हाङ्चौमा आयोजना हुने १९ औँ एसियाडमा नेपालका २ सय ३४ खेलाडी सहभागी हुने
2023-07-29 16:18:41cri
Share with:

चीनको हाङ्चौमा आयोजना हुने १९ औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा नेपालबाट दुई सय ३४ जना खेलाडीले सहभागिता जनाउने भएका छन्। प्रतियोगितामा नेपालले २९ वटा खेलमा भाग लिँदै छ। १९औँ एसियाली खेलकुदको तयारी तथा सहभागीको विषयमा राष्ट्रिय खेल सङ्घहरूसँगको छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले उक्त जानकारी दिनु भएको रातोपाटी अनलाइनले लेखेको छ। 

‘नेपालले विभिन्न २९ खेलमा दुई सय ३४ जना खेलाडी सहभागी गराउने छ। सकेसम्म बढी खेलाडीले एसियाडजस्तो ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव सँगाल्ने अवसर पाउन भनेर निकै मेहनत गरी खेलाडी सङ्ख्या दुई सय ३४ पुर्‍याइएको हो,’ सदस्यसचिव घिसिङले भन्नुभयो। सदस्यसचिव घिसिङले आगामी एसियाली खेलकुदमा नेपालको सहभागिताका लागि सरकारसँग आफूहरूले २४ करोड रुपैयाँ माग गरेको जानकारी पनि दिनुभयो। ‘आगामी एसियाडका लागि हामीले २४ करोड माग गरेका थियौँ। हालसम्म २१ करोड रुपैयाँको सहमति प्राप्त भइसकेको छ। बाँकीका लागि पनि प्रयास भइरहेको छ,’ उहाँले भन्नुभयो। 

सदस्यसचिव घिसिङले खेलाडीको प्लेइङ किट्स (आवश्यक खेल सामाग्री) का लागि सम्बन्धित संघहरुलाई आवश्यक तयारी थाल्न सुझाव दिनुभयो। ‘कुनै संघले एसियाडको तयारीका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता, वैदेशिक प्रशिक्षण वा विदेशी प्रशिक्षक स्वदेशमा झिकाउन चाहेमा आवश्यकताका आधारमा एसियाली खेलकुद तयारी सचिवालयमा प्रस्ताव पेस गर्नु होला,’ उहाँले भन्नुभयो। 

नेपाल ट्रायथलन संघका अध्यक्षसमेत रहेका नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले हरेक विषयमा परिषद्को मात्र भर नपरी खेलाडीको सुविधाका लागि सम्बन्धित संघहरुले पनि प्रयास गर्नु पर्नेमा जोड दिनुभयो। उहाँले राखेप र ओलम्पिक कमिटीबीच हरेक विषयमा समन्वय भइरहेको बताउनुभयो। कार्यक्रममा तयारी सचिवालयबाट भएका प्रगति विवरण पनि प्रस्तुत गरिएको थियो। उपस्थित संघका प्रतिनिधिहरुले खेलाडीको प्रशिक्षण, सुविधा, बसोवास, प्रशिक्षण स्थल, वैदेशिक प्रशिक्षण, खेल सामाग्री, स्पाइरिङ पार्टनर, बिमालगायतका विषयमा कुरा उठाएका थिए। हाङ्चौ एसियाड आगामी असोज ६ गतदेखि सुरु हुँदैछ।

सुरुआती चरणमा नेपालले आगामी एसियाडमा २३ वटा खेलमा मात्र सहभागिता जनाउने निर्णय लिएको थियो। त्यतिबेला नेपालले तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल, फेन्सिङ, ह्याण्डबल, कबड्डी, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र शुटिङ गरी २३ खेलमा सहभागिता जनाउने निर्णय गरेको थियो। 

त्यसपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले रग्बी, स्क्वास, टेनिस, इ—स्पोर्टस र डान्स स्पोर्टस गरी पाँचवटा खेल थप्ने निर्णय गरेको थियो। बोर्ड बैठकले २८ खेलका लागि सरकारसँग २९ करोड रुपैयाँ बजेट माग्ने निर्णय गरेको थियो। त्यसपछि राखेपले नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ एसोसिएसनको आग्रहमा अर्को एक खेल थप्ने निर्णय गरेको हो। 

आगामी एसियाडको उद्घाटन समारोहअघि हाङ्चौमै हुने ‘टर्च र्‍याली’ मा नेपालबाट एसियाली खेलकुदमा कांस्य पदक जित्ने बक्सिङका दीपक महर्जनलाई सहभागी गराइँदै छ। टर्च र्‍यालीमा एसियाडमा सहभागी हुने सबै राष्ट्रका प्रतिनिधिको उपस्थिति रहने छ। दीपक महर्जन हाल हाङ्चौ एसियाडमा सहभागी हुने बक्सिङ टोलीका प्रशिक्षकमध्येका एक हुनुहुन्छ। 

