पर्व चिनियाँ पात्रोअनुसार पाचौँ महिनाको पाचौँ दिनमा पर्छ। सोअनुसार पर्व यस वर्ष जुन २२ परेको हो।

पाँच हजार वर्षभन्दा पुरानो चालचलन र परम्परालाई आत्मसात् गर्दै आएको चीनको यो त्वान उ पर्वको इतिहास पनि दुई हजार वर्षभन्दा अघिको हो। यो पर्व विश्व गैरभौतिक सांस्कृतिक सम्पदा सूचीमा पनि समावेश गरिएको छ।

वसन्त चाड, छिङमिङ पर्व, मध्य शरद पर्व र यो त्वान उ पर्वलाई चीनका चार ठूला परम्परागत चाडपर्व मानिन्छ। यी पर्व चीनमा हर्षोल्लासपूर्वक मनाउने गरिन्छ। यसबाहेक विदेशमा रहेका चिनियाँ र चिनियाँ प्रवासीले पनि यी पर्व उत्तिकै चाख लिएर मनाउने गर्छन्। यही भएर नै अब नेपालमा समेत यो पर्व मनाउन थालिएको छ।

ड्रागन बोट प्रतियोगिता खेलसँगमात्र सम्बन्धित छैन। पर्व भनेपछि खानेकुरा यसै जोडिन आइपुग्छ। कम्तीमा हामी नेपालीलाई त्यस्तै लाग्छ। हो, यो पर्व पनि खेल र खानेकुरा सँगै जोडिएको छ। यस चाडको एउटा विशेषता ड्रागन बोट र अर्को चोङ च खाने हो। यो पर्वमा चोङ च खाने प्रचलन छ।

चोङ च त्रिभुज आकारको भन्नुपर्दा समोसा आकारको हुन्छ। यो बाँस अथवा नर्कटको पातले बेरेर बनाइएको हुन्छ। पातभित्र गुलियो र लेसाइलो भातसँगै विविध खानेकुरा मिसाइ बफाएर पकाइन्छ चोङ च। जो यस पर्वको प्रतीकको रूपमा रहेको छ। यस चोङ चभित्र भातसँगै मासुका टुक्रा, बयरलगायत विभिन्न मीठामीठा खानेकुरा राख्ने गरिएको पाइन्छ। भातसँगै मासु, अण्डाको पहेँलो, गेडागुडी, फलफूल मिसाइएको यो चोङ च गुलियो तथा नुनिलो स्वादमा पाइन्छ। गर्मीमा यो पौष्टिक परिकार हो।

चिनियाँका महत्त्वपूर्ण पर्वमध्येको एक मानिने यो पर्व चीनका प्रसिद्ध कवि छु युआनको स्मृतिमा मनाउने गरिएको भनिन्छ। संस्कृतिविद् तथा देशभक्त कवि छु युआनले देशभक्त भावना अभिव्यक्त गर्नकालागि यसै दिन नदीमा हाम्फालेर मृत्यु रोजेका थिए। उनै देशभक्त कविको सम्झनामा यो त्वान उ चे मनाउने गरेको मानिन्छ।

वसन्त तथा शरद युद्धग्रस्त राज्यकालमा छु राज्यका शासकले कवि छुको सल्लाह नमानेपछि भएको युद्धमा ठूलो हारको सामना गर्नुपरेको थियो। उनले यो सहन गर्न नसकेपछि आत्महत्याको बाटो रोजेका थिए। यसरी उनले मिलो नदीमा हाम्फालेपछि छु राज्यका प्रजाले उनको उद्धार गर्न सक्दो प्रयास गरेका थिए। उनलाई माछाले नखाओस् भन्दै भोका माछाका लागि जनताले भातको डल्लो अर्थात् चोङ च बनाइ नदीमा फालेका थिए। यसरी नै कवि युआनको खोजीमा डुंगा दौड र चोङ च खाने चलन सुरु भएको देखिन्छ।

कवि छु युआनको जन्म युद्धग्रस्त राज्य अवधिमा छु राज्यमा ईसा पूर्व ३४० मा भएको थियो। छु युआन ज्यादै इमानदार र न्यायप्रेमी थिए। ईसा पूर्व २७८ मा मृत्युवरण गरेका देशभक्त कविले आफ्नो निर्वासनको समयमा धेरै प्रसिद्ध कविता लेखेका थिए। यसबाट पनि यो ड्रागन बोट पर्वले दुई हजार वर्षभन्दा लामो इतिहास बोकेको पुष्टि गर्छ। यस वर्ष कवि छु युआनको २३००औँ स्मृति दिवस हो।

यसबाहेक चिनियाँ परम्परामा पात्रोको पाचौँ महिनालाई प्रेतपिशाच महिना मानिन्छ। त्यसमा पनि पाचौँ महिनाको पाचौँ दिन अझै अशुभ मानिन्छ। त्यस दिनलाई रमाइलो गरी मनाएर शुभ बनाउने विश्वास लिएको देखिन्छ।

यस पर्वको दुई मुख्य विशेषता डुंगा र चोङ च रह्यो भने कविको सम्झनामा यो पर्व मनाइने विश्वास छ। यस पर्वका विभिन्न नाम रहेझैँ परम्परागत कथन र भनाइ पनि त्यतिकै छन्।

