ललितपुरमा चल्न थाल्यो १०६ वर्ष पुरानो दमकल
2023-07-30 16:27:47cri
Share with:

 

ललितपुर महानगरपालिकाले २०४२ देखि बिग्रिएर थन्किएको १०६ वर्ष पुरानो दमकल मर्मत गरेर पुनः सञ्चालनमा ल्याएको छ । शनिबार पुल्चोकमा उक्त दमकलको परीक्षण गरियो । मेयर चिरिबाबु महर्जन दमकलले पानी छ्यापेको हेर्न पुग्नु भएको नयाँ पत्रिका अनलाइनले लेखेको छ।

पुरानो जीर्ण अवस्थामा पुगेको उक्त दमकलले सात तलामाथिसम्म पानी फाल्न सक्ने मेयर महर्जनले बताउनुभयो । दमकल ललितपुर महानगरभित्र विपत्जन्य कार्यमा प्रयोग गरिने उहाँको भनाइ छ । ‘निकै पुरानो भएर थन्किएको थियो, तर यसका पार्टपुर्जा निकै राम्रा रहेछन्, मर्मतपछि सञ्चालनमा ल्यायौँ,’ मेयर महर्जनले भन्नुभयो, ‘अब हामीलाई विपतमा प्रयोग गर्न अर्को उपकरण थपिएको छ ।’ 

डेनिस कम्पनीको यो दमकल बेलायत सरकारले तत्कालीन बागमती अञ्चलाधीश कार्यालयलाई नि:शुल्क उपलब्ध गराएको थियो । तर, २०४२ यता महानगरको जुद्ध वारुण यन्त्रको कार्यालय पुल्चोकमा थन्किएको थियो । आफूले बाल्यकालदेखि नै सो दमकल देखेको र प्राविधिकले मर्मत–सम्भार गर्न सक्ने बताएपछि मर्मत गरिएको मेयर महर्जनले बताउनुभयो ।