गत वर्ष नेपालबाट ११ अर्ब ५० करोडको गलैंचा निर्यात
2023-07-27 16:28:32cri
Share with:

 

आर्थिक वर्ष २०७९/०८० मा नेपालबाट ११ अर्ब ५० करोड रुपैयाँ बराबरको गलैंचा निर्यात हुँदा अमेरिकामा मात्रै आधाभन्दा धेरै गएको छ। भन्सार विभागको तथ्यांकअनुसार अमेरिकामा मात्रै ७ अर्ब १८ करोड २५ लाख ६७ हजार रुपैयाँ बराबरको गलैंचा निर्यात भएको कान्तिपुर अनलाइनले लेखेको छ।

गत वर्षभर ४ लाख ९२ हजार ३३५ स्क्वायर मिटर गलैंचा निर्यात भएको विभागले जनाएको छ। जसमध्ये अमेरिकामा २ लाख ४६ हजार ८४५ स्क्वायर मिटर गलैंचा निर्यात भएको छ। जर्मनमा ८८ करोड ७० लाख २२ हजार रुपैयाँ बराबरको ३३ हजार ७३४ स्क्वायर मिटर गलैंचा निर्यात भएको हो। युकेमा ७८ करोड ७५ लाख ७६ हजार रुपैयाँ बराबरको २२ हजार ७०४ स्क्वायर मिटर गलैंचा निर्यात भएको छ। इटालीमा ६१ करोड ४६ लाख ६२ हजार रुपैयाँ बराबरको २६ हजार ७६५ स्क्वायर मिटर निर्यात भएको छ।

आर्थिक वर्ष २०७८/०७९ मा ९ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ बराबरको गलैंचा निर्यात भएको थियो। आर्थिक वर्ष २०७७/०७८ मा ७ अर्ब २४ करोड ४० लाख रुपैयाँको निर्यात हुँदा आर्थिक वर्ष ०७६/०७७ मा ६ अर्ब १५ करोड ७७ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो। आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब ३६ करोड ८७ लाख रुपैयाँ बराबरको गलैंचा निर्यात भएको थियो।