नेपालमा ३५ लाख पर्यटक बस्न होटल तयार
2023-08-05 16:19:15cri
Share with:

वार्षिक ३