#अल्पसंख्यक जाति# लाहु जातीयगाउँको “सुखमय गीत”
2023-08-01 09:13:45cri
Share with:

लाहु जाति चीनको सबैभन्दा पूरानो जातिहरूमध्येको एक हो। यो जातिको आफ्नै लाहु भाषा पनि छ। लाहु जाति मुख्यतः चीन, म्यान्मार, थाइल्याण्ड, लाओस आदि देशहरूमा बसोबास गर्दैआएको देखिन्छ। चीनका ३१ वटा प्रान्त, स्वायत्त प्रदेश र नगरपालिकामा लाहु जातियहरू बस्दैआएका छन्। सन् २०२१ को तथ्याङ्क अनुसार, चीनमा लाहु जातिको जनसङ्ख्या लगभग ५ लाख रहेको छ। दक्षिण-पश्चिमी चीनको युननान प्रान्तीय पहाडी क्षेत्रमा अवस्थित लाउ ता बाउ लाहु जातीय बसोबास गाउँ हो। त्यहाँ गाउँलेको संख्या ५००भन्दा कम छ। गाउँलेहरूको मुख्य जीवन कर्म कृषि हो। ४० वर्षीय ली नालो स्थानीय स्टार हुनुहुन्छ। उहाँले व्यावसायिक सङ्गीत शिक्षा लिनुभएको छैन। तर बुवाको प्रभावमा उहाँले १३ वर्षको उमेरदेखि गिटार बजाउँदै गीत गाउन थाल्नुभएको थियो। १६ वर्षदेखि उहाँ आफैले गीत लेखन र सङ्गीत सिर्जना गर्न थाल्नुभएको हो। १८ वर्षको उमेरमा उहाँले सिर्जना गरेको “खुशी लाहु” नामक गीत विविध लाहु जातीय गाउँमा ज्यादै लोकप्रिय भएको छ।

सन् २००२ मा ली नालो र परिवारले लाउ ता बाउ या अ कला मण्डलको स्थापना गर्नुभएको थियो। उहाँले बिहान कृषि कार्य गर्नुका साथै साँझ गाउँलेहरूलाई नाचगान तथा गिटार सिकाउने गर्नुहुन्छ। ली नालोको प्रयासमा गाउँका लगभग एक सयजना गाउँलेहरू खेतमा गिटारबादक भएका छन्। सन् २००५ मा ली नालोले कला मण्डलको नेतृत्व गरेर लाहु गाउँबाट लाहु जातीय नाचगानलाई समृद्ध शहरमा पुर्याउनुभएको छ। उहाँको कलामण्डलको प्रस्तुतीलाई चिनियाँ राष्ट्रिय टेलिभिजनमा प्रदर्शन गरिएको छ।

तर पहाडभन्दा बाहिरको जीवन ली नालोलाई आनन्द लाग्दैन। उहाँले गाउँका सबै गाउँलेहरूसँग साझा समृद्धको विचार गर्नुभएको छ। सन् २०१३ मा ली नालोको प्रयासमा गाउँलेहरूले मिलेर लानछाङ लाउ ता बाउ खुशी लाहु अभिनय लिमिटेड कम्पनीको स्थापना गरेका छन्। सबै गाउँलेहरू उक्त कम्पनीका कर्मचारी बन्नुका साथै व्यवसायी बनेका छन्। गाउँबाट बाहिर नगए पनि पैसा कमाउन सकिन्छ।

उत्साहपूर्ण तथा खुशीयाली लाहु जातीय नाचगानले धेरैभन्दा धेरै पर्यटकलाई लाउ ता बाउतर्फ आकर्षित गरेको छ। साथै झन् झन् बढी मान्छेले लाहु जातिबारे थाहा पाउनुका साथै लाहु जातीय सँस्कृतिलाई मन पराएका छन्। गाउँमा कृषि मनोरञ्जनको विकास गर्नुका साथै होम्स्टेको स्थापना गरिएको छ। ग्रामीण पर्यटनको ठूलो विकास भएको छ। पहिला ली नालो र उहाँका साथीहरू पहाडबाट बाहिर जानुभएको थियो। हाल उहाँहरू जन्मथलोमा फर्कनुभएको छ। ली नालो र गाउँलेहरूले खुशीयाली गीतमार्फत् पर्यटकहरूलाई लाहु जातीयहरूको सुखमय जीवन उल्लेख गरिरहनुभएको छ।