विदेशी लगानी प्रतिबद्धता ३८ अर्ब, भित्रियो साढे ६ अर्ब
2023-07-28 16:17:16cri
Share with:

गत आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ) सम्ममा नेपालमा खुद ४ अर्ब ६४ करोड रुपैयाँ मात्र प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्रिएको छ । यस अवधिमा कुल ६ अर्ब ४५ करोड रुपैयाँ विदेशी लगानी भित्रिए पनि १ अर्ब ८० करोड रुपैयाँ बराबर पुरानो लगानी बाहिरिएकाले खुद विदेशी लगानी ४ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ देखिएको कान्तिपुर अनलाइनले लेखेको छ ।

गत आर्थिक वर्षको ११ महिनाको विदेशी लगानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको ११ महिनामा १७ अर्ब ८७ करोड रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको थियो ।

नेपालमा अघिल्लो आर्थिक वर्षदेखि नै विदेशी लगानी तीव्र दरमा घट्न थालेको हो । अघिल्लो आर्थिक वर्षमा पनि भदौबाहेक सबै महिनामा विदेशी लगानी घटेको थियो । गत आर्थिक वर्षको सुरुदेखि नै सोही प्रवृत्ति दोहोरियो । यसअनुसार गत साउनदेखि जेठसम्म सबै महिना विदेशी लगानी उच्च दरले घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।

गत आर्थिक वर्षका पहिलो २ महिना (साउन र भदौ) मा खुद विदेशी लगानी ऋणात्मक थियो । यसअनुसार साउनमा १ अर्ब ४० करोड र भदौसम्ममा ८० करोड रुपैयाँले खुद विदेशी लगानी ऋणात्मक रहेको राष्ट्र बैंकको तथ्यांक छ । यद्यपि साउनमा ४० करोड ९६ लाख र भदौमा ५८ करोड ८० लाख रुपैयाँ विदेशी लगानी भित्रिएको थियो । गत आर्थिक वर्षको सुरुमै पोखरास्थित मणिपाल कलेजबाट १ अर्ब ८० करोड रुपैयाँ विदेशी लगानी बाहिरिएपछि आर्थिक वर्षको पहिलो दुई महिनामा खुद विदेशी लगानी ऋणात्मक देखिएको हो । गत असोजदेखि भने खुद प्रत्यक्ष विदेशी लगानीको वृद्धिदर पनि सकारात्मक हुन थालेको थियो । खुद विदेशी लगानी सकारात्मक भए पनि गत अघिल्लो आर्थिक वर्षको तुलनामा निकै कम मात्र रकम नेपाल भित्रिएको छ ।

यद्यपि नेपालमा भित्रिएको विदेशी लगानी सोही अवधिमा विदेशी लगानीकर्ताले गरेको प्रतिबद्धताभन्दा निकै कम हो । गत साउनदेखि असारसम्म नेपालमा ३ सय २७ वटा आयोजनाका लागि ३८ अर्ब ४० करोड रुपैयाँको प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांक छ । यो गत आर्थिक वर्षमा उद्योग विभागले स्वीकृत गरेको विदेशी लगानी प्रतिबद्धता रकम हो । तर, गत आर्थिक वर्षको ११ महिनामा ४ अर्ब ६४ करोड रुपैयाँ मात्र विदेशी लगानी भित्रिएको छ ।

प्रतिबद्धता भएको सबै विदेशी लगानी सोही अवधिमा आउँछ वा आउनुपर्छ भन्ने हुँदैन । सरकारले विदेशी लगानी स्वीकृत गर्दा लगानीकर्तालाई चरणबद्ध रूपमा (किस्तामा) लगानी भित्र्याउने अनुमति दिएको हुन्छ । यसकारण गत आर्थिक वर्षभरीमा ३८ अर्बको लगानी प्रतिबद्धता भएकामा करिब साढे ४ अर्ब रुपैयाँ मात्र रकम भित्रियो भनेर विश्लेषण गरिहाल्न नमिल्ने जानकारहरू बताउँछन् । यद्यपि लगानीका लागि भएको प्रतिबद्धताको तुलनामा निकै कम मात्र विदेशी लगानी आउने गरेको उनीहरू स्विकार्छन् ।

नेपालमा विदेशी लगानी निरन्तर घट्नुको पहिलो कारण राज्यले उपयुक्त लगानी वातावरण बनाउन नसक्नु नै भएको अर्थविद् केशव आचार्यको भनाइ छ । ‘जबसम्म स्वदेशी लगानीकर्ताले लगानी थप्न चाहँदैनन्, तबसम्म विदेशी लगानीकर्ता ठूलो पुँजीका साथ आउलान् भनेर सोच्नु मूर्खता हो,’ उहाँले भन्नुभयो, ‘विदेशी लगानीकर्तालाई आकर्षित गर्न सुरुमा स्वदेशी लगानीकर्तालाई मेरो लगानी सुरक्षित छ र त्यसबाट उचित प्रतिफल पनि लिन सकिन्छ भनेर राज्यले आश्वस्त गर्न सक्नुपर्छ । त्यसपछि विदेशी लगानीकर्ता आफैं आउँछन् ।’ धेरैभन्दा धेरै विदेशी लगानी भित्र्याउन नेपालले धेरै नीतिगत र संरचनात्मक सुधार गर्नुपर्ने भए पनि सुरुमा स्वदेशी लगानीकर्ताले लगानी विस्तार गर्ने वातावरण निर्माण गर्नु नै मुख्य काम भएको उहाँको भनाइ छ ।

पछिल्ला दिनमा नेपालमा बैंक तथा वित्तीय संस्थाविरुद्ध बढ्दै गएको अराजक गतिविधिले पनि अन्तर्राष्ट्रिय जगत्मा नराम्रो सन्देश गएको छ । यस्ता गतिविधिले विदेशी लगानीकर्ता लगानी विस्तारका लागि झस्किएका देखिन्छन् । यसकारण सम्बन्धित निकायले तत्काल यस्ता गतिविधि रोक्न पहल गर्नुपर्ने जानकारहरू बताउँछन् । सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) अन्तर्गतको एसिया प्रशान्त समूह (एपीजी) ले नेपाललाई ‘ग्रे लिस्ट’ मा राख्न प्रारम्भिक प्रतिवेदन दिनुले पनि कालान्तरमा नेपालमा आउने विदेशी लगानी प्रभावित हुने घट्ने उनीहरूको भनाइ छ । नेपाललाई त्यो अवस्थामा पुग्न नदिन यो क्षेत्रमा तोकिएका ऐन कानुन निर्माण र तिनको कार्यान्वयन गर्नुपर्ने उनीहरूको सुझाव छ ।

नेपालमा विभिन्न क्षेत्रका ५५ वटा राष्ट्रबाट एफडीआई आउने गरेको भए पनि हरेक वर्ष विदेशी लगानीको लाभांशबापत बाहिरिने रकम धेरै रहेको र पछिल्ला वर्षहरूमा लगानी पनि घट्दै गएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा १८ अर्ब ५६ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो ।