नेपालका औद्योगिक क्षेत्रमा स्वदेशी तथा विदेशी क्षेत्रबाट साढे दुई खर्ब लगानी प्रस्ताव
2023-07-27 16:21:29cri
Share with:

 

नेपालमा एक वर्षमा स्वदेशी र विदेशी लगानी उद्योग सञ्चालनका लागि साढे दुई खर्ब लगानी प्रस्ताव आएको छ। उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा स्वदेशी र विदेशी उद्योग सञ्चालन गर्न दुई खर्ब ५२ अर्ब रुपियाँ लगानी प्रस्ताव आएको हो। 

गत वर्ष ३२२ वटा स्वदेशी उद्योग दर्ता भई ती उद्योगमार्फत दुई खर्ब १४ अर्ब प्रस्ताव आएको तथ्याङ्क छ। सो अवधिमा सबैभन्दा धेरै १८६ वटा साना उद्योग दर्ता भएका गोरखापत्र अनलाइनले लेखेको छ। 

मझौला उद्योग ७० र ठुला उद्योग ६६ वटा दर्ता विभागको विभागको तथ्याङ्क छ। ती उद्योग सञ्चालनमा आए प्रस्तावित रोजगारी २३ हजार ३२४ जनाले पाउने अनुमान गरिएको छ। 

यस्तै गत आवमा ३२६ परियोजनामार्फत ३८ अर्ब १४ करोड ५५ लाख ६६ हजार वैदेशिक लगानी प्रस्ताव आएको विभागले जनाएको छ। विदेशी लगानीमा सञ्चालित परियोजनाबाट १६ हजार ९६५ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ। विश्वमा देखा परेको आर्थिक सङ्कटका कारण स्वदेशी र विदेशी दर्तासँगै लगानी प्रतिबद्धतामा कमी आएको विभागले जनाएको छ। मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण नयाँ उद्योग दर्तामा कमी आएको विभागको तथ्याङ्क छ। बैङ्कको उच्च ब्याजदरका कारण भएका उद्योग पूर्ण रूपमा सञ्चालन हुन नसकेको अवस्थामा नयाँ उद्योग दर्ता सङ्ख्यामा समेत कमी आएको हो। 

विभागका अनुसार गत वर्ष पाँच प्याटेन्ट दर्ता भएका छन्। डिजाइन सङ्ख्या १८, ट्रेडमार्क सङ्ख्या तीन हजार २५४ दर्ता भएका छन्। यस्तै प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) ८२ र टे«कमार्कसम्बन्धी मुद्दा कारबाही १५० सङ्ख्यामा भएको विभागले जनाएको छ। यस्तै उद्योगको निर्यातमा नगद अनुदानका लागि उद्योगहरूको भ्यालु एडिसन प्रमाणित सङ्ख्या ४०४ रहेको छ। भारतमा निर्यातका लागि ९८ वटालाई उत्पत्तिको सर्टिफिकेट सिफारिस गरिएको विभागले जनाएको छ।