फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा सङ्ग्रहालयका रुपमा विकास गरिने
2023-08-02 16:27:14cri
Share with:

नेपालको पहिलो र एसियाको दोस्रो पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा सङ्ग्रहालयको रूपमा विकास गरिने भएको छ। नेपाल विद्युत प्राधिकरणले केन्द्रलाई जलविद्युत सङ्ग्रहालय र पर्यटकीय स्थलका रूपमा विकास गर्न एनइए इन्जिनियरिङ कम्पनी लि.लाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ।

ऐतिहासिक जलविद्युत केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाहरूको जीर्णोद्धार र खाली रहेको जग्गामा नयाँ संरचनाहरू निर्माण गरिने छन्। काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युतगृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुरेन्ट, पसल, जिप लाइन, पिकनिक स्पोट, पुस्तकालय, बाल उद्यानलगायतका संरचनाहरू निर्माण गरिने छन्। जलविद्युत केन्द्रका संरचनाहरूलाई जीर्णोद्धार गरी सङ्ग्रहालयको रूपमा विकास गरिने छ।

परामर्शदाताले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि करिब एक अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ। केन्द्रको स्वामित्वमा  तीन सय २४ रोपनी जग्गा छ। पर्यटकीय संरचनाहरू निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र विद्युतगृह क्षेत्रको करिब १ सय ४६ रोपनी जग्गा प्रयोग गरिने छ।

प्राधिकरणको ३८औँ वार्षिकोत्सवको अवसरमा फर्पिङ जलविद्युत् केन्द्रको परिसरमा आयोजित वृक्षारोपण कार्यक्रममा सहभागी हुन पुग्नुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई गुरुयोजनाका विषयमा जानकारी दिइएको थियो। मन्त्री बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले केन्द्रको विद्युतगृहलगायतका संरचाहरुको अवस्थाका बारेमा अवलोकन गर्नुभएको थियो।

मन्त्री बस्नेतले ऐतिहासिक महत्त्व बोकेको विद्युत केन्द्रलाई संरक्षण गरी जलविद्युत क्षेत्रका अध्येता, अनुसन्धानकर्ता तथा चासो राख्ने सबैलाई सन्दर्भस्थान र इतिहासलाई बुझ्ने बुझाउने ठाउँका रूपमा विकास गरिनुपर्ने बताउनुभयो। उहाँले केन्द्रबाट स्थानीय बासिन्दाको सामाजिक आर्थिक वृद्धि हुने गरी योजना तथा कार्यक्रमहरू कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड दिनुभयो।

ऊर्जा सचिव घिमिरेले केन्द्रलाई जलविद्युत क्षेत्रको अध्ययन स्थल र त्यहाँ भएको प्राकृतिक सौन्दर्यलाई प्रयोग गर्दै सुन्दर पर्यटकीय स्थलको रूपमा विकास गरिनुपर्ने बताउनुभयो।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले परामर्शदाताको प्रतिवेदन आएपछि केन्द्रलाई ऊर्जा सङ्ग्रहालय, अनुसन्धान केन्द्र र पर्यटकीय स्थलको रूपमा विकासका कार्यहरू अगाडि बढाइने उल्लेख गर्नुभयो।

फर्पिङ जलविद्युत् केन्द्र १९६८ जेठ ९ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आएको थियो। तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहबाट टुँडिखेलमा बत्ती बालेर उद्घाटन भएको उक्त जलविद्युत् केन्द्रबाट राजपरिवार, राणा परिवारलगायतमा विद्युत् वितरण गरिएको थियो। राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण भएकाले केन्द्रको नाम चन्द्रज्योति राखिएको थियो। करिब चार वर्ष लगाएर निर्माण गरिएको आयोजनाको लागत सात लाख १३ हजार रुपियाँ थियो।

केन्द्र २०३८ सालसम्म निरन्तर सञ्चालनमा थियो। तर त्यसपछि ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि जलाशयको पानी, टर्बाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि विद्युतगृहको सञ्चालन बन्द भएको थियो। केन्द्रको  मर्मतसम्भार गरी पुनः २०६३ पुसबाट आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी चालू हालतमा राखिएको गोरखापत्र अनलाइनले लेखेको छ।