सिप हासिल गरेर विदेश जाने नेपाली युवाको सङ्ख्या बढ्दै
2023-08-04 15:59:31cri
Share with:

वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि पेसागत सिप अनिवार्य गरिएसँगै दक्ष भएर विदेश जाने युवाको सङ्ख्या क्रमशः बढेको छ। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा भन्दा आव २०७९/८० मा वैदेशिक रोजगारीमा दक्ष भएर जानेको सङ्ख्या ३१ प्रतिशतले बढेको गोरखापत्र अनलाइनले लेखेको छ।  

आव २०७५/७६ मा वैदेशिक रोजगारीमा जान पाँच लाख आठ हजार ८२७ जनाले श्रम स्वीकृति लिएकामम ३५ प्रतिशत दक्ष रहेको पाइएको छ। आव २०७९/८० मा सात लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिएकामा दक्ष जनशक्तिको सङ्ख्या पाँच लाख छ हजार ७४६ जना (६६ प्रतिशत) रहेको छ। 

यो सङ्ख्या हेर्दा आव २०७८/७९ मा भन्दा आव २०७९/८० मा १९ प्रतिशत बढेको देखिन्छ। दुई वर्षको तथ्याङ्कबाट पनि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने क्रम बढेको पुष्टि गर्छ। 

यस्तै आव २०७८/७९ मा छ लाख ३० हजार ९० जनाले श्रम स्वीकृति लिएर विदेश गएकामा दुई लाख ९१ हजार ८८९ जना (४७ प्रतिशत) दक्ष जनशक्ति थिए भने आव २०७७/७८ मा एक लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएकामा ७० हजार ४२६ (४२ प्रतिशत) जना दक्ष रहेका छन्। 

विभागका अनुसार आव २०७९/८० मा सात लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिएर विदेश गएकामध्ये अर्धदक्ष भएर जानेको सङ्ख्या ६० हजार ५५५ जना (आठ प्रतिशत) रहेको छ भने अदक्षको सङ्ख्या दुई लाख दुई हजार ६१६ जना (२६ प्रतिशत) रहेको छ। यस्तै सो अवधिमा उच्च सिपयुक्त (इन्जिनियर, चिकित्सक, व्यवस्थापक) मा काम गर्न जानेको सङ्ख्या एक हजार ४१० जना (दुई प्रतिशत) रहेको छ। 

आव २०७८/७९ मा छ लाख ३० हजार ९० जनाले श्रम स्वीकृति लिएकामा अर्धदक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ५४ हजार ३२८ जना (नौ प्रतिशत) रहेको छ भने सो अवधिमा अदक्ष दुई लाख ४३ हजार ६८ जना (४५ प्रतिशत) ले श्रम स्वीकृति लिएर गएका थिए। 

सरकारले रोजगारमूलक सिप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागु गरेर नेपालबाट वैदेशिक रोजगारीमा जाने सबै युवालाई सिपयुक्त प्रमाणपत्रका आधारमा पठाउने भनेको छ। सिपलाई अनिवार्य गर्न नसके पनि सिप लिएर विदेश जानेको सङ्ख्या क्रमशः बढेको छ। 

आव २०७५/७६ मा वैदेशिक रोजगारीमा पाँच लाख आठ हजार ८२७ मध्ये ३५ प्रतिशत दक्ष रहेको पाइएको छ। दक्ष भएर विदेश जाने युवाको सङ्ख्या आव २०७७/७८ मा बढेर ४२ प्रतिशत पुगेको देखिन्छ। 

त्यसो त सरकारले २०७७ भदौबाट तोकिएको क्षेत्र अनुसार एक महिनाको सिपसम्बन्धी तालिम नलिएका युवा वैदेशिक रोजगारीमा जान नपाउने जनाउँदै कार्यविधि बनाएको थियो। वैदेशिक रोजगारीमा जाने युवाको कामलाई आम्दानी र सुरक्षाका हिसाबले मर्यादित बनाउन तीन वर्षअघि नै कार्यविधि बनाएर एक महिनाको सिप विकास तालिम अनिवार्य गरिएको थियो। रोजगारमूलक सिप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागु भएपछि नेपालबाट वैदेशिक रोजगारीमा जाने सबै युवा सिपयुक्त प्रमाणपत्रका आधारमा जानुपर्ने उल्लेख छ।

वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगारीमा जाँदा अनिवार्य तालिम लिनुपर्ने व्यवस्था छ। यसका लागि वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्डले रोजगारीका लागि विदेश जाने युवाले अनिवार्य सिप विकाससम्बन्धी तालिम लिनुपर्ने जनाउँदै यसका लागि कामसमेत गरिरहेको छ। विगतमा तालिम नै नलिई नक्कली प्रमाणपत्र लिएर विदेश जाने प्रवृत्ति देखिएपछि अनलाइन प्रणालीमार्फत तालिमको ट्र्याकिङसमेत गरिने जनाए पनि सोको सफल कार्यान्वयन हुन सकेको छैन। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले वैदेशिक रोजगारमा जाने र फर्केका श्रमिकका लागि सिपमूलक तालिमलाई अनिवार्य गर्न नसके पनि बढ्ने व्रmममा रहेको जानकारी दिनुभयो। 

व्यवसायीले कामदार भर्ना गर्दा मागपत्रमा एक प्रकारको काम भनेर प्रक्रिया अघि बढाउने र विदेश पुगेर अर्को काम गराउने गरेको गुनासो धेरै आउन थालेपछि तालिमको व्यवस्थालाई अनिवार्य गरिएको थियो। विगतमा म्यानपावर व्यवसायीले एक कामका लागि युवा भर्ना गर्ने र अर्को काममा लगेर तोकिए अनुसारको पैसा नदिने समस्या थियो। विगतमा तालिमको व्यवस्था भए पनि तालिममा सहभागी नै नभई प्रमाणपत्र लिने क्रम बढेको थियो। अब भने सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) बाट तालिम लिए–नलिएको, कक्षामा उपस्थित भए–नभएको हेरेर सही भए मात्र प्रमाणपत्र दिने गरिएको छ।

अहिले सरकारले तालिमका सम्बन्धमा बनाएको प्रणालीका कारण विगतमा जस्तो नक्कली प्रमाणपत्र बनाउन नसक्ने अवस्था भए पनि तालिमको अनुगमन भने गरेको पाइँदैन। वैदेशिक रोजगार विभागले तालिमप्रदायक संस्थासँग सरकारको बायोमेट्रिक प्रमाण अनुसारको अनलाइन प्रणाली हुने भएका कारण तालिममा अनिवार्य उपस्थित हुनुपर्ने जनाए पनि पूर्ण रूपमा नियम कार्यान्वयन भएको छैन। विदेशबाट सिप सिकेर आएकाहरूले समेत सरकारले तोके अनुसारको सिप परीक्षण गरी प्रमाणपत्र लिएर मात्र विदेश जान पाउने छन्।

वैदेशिक रोजगारमा जाने युवाले निर्माण क्षेत्र अन्तर्गत मेसन, स्काफोल्डिङ, वेल्डिङ, फर्निचर एन्ड फर्निसिङ, प्लम्बिङ, इलेक्ट्रिसियन, सटरिङ कार्पेन्टर, स्टिल फिक्चर्स र टायल मार्बल कटिङ, फिटिङलगायतका क्षेत्रमा जाने पूर्वयोजना अनुसार तालिम लिएर मात्र श्रम स्वीकृति पाउँछन्। यसै गरी होटल व्यवस्थापन क्षेत्र अन्तर्गत कुक, वेटर, हाउस किपिङ, क्लिनर र फ्रन्ट अफिस सेवालगायतका क्षेत्रमा समेत तालिमको व्यवस्था गरिएको कार्यविधिमा उल्लेख छ। सेवा क्षेत्र अन्तर्गत सुरक्षा गार्ड, अफिस सेक्रेटरी, पेन्टर, ब्युटी पार्लर र अन्य क्षेत्रमा गार्मेन्ट टेलरिङ, आल्मुनियम फेब्रिकेटरमा समेत तालिम लिन सकिने छ।