यही अगस्ट १६ बाट सातौँ चीन-दक्षिण एसिया एक्स्पो
2023-08-03 09:09:31cri
Share with:

“साझा विकासका लागि एकता र सहयोग”भन्ने नाराका साथ सातौँ चीन-दक्षिण एसिया एक्स्पो अगस्ट १६ देखि २० तारिखसम्म चीनको युनान प्रान्तको खुन्मिङ शहरमा आयोजना हुँदैछ। यो एक्स्पो चीन र दक्षिण एसियाली देशहरू बीचको महत्वपूर्ण आर्थिक र व्यापारिक आदानप्रदानमध्ये एक हो। दक्षिण एसियाली एक्स्पोले चीन र दक्षिण एसियाली देशका लागि अन्य देश र क्षेत्रसँगको आर्थिक, व्यापारिक र सांस्कृतिक आदानप्रदानलाई विस्तार गर्न महत्वपूर्ण पुलको भूमिका खेलेको छ। भविष्यमा यस एक्स्पोले निरन्तर रुपमा चीन र दक्षिण एसियाली देशहरुबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनकालागि प्रवर्द्धन गर्ने छ।

यो वर्ष "बेल्ट एण्ड रोड" प्रस्तावको दशौँ वार्षिकोत्सव र दक्षिण चीन एक्स्पोको पनि दसौँ वार्षिकोत्सव हो। चीनको वाणिज्य मन्त्रालयका उप मन्त्री लि फैले राज्य परिषदको प्रेस कार्यालयको पत्रकार सम्मेलनमा जोड दिनुभएअनुसार दश वर्षयता दुवै पक्षका नेताहरूको रणनीतिक मार्गदर्शनमा चीन र दक्षिण एसियाली देशहरूबीचको आर्थिक तथा व्यापारिक सहयोगले फलदायी उपलब्धि हासिल गरेको देखिन्छ।

"सन् २०१३ मा पहिलो दक्षिण एसिया एक्स्पो आयोजना हुँदा चीन र दक्षिण एसियाली देशहरूबीचको कुल व्यापारको मात्रा १०० अर्ब अमेरिकी डलरभन्दा कम थियो। सन् २०२२ सम्ममा चीन र दक्षिण एसियाबीचको कुल व्यापारको मात्रा २ खर्ब अमेरिकी डलरको नजिक पुगेको छ भने औसत वार्षिक वृद्धि दर ८.३% छ। चीन-पाकिस्तान आर्थिक करिडोर परियोजना निरन्तर अगाडि बढिरहेको छ। बङ्गलादेशका ३०भन्दा बढी सडक पुलहरू, नेपालको पोखरा एयरपोर्ट र माल्दिभ्सको नासिर विमानस्थलको विस्तार जस्ता सहयोग परियोजनाहरूले दक्षिण एसियाली देशहरूको विकास र क्षेत्रीय सम्पर्कमा ठोस योगदान पुर्‍याएको छ।

यस वर्षको दक्षिण एसिया एक्स्पोमा १५ वटा प्रदर्शनी हलहरू छन्। यसको कुल प्रदर्शनी क्षेत्र १० लाख ५० हजार वर्गमिटर छ। अफलाइन प्रदर्शनी सँगसँगै अनलाइनमार्फत् पनि प्रदर्शन गरिने छ। यस एक्स्पोको अवधिमा चीन-दक्षिण एसिया सहयोग मञ्च र चीन-दक्षिण एसिया प्रविधि हस्तान्तरण र नवप्रवर्तन सहयोग सम्मेलन आदि कार्यक्रमहरु आयोजना हुने छन्।

दक्षिण एसिया एक्स्पोको पूर्ववर्ती नाम "दक्षिण एसियाली देशहरू मालसामान प्रदर्शनी" थियो, जुन सन् २००७ मा सुरु भएको थियो र दक्षिण एसियाली वस्तुहरूका लागि विशेष प्रवर्द्धन मञ्च प्रदान गरेको थियो। सोह्र वर्षको विकासपछि दक्षिण एसिया एक्स्पो वस्तुको व्यापार, लगानी प्रवर्द्धन, पर्यटन सहयोग र सांस्कृतिक आदानप्रदानलाई एकीकृत गर्ने बृहत् एक्स्पो प्लेटफर्म बनेको छ।