१७ वर्षमै माउन्ट के-टु चढेर निमारिञ्जीद्वारा विश्वकीर्तिमान
2023-07-29 16:23:15cri
Share with:

 

‘किलर माउन्टेन’का रुपमा प्रख्यात पाकिस्तानको माउन्ट के-टु आरोहण गरेर नेपालका १७ वर्षीय निमारिञ्जी शेर्पाले विश्वकीर्तिमान बनाउनु भएको छ। १७ वर्ष ९९ दिनमै विश्वको दोस्रो अग्लो (८६११ मिटर) माउन्ट के-टु को शिखरमा पुगेर सबैभन्दा कान्छो आरोहीका रूपमा संखुवासभाका निमारिञ्जीले नयाँ कीर्तिमान बनाउनु भएको नेपाल खबर अनलाइनले लेखेको छ।

उहाँले पाकिस्तानको समयअनुसार बिहीबार बिहान १० बजेर ४५ मिनेटमा माउन्ट के-टु को शिखर चुम्नु भएको हो। उहाँसँगै आरोहण साथी पासाङ नुर्बु शेर्पा र तेन्जिङ शेर्पा पनि विश्वको दोस्रो अग्लो हिमाल आरोहण गर्न सफल हुनु भएको छ।

निमारिञ्जीसँगै नर्वेकी चर्चित आरोही क्रिस्टिन ह्यारिला र नेपाली गाइड तेन्जिङ ल्हामा शेर्पाले पनि माउन्ट के-टु को सफल आरोहण गर्नु भएको हो। क्रिस्टिन र तेन्जिङले माउन्ट के-टु आरोहण गरेपछि ९२ दिनमा विश्वका सबै ८ हजार मिटर अग्ला १४ हिमाल चुम्ने विश्वकीर्तिमान पनि बनाउनु भएको छ। 

निमाले यसअघि ८ हजार मिटर अग्ला सातवटा हिमाल चुमिसक्नु भएको छ। जसमा मनास्लु, सगरमाथा, ल्होत्से, नाङ्गा पर्वत, गाशेरब्रुम दोस्रो,  गाशेरब्रुम पहिलो ब्रोड पिकको सफल आरोहण गरिसक्नु भएको थियो।

निमारिञ्जीले आफ्नो किशोर उमेरमै ८ हजार मिटर अग्ला सबै १४ हिमाल चढ्ने योजना बनाउनु भएको छ। अब उहाँले चोयु हिमाल चढ्ने योजना बनाउनु भएको छ।