चोभार सुक्खा बन्दरगाह सञ्चालन निजी क्षेत्रलाई दिने तयारी
2023-07-28 16:10:44cri
Share with:

 

नेपाल सरकारले चोभारमा रहेको सुक्खा बन्दरगाह (ड्राई पोर्ट) प्रभावकारी रूपमा चलाउन नसकेपछि सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन लागेको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिले टेन्डर आह्वान गरेर पाँच वर्षका लागि बन्दरगाह सञ्चालनमा दिइने जानकारी दिएको गोरखापत्र अनलाइनले लेखेको छ। समितिले एक सूचना प्रकाशित गर्दै समितिले बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिइन लागेको बताएको छ। पाँच वर्षका लागि बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने गरि टेन्डर आह्वान गरेको हो। 

हालसम्म समिति आफैँले नियमन र व्यवस्थापनको काम गर्दै आएको थियो। अन्य स्थानका बन्दरगाह निजी क्षेत्रले सञ्चालन गरिरहेका छन्। समितिका अनुसार आगामी ४५ दिनभित्र इच्छुक कम्पनीले बोलपत्रका लागि आवेदन दिन सक्ने छन्। भदौ २२ गतेसम्म बोलपत्र भर्न सकिने छ। 

आवेदन दिने कम्पनीका लागि बन्दरगाह व्यवस्थापन तथा टर्मिनल व्यवस्थापन, वेयर हाउस, यातायात, क्लियरिङ एन्ड फरवार्डिङलगायतका काममा कम्तीमा पाँच वर्षदेखि संलग्न भएको र विगत तीन वर्षको औसत कारोबार कम्तीमा ६० लाख भएको हुनुपर्ने मापदण्ड तोकिएको छ। 

२२० रोपनीमा फैलिएको चोभार बन्दरगाह विश्व बैङ्कको ऋण सहयोगमा निर्माण गरिएको थियो। बन्दरगाह औपचारिक रूपमा सञ्चालनमा आए पनि प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन।