नेपालमा गरिबी निवारण लगायतका क्षेत्रमा चीनले सहयोग गर्ने
2023-07-25 16:26:16cri
Share with:

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समिति सदस्य युआन च्या च्युनको नेपाल भ्रमणको दोस्रो दिन केरुङ–रसुवागढी रेलमार्ग निर्माण र गरिबी निवारणमा सहकार्यदेखि आर्थिक सहयोगसम्म घोषणा भएका छन् ।

चिनियाँ नेता युआनले दोस्रो दिनको राजनीतिक भेटवार्ताका क्रममा सोमबार दुई मुलुकबीचको मित्रतालाई अझ मजबुत बनाउने, पार्टीगत सम्बन्धलाई सुधार गर्दै लैजाने, पूर्वाधार निर्माणमा सहयोग गर्नेलगायत विषयमा कुरा भएको कान्तिपुर अनलाइनले लेखेको छ।

उहाँले सोमबार सभामुख देवराज घिमिरे, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटवार्ता गर्नुभयो । छोङछिङ नगर कमिटीका सचिव युआनले राजनीतिक भेटवार्ता मात्र गर्नुभएन साथमा कलंकीस्थित एलआरआई स्कुलको भ्रमण गर्नुभयो भने भक्तपुर दरबार स्क्वायर र पाँचतले मन्दिर पनि भ्रमण गर्नुभयो ।

उहाँले सभामुख घिमिरेसँगको भेटवार्ताका क्रममा चीनका तर्फबाट नेपाललाई ८० लाख युआन (करिब नेपाली १४ करोड रुपैयाँ) सहयोगको घोषणा गर्नुभयो । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको शिष्टाचार भेटवार्तामा सभामुख घिमिरेले केरुङ–रसुवागढी जोड्न सके नेपालमा विकास र समृद्धिका लागि राम्रो हुने उल्लेख गर्नु भएको थियो। ‘सभामुखज्यूले रेलमार्गको विषय उठाएपछि चिनियाँ नेता युआनले टाउको हल्लाउनुभयो,’ बैठकमा सहभागी सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले भन्नुभयो । चीन सरकारले अनुदानमा उक्त रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न नेपालमा टोली पठाइसकेको छ । उक्त टोली अध्ययनकै चरणमा छ ।

‘सन् २०१९ मा राष्ट्राध्यक्ष सी चिनफिङको भ्रमणपछि उपल्लो स्तरको भ्रमण हुँदै आएको छ,’ सभामुख घिमिरेले भन्नुभयो, ‘द्विपक्षीय भ्रमणले नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास छ ।’ उहाँले नेपाल र चीनबीच संसदीय तहमा भ्रमण आदानप्रदान र विस्तार हुँदै गइरहेको पनि बताउनुभयो । गत वर्ष चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपाल भ्रमण गर्नु भएको थियो। एक महिना अघि मात्र नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चीनको भ्रमण गर्नु भएको थियो।

चिनियाँ नेता युआनले राष्ट्राध्यक्ष सीको निर्देशनमा नेपाल भ्रमणमा आएको उल्लेख गर्दै नेपाललाई अन्नमा आत्मनिर्भर बनाउन चीनले सहयोग गर्ने वाचा गर्नुभयो । युआन नेपाल आएकै अवसर पारेर सीपीसीका नेताहरू सिन्धुपाल्चोकमा माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाको क्षेत्र पुगेका थिए । उक्त क्षेत्रमा चीन–दक्षिण एसियाली मुलुकहरू गरिबी निवारण तथा विकास सहयोग केन्द्रको ‘जीवन्त गाउँ’ नमुना परियोजनाको सोमबारबाट सुरुआत भएको छ । चिनियाँ प्रतिनिधिहरूले सिन्धुपाल्चोकको साँगागढी नगरपालिकाको कुबिन्डे गाउँमा उक्त ‘जीवन्त गाउँ’ नमुना परियोजना सुरु गरेका हुन् । हाललाई चीनले उक्त गाउँबाट परियोजना थालनी गरे पनि भविष्यमा नेपालका अन्य क्षेत्रमा त्यस्ता कार्यक्रम अघि बढाउने जनाएको कार्यक्रममा उपस्थित एक अधिकारीले जानकारी दिए ।

