दोब्बरले बढ्यो अलैँची निर्यात
2023-08-03 16:03:47cri
Share with:

पछिल्लो पाँच वर्षमा मुलुकबाट २५ अर्ब रुपियाँ बराबरको अलैँची निर्यात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्म २५ अर्ब २८ करोड ८४ लाख ५० हजार रुपियाँको अलैँची निर्यात भएको हो। तुलनात्मक लाभ भएको वस्तुका रूपमा रहेको अलैँचीको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएपछि निर्यातमा उलेख्य वृद्धि भएको हो।

मुलुकबाट गत आवमा सवा आठ अर्ब रुपियाँ बराबरको अलैँची निर्यात भएको छ। अघिल्लो आवको तुलनामा अलैँचीको निर्यात दोब्बरले वृद्धि भएको हो। अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएपछि अघिल्लो वर्षको तुलनामा गत आवमा दोब्बरले अलैँची निर्यात भएको छ। स्वदेशी अलैँची विदेशी मुद्रा आर्जन गर्ने तुलनात्मक लाभ भएको कृषिजन्य वस्तुका रूपमा रहेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७९/८० मा आठ अर्ब २५ करोड ५९ लाख ९२ हजार रुपियाँ बराबरको ९९ लाख ४६ हजार २६२ केजी अलैँची निर्यात भएको हो। आव २०७८/७९ मा चार अर्ब ७७ करोड ८९ लाख ८९ हजार रुपियाँ बराबरको ५२ लाख ९७ हजार ४४३ किलो अलैँची निर्यात भएको थियो। आव २०७७/७८ मा सात अर्ब १० करोड ८२ लाख नौ हजार रुपियाँ बराबरको ८८ लाख ४२ हजार ७६२ केजी अलैँची निर्यात भएको तथ्याङ्क छ। यस्तै आव २०७६/७७ मा दुई अर्ब ५२ करोड ७७ लाख ५० हजार रुपियाँ बराबरको ३५ लाख ६१ हजार २६१ किलो अलैँची निर्यात भएको छ। आव २०७५/७६ मा दुई अर्ब ७१ करोड ४९ लाख ४१ हजार रुपियाँ बराबरको ३२ लाख ९८ हजार ३५९ किलो अलैँची निर्यात भएको छ।

नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ। नेपाली अलैँची निकासी हुने ठुलो बजार भनेको भारत नै हो। नेपालले नै अन्तर्राष्ट्रिय रूपमा अलैँचीको बजारीकरण गर्दै आफ्नो उत्पादनको उच्च मूल्य पाउने अवस्था सिर्जना गर्नेतर्फ पहल हुनुपर्ने विज्ञहरूले औँल्याएका छन्। अलैँची औषधी र मसलाका रूपमा प्रयोग गर्ने गरिन्छ। अलैँची मसलाका रूपमा प्रयोग गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गए पनि खेती गर्ने क्षेत्रफल भने घट्दै गएको छ।

नेपालमा उत्पादित वस्तुमध्ये सर्वाधिक निर्यात हुने वस्तुमध्येको अलैँची एक हो। जसलाई कालो सुनको उपनामले समेत चिनिन्छ। वैदेशिक व्यापार घाटा कम गर्न योगदान पु-याउने अलैँची नेपालका ४३ भन्दा बढी जिल्लामा व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार आव २०७७/७८ मा १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा आठ हजार २८९ मेट्रिक टन अलैँची उत्पादन भएको छ। यस्तै आव २०७६/७७ मा १६ हजार ५६५ हेक्टर क्षेत्रफलमा नौ हजार ५४५ मेट्रिक टन अलैँची उत्पादन भएको थियो।

आव २०७५/७६ मा १५ हजार ५५ हेक्टर क्षेत्रफलमा सात हजार ९५४ मेट्रिक टन अलैँची उत्पादन भएको थियो। पाँचथर, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुर, मोरङलगायतका जिल्लामा अलैँची उत्पादन हुन्छ। ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, खोटाङलगायतका जिल्लामा अलैँची खेती धेरै हुने गरेको गोरखापत्र अनलाइनले लेखेको छ।