काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ खर्बको वैदेशिक व्यापार
2023-07-25 16:39:10cri
Share with:

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षको अवधिमा झण्डै २ खर्बको वैदेशिक व्यापार भएको छ। भन्सार विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आर्थिक वर्ष (आव) २०७९/८० मा १ खर्ब ५४ अर्ब ६८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो कुल आयातको ९.६० प्रतिशत हो। यस आवमा कुल वस्तु आयात १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको भएको अनलाइन खबरले लेखेको छ।

त्रिभुवन विमानस्थलबाट निर्यात भने ३५ अर्ब ५४ करोड रुपैयाँ बराबरको भएको छ। यो कुल वस्तु निर्यातको २२.६२ प्रतिशत हिस्सा हो। यसरी एक वर्षमा यो भन्सार विन्दु हुँदै कुल १ खर्ब ९० अर्ब २३ करोड रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार भएको छ।

गत आवबाटै सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भने एक वर्षमा पौने ३ करोड रुपैयाँको मात्र व्यापार भएको छ। यो विमानस्थलस्थित भन्सार विन्दुबाट २ करोड ८८ लाख ५४ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ। ३८ लाख ९० हजार रुपैयाँ मात्र निर्यात भएको छ। कुल वैदेशिक व्यापारको हिस्साको दृष्टिकोणबाट यो नगन्य हो। नेपालमा कार्गो उडान त्रिभुवन विमानस्थलमा अत्यधिक केन्द्रित छ। यहाँ जहाजहरुको अधिक भिडभाड पनि छ।

तर, सरकारले काठमाडौंको व्यापारलाई भैरहवातर्फ आकर्षित गर्न सकेको छैन। सोहीकारण यो विमानस्थल अहिले पनि अन्तर्राष्ट्रियतर्फ ठप्प जस्तै रहेको छ। अर्को अन्तर्राष्ट्रिय विमानस्थल पोखराबाट भने अहिलेसम्म कुनै पनि वैदेशिक व्यापार सुरु हुन सकेको छैन।