सभामुख घिमिरेलाई भेट्नुअघि चिनियाँ नेता युआनले कांग्रेस सभापति देउवालाई मेरियट होटलमा भेट गर्नुभयो । उक्त अवसरमा पूर्वपरराष्ट्रमन्त्री नारायण खड्का र कांग्रेसका राष्ट्रिय सभा सांसद कृष्णप्रसाद पौडेलको पनि सहभागिता थियो । ‘सभापतिज्यूले नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध र गहिरो मित्रता रहेको उल्लेख गर्दै त्यसलाई थप मजबुत बनाउनुपर्ने बताउनुभयो,’ पौडेलले भन्नुभयो, ‘नेपालको पूर्वाधार विकास र कोभिड–१९ को दौरान चीनले गरेको सहयोगलाई लिएर सभापतिज्यूले चिनियाँ नेतालाई धन्यवाद दिनुभयो ।’

देउवाले चीनले जसरी द्रुत रूपमा आर्थिक विकास गरेको छ, त्यसरी नै अघि बढ्नका लागि नेपाललाई पनि सहयोग गर्न आग्रह गर्नुभयो । देउवाले नेपाल एक चीन नीतिमा प्रतिबद्ध गरेको पनि उल्लेख गर्नुभयो । चिनियाँ नेता युआनले दुई मुलुक र पार्टीबीचको सम्बन्धलाई बलियो बनाउनुपर्ने उल्लेख गर्दै देउवालाई चीन भ्रमणको निम्तो दिनुभयो । उहाँले सभामुख घिमिरेलाई पनि चीन भ्रमणको निम्तो दिनु भएको छ।

चिनियाँ दूतावासमा सोमबार बेलुकी रात्रिभोजमा सहभागी हुनुअघि युआनले भक्तपुरको ऐतिहासिक क्षेत्र दरबार स्क्वायर र पाँचतले मन्दिरको भ्रमण गर्नु भएको छ। उहाँलाई स्थानीयले सांस्कृतिक बाजासहित स्वागत गरेका थिए । एक वर्षअघि सीपीसी विदेश विभागका प्रमुख लिउ चियानछाओले पनि भक्तपुरको यसरी नै भ्रमण गर्नु भएको थियो। करिब एक घण्टा दरबार स्क्वायर क्षेत्र घुम्नु भएका युआनले त्यसपछि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटवार्ता गर्नुभयो । ‘उक्त अवसरमा उहाँहरूबीच दुई देशको सम्बन्ध, दुई मुलुकका जनताबीचको सम्बन्ध तथा नेमकिपा र सीपीसीबीचको सम्बन्धको विषयमा कुराकानी भयो,’ भेटवार्तामा सहभागी नेमकिपाका सांसद प्रेम सुवालले भन्नुभयो, ‘हाम्रो अध्यक्षले दुई मुलुक र जनताबीचको सम्बन्ध राम्रो भयो भने अन्य सम्बन्ध सुमधुर हुने कुराकानी गर्नुभयो ।’

चिनियाँ नेता युआनले दुई मुलुक मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । बिजुक्छेले ‘मयुरको झ्याल’ र युआनले ‘सेरामिक प्लेट’ उपहार एकअर्कालाई हस्तान्तरण गर्नुभयो। नेपालको तीनदिने भ्रमणमा रहेका युआनले पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का तथा माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको माओवादी टोलीसँग भेटवार्ता गर्नु भएको थियो। स्वदेश फर्कनुअघि युआनले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नु भएको छ।