कवि छु युआनको जीवनसँग जोडिएजस्तै अरू केही देशभक्तसँग पनि यो पर्व जोडेको पाइन्छ। त्वान उ चे प्राचीनकालमा चीनको दक्षिणपूर्वी समुद्री तटवर्ती क्षेत्रका बासिन्दाले जलदेवता र ड्रागनलाई पूजाआजा गर्ने एक महत्त्वपूर्ण पर्वको रूपमा पनि रहेको छ।

आज यो पर्व चिनियाँ जनताले प्रकृतिलाई सम्मान गर्ने, देशभक्त भावना अभिव्यक्त गर्ने र रमाइलो कार्यक्रमको आयोजना गरी मनाइने पर्व बनेको छ। नौका दौड प्रतियोगिता, चोङ च खाने प्रचलन र बजार भीडभाड तथा भ्रमणले पर्वको समयमा आर्थिक गतिविधि निकै चलायमान हुने गरेको छ। यसपटकको तीनदिने बिदामा पनि आर्थिक गतिविधिले नयाँ उचाइ छुने अनुमान गरिएको छ। हालै बेइजिङबाट मात्र तीन घण्टाको तीव्रगतिको रेल यात्रामा २२ वटा सहर पुग्नसकिने भन्दै भ्रमणका लागि पर्यटकलाई प्रोत्साहन गरेको देखिन्छ। यसै गरी ड्राइभिङ गरी पुग्ने उत्कृष्ट गन्तव्यको सूची पनि सार्वजनिक गरिएको छ।

पर्वसँगै पर्यटन, फिल्मबजार र खपतलाई प्रवर्द्धन गरिएको छ। कोभिड-१९ महामारीपछिको यो त्वान उ चेले पनि आर्थिक क्षेत्रमा ठूलो हलचल मचाउने विश्वास छ।

यसै गरी नेपालमा आयोजना गरिने ड्रागन बोट फेस्टिभलले पनि नेपालको आर्थिक क्षेत्रले फाइदा लिनसक्ने देखिन्छ। आर्थिकबाहेक दुई देशबीच सांस्कृतिक पक्ष, मित्रता र भ्रातृत्व पनि बढाउने अपेक्षा गर्न सकिन्छ।

यसपटक पर्यटकीय नगरी पोखराको फेवातालमा यही असार ८ र ९ मा (जुन २३ र २४) मा ड्रागन बोट फेस्टिभल हुँदैछ। चीनले यसअघि यो पर्व ५० भन्दा बढी देशमा आयोजना गरिसकेको छ। नेपालका लागि चिनियाँ दूतावासका अनुसार पोखराको फेस्टिभल दक्षिण एसियामा नै पहिलो हो। अब उपरान्त हरेक वर्ष यो पर्व आयोजना गर्ने योजना बनाइएको छ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा हुन लागेको फेस्टिभलमा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसनको सहआयोजन तथा होटल संघ नेपाल (हान) र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) को समेत सहयोग रहेको छ।

नेपाली र चिनियाँबीच नौका दौड प्रतियोगिता पनि हुने भएको छ। प्रतियोगिताको विजेता टिमले ३० लाख रुपैयाँ नगद पुरस्कार पाउने बताइएको छ। पोखरामा आयोजना हुने फुटबल र म्याराथनपछिको यो सबैभन्दा बढी पुरस्कार राशिको प्रतियोगिता भएको आयोजकको भनाइ छ। जसमा नेपाल र चीनका गरी १ सय २० जना प्रतियोगी सहभागी हुनेछन्। दुई सय र पाँच सय मिटर गरी दुई भागमा आठवटा नौकामार्फत प्रतियोगिता हुनेछ।

यसका लागि चीनबाट डुंगा पोखरा ल्याइसकिएको छ। साथै चिनियाँ प्रतियोगी पनि पोखरा पुग्ने क्रम जारी छ। यही बुधबार, असार ६ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार बिहान चीनको छङतुबाट सछ्वान एयरलाइन्सको न्यारोबडी ए-३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जनाएको छ। उक्त विमानले फेवातालमा हुन लागेको ड्रागन बोट फेस्टिभलमा सहभागी हुने खेलाडी पनि बोकेको थियो।

२२ अर्ब लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ को जनवरी १ मा उद्घाटन गरिएको हो। नेपाल सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतापछि १८ साउन २०७३ देखि यो विमानस्थल निर्माण सुरु भएको थियो। यसको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो। यो फेस्टिभलसँगै यो विमानस्थल सुचारु हुने आमनेपालीको विश्वास छ।

यसबाट पोखरा, गण्डकी प्रदेशको मात्र नभई समग्र देशकै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास छ। चिनियाँ पर्यटकको आगमन बढ्नेछ। साथै दुई देशबीच सांस्कृतिक पक्षमा आदानप्रदानसँगै भाइचारा अभिवृद्धि हुने आशा पनि गर्न सकिन्छ।

(हिमालप्रेसमा ६ असार २०८० मा प्रकाशित)