मोबाइल आयातमा उच्च गिरावट
2023-07-27 16:30:06cri
Share with:

नेपाल भित्रिने मोबाइल फोनको संख्यामा ठूलो गिरावट आएको छ। भन्सार विभागले सार्वजनिक गरेको अन्तर्रा‍ष्ट्रिय व्यापारको तथ्याङ्‍क अनुसार  मोबाइल आयातमा १२ अर्ब रुपैयाँ बराबरले गिरावट आएको देखिएको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३८ अर्ब रुपैयाँ भन्दा बढीको फोन भित्रिएकामा गत वर्ष २६ अर्ब रुपैयाँ बराबरको मात्रै फोन भित्रिएको विभागले जनाएको अनलाइन खबरले लेखेको छ।

आर्थिक वर्ष २०७९/८० मा ३९ लाख ३५ हजार ३६७ थान मोबाइल नेपाल भित्रिएको भन्सारले जनाएको छ। यसका लागि नेपालबाट २६ अर्ब ५१ करोड ४७ लाख २० हजार रुपैयाँ बाहिरएको छ। मोबाइल र टेलिफोन आयातबाट सरकारले ४ अर्ब ८८ करोड ७३ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

गत वर्ष ५५ लाख ८६ हजार ५७८ थान फोन र टेलिफोन उपकरण नेपालले आयात गरेको थियो। जसका लागि ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँ मुलुकबाट बाहिरीएको थियो। गत वर्ष सरकारले फोन र मोबाइलको आयातबाट ६ अर्ब १ करोड ६० लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।

मोबाइलको आयात घट्नुलाई व्यवसायीहरुले भने आथिक मन्दी र  खुल्ला सीमासँग जोडेर ब्याख्या गरेका छन्। नेपाल मोबाइल व्यवसायी महासंघकाअनुसार आर्थिक वर्ष २०७८/७९ मा कोभिड-१९ का असर केही बाँकी रहेका कारण खुला सीमाबाट अवैध आयात कम थियो। वैधानिक आयात बढेका कारण सरकारी राजस्व र मोबाइलको आयात तथ्याङ्‍क पनि बढेको संघका महासचिव रमेशकुमार घिमिरे बताउनुहुन्छ। तर, गत वर्ष सबै खुला हुनु, आर्थिक मन्दी पनि देखिनु जस्ता कारणबाट मोबाइलको आयात घटेको हुन सक्ने उहाँको अनुमान छ।

‘गत वर्ष चोरी पैठारीबाट पनि धेरै मोबाइल भित्रिए,’ घिमिरे भन्नुहुन्छ, ‘आर्थिक मन्दी र नेपाल राष्ट्र बैंकले महँगो मोबाइल आयातमा लगाएको रोकका कारण पनि आयात घटेको हुनुपर्छ।’ महासंघका केन्द्रीय सदस्य छतेन्द्र आचार्यकाअनुसार आर्थिक अभावमा बजारमा मोबाइलको बिक्री ५० प्रतिशतसम्म घटेको छ।

‘पहिले दैनिक १० वटासम्म फोन बिक्री हुने गरेकामा अहिले मुश्किलले ५ वटा बेच्न पनि गाह्रो छ,’ आचार्यले भन्नुभयो, ‘मानिसहरु १२ देखि ३० हजार रुपैयाँसम्मको फोन खरिदमा आउन थालेका छन्। त्यो पनि अति आवश्यक नभई खरिद नै गर्दैनन्।’ उहाँका अनुसार मोबाइलका प्रयोगकर्ताहरु सकेसम्म मर्मत सम्भार गरेर काम चलाउनका लागि मात्रै मोबाइल प्रयोग गर्दछन्।