बर्खे भेलमा र्‍याफ्टिङ
2023-07-23 16:26:58cri
Share with:

साहसिक जलयात्राका लागि विश्वमै चिनिएका नदीनालामा उत्कृष्टमध्येमा पर्छन् भोटेकोशी र सुनकोशी नदी । साउने झरीसँगै उर्लिएका यी नदी धमिला र उस्तै डरलाग्दा छन् ।

नदी वरपर रोपाइँको चटारो उस्तै छ । तर यस्तो मौसममा पनि ‘र्‍याफ्टिङ’ गर्न आउने पर्यटकको संख्या सिजनमा जस्तै देख्दा स्थानीय भने अचम्मित छन् । सुनकोशी बगरछेउमा रंगीन बिजुली बत्तीले सजिएका रिसोर्ट र होटलमा पर्यटक भरिँदा सुकुटे आफ्नै गुलजारमा मस्त रहेको कान्तिपुर अनलाइनले लेखेको छ ।

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) का महासचिव तथा पर्यटन व्यवसायी नारायण श्रेष्ठका अनुसार ‘र्‍याफ्टिङ’ गर्न आउने पर्यटकको संख्या बर्खायाममा पनि उस्तै रहेकाले अधिकांश रिसोर्ट भरिभराउ छन् । ‘सुकुटेभर दैनिक तीन सयभन्दा बढी आन्तरिक र बाह्य पर्यटक र्‍याफ्टिङका लागि भनेर आइरहेका छन् । सबै रिसोर्ट होटल व्यस्त छन्,’ उहाँले भन्नुभयो । सिजनमा यहाँ मासिक सरदर दस हजारले र्‍याफ्टिङ गर्ने गर्छन् । तर साहसिक खेल भएकाले बाढीमा पनि खेल्न सकिने उहाँको भनाइ छ । प्रत्येक र्‍याफ्टिङ टिममा पर्यटकबाहेक दुई कायाक र एक रिभर गाइड हुन्छन् । बाढीले बगाएर ल्याएको र नदीमा डुबेका शव निकाल्न दक्ष रिभर गाइड प्रयोग हुने उहाँको भनाइ छ । यसअघि बालुवा तस्कर र क्रसरको जथाभावी दोहनले नदी धमिलो र धार बदलिएपछि धेरै पटक पर्यटक ‘र्‍याफ्टिङ’ मा केही सुस्तता आएको थियो ।

तर, अहिले नदीमा पहिलेजस्तो दोहन नभएका कारणले पनि सुनकोशी आफ्नै लयमा देखिन्छ । बर्खा समयमा पनि ‘एडभेन्चर र्‍याफ्टिङ’ को सिजन नभए पनि यतिबेला पर्यटकको संख्या दिनहुँ झनै बढ्ने अनुमान गरिएको छ । ‘र्‍याफ्टिङ’ को लोभले दैनिक एक रिसोर्टमा न्यूनतम ५० आन्तरिक र २० बाह्य पर्यटक आउने गरेका छन् भने र्‍याफ्टिङ, क्यानोनिङ एडभेन्जरको मनोरञ्जन गर्न सिन्धुपाल्चोकमा सातामा दुई हजारसम्म पर्यटक भित्रिने गरेका श्रेष्ठले बताउनुभयो ।

वार्षिक करिब ६० हजार स्वदेशी र २० हजार विदेशी पर्यटक आउने गरेका छन् । यीमध्ये धेरैजसोले जलयात्राको आनन्द लिन्छन् । साहसिक जलयात्रा र रिसोर्टमा अप्रत्यक्ष–प्रत्यक्ष दैनिक ११ सयले रोजगारी पाइरहेको पुराना पर्यटन व्यवसायी महेन्द्रसिंह थापा बताउनुहुन्छ । ‘राजधानीदेखि युरोप, अमेरिकाजस्ता बाह्य मुलुकबाट आउने पर्यटकको लक्ष्य सुनकोशीमा र्‍याफ्टिङ गर्ने लक्ष्य हुने गरेको छ । यसबाहेक माउन्टेन बाकइकिङदेखि बन्जी जम्प पनि पर्यटकका लागि आकर्षण बनेका छन्,’ थापाले भन्नुभयो ।

थापाका अनुसार ‘र्‍याफ्टिङ’ गर्नकै लागि विदेशी पर्यटकले बाह्रबिसेदेखि दोलालघाटसम्मका लागि ७५ अमेरिकी डलर खर्चन्छन् । जसमा यो वर्ष २५ विदेशी टिमले सुनकोशीमा लामो दूरीको र्‍याफ्टिङ गरे । बाह्रबिसेदेखि धरान बराहक्षेत्रसम्म १० दिनको र्‍याफ्टिङ ट्रिपका लागि १५ सयदेखि सात हजार डलरसम्म शुल्क तोकिएको छ । ‘आन्तरिक पर्यटकले १५ सय तिरेर छोटो दूरीको मात्रै र्‍याफ्टिङ गर्छन् । तर सुकुटेमा प्याराग्लाइडिङ, क्यानोनिङ, काइकिङ, साइक्लिङ, जंगल सफारी, लाइभ कन्सर्टजस्ता सुविधा छन्,’ उहाँले भन्नुभयो ।