‘१९औँ एसियाली खेलकुद पनि चीनमा हुँदैछ। यसअघि १६औँ एसियाली खेलकुद पनि चीनमै भएको थियो। १६औँ संस्करणमा नेपाललाई एकमात्र पदक दीपक महर्जनले दिलाउनु भएको थियो। सोही सफलताको कदर गर्दै हाङ्चौ एसियाडअघि हुने टर्च र्‍यालीमा दीपक महर्जनलाई सहभागी गराउन राष्ट्रिय खेलकुद परिषद्ले सिफारिस गरिसेको छ,’ केही दिनअघि आयोजित एक कार्यक्रममा सदस्यसचिव घिसिङले भन्नुभएको थियो।

एसियाली खेलकुदको ७२ वर्ष लामो इतिहासमा १९औँ संस्करणमा सहभागी हुने खेलाडीको सङ्ख्याले नयाँ कीर्तिमान बनाउने भएको छ। यस पटक प्रतियोगितामा कीर्तिमानी रूपमा १२ हजार पाँच सय जना खेलाडीले सहभागिता जनाउने भएका छन्। प्रतियोगितामा ४५ राष्ट्रका खेलाडीले भाग लिनेछन्। ओसीएमा हाल ४५ वटा राष्ट्र सदस्यका रूपमा रहेका छन्। यसअघि एसियाली खेलकुदको १८औँ संस्करणमा सर्वाधिक ११ हजार तीन सय जना खेलाडीले सहभागिता जनाएका थिए। १८औँ एसियाली खेलकुद प्रतियोगिता सन् २०१८ मा इन्डोनेसियाको जाकर्ता र पालेम्बाङमा भएको थियो। 

नेपालले पहिलो संस्करणदेखि नै एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ। एसियाली खेलकुदको पहिलो संस्करण सन् १९५१ मा भारतको राजधानी नयाँ दिल्लीमा आयोजना भएको थियो।  पहिलो संस्करणमा नेपालले अफिसियलसहित नौ जनालाई सहभागी गराएको थियो। पहिलो संस्करणमा नेपालले एथलेटिक्स खेलमा मात्र खेलाडी सहभागी गराएको थियो। 

त्यसयता नेपालले एसियाली खेलकुदको हरेक संस्करणमा सहभागिता जनाउँदै आएको छ। पहिलो संस्करणमा सहभागिता जनाएको ३५ वर्षपछि आएर मात्र नेपालले एसियाली खेलकुदमा पदक जित्न सकेको थियो। नेपालले सन् १९८६ मा दक्षिण कोरियाको सोलमा आयोजित १०औँ संस्करणमा पहिलो पटक पदक जितेको थियो। एसियाली खेलकुदको त्यो संस्करणमा नेपालले बक्सिङ र तेक्वान्दोमा गरी कुल आठवटा कांस्य पदक हात पारेको थियो।

त्येतिबेला तेक्वान्दोमा विधान लामा, राजकुमार राई, राजकुमार वुचे र रामबहादुर घर्ती क्षेत्रीले कांस्य पदक जित्नु भएको थियो। बक्सिङतर्फ भने दलबहादुर रानामगर, तुलबहादुर थापा, मनोजबहादुर श्रेष्ठ र सुशील पोखरेलले कांस्य पदक जित्नु भएको थियो। एसियाली खेलकुदमा सहभागिताको ७२ वर्ष लामो इतिहासमा नेपाल पदक तालिकामा भने रजतभन्दा माथि उक्लन सकेको छैन। नेपालले एसियाली खेलकुदमा हालसम्म दुईवटा रजत पदक जितेको छ। एसियाली खेलकुदको इतिहासमा नेपालको सबैभन्दा ठुलो उपलब्धि त्यही दुई पदक हो। 

सन् १९९८ मा थाइल्यान्डको बैंककमा सम्पन्न १३औँ एसियाली खेलकुदमा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले पहिलो पटक नेपालका लागि रजत पदक जित्नु भएको थियो। त्यसपछि सन् २०१८ मा इन्डोनेसियाको जकार्ता र पालेमबाङमा सम्पन्न १८औँ एसियाली खेलकुदमा नेपालको प्याग्लाइडिङ टोलीले रजत पदक जितेको थियो। रजत पदक जित्ने नेपाली प्याराग्लाइडिङ टोलीमा विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा सहभागी हुनुहुन्थ्यो।

समग्रमा नेपालले हालसम्म एसियाली खेलकुदमा दुई रजत र २३ कांस्य गरी २५ वटा पदक मात्र जित्न सकेको छ। नेपालले तेक्वान्दोमा एक रजत र १४ कांस्य, प्याराग्लाइडिङमा एक रजत, बक्सिङमा ६ कांस्य र कराँतेमा तीन कांस्य पदक जितेको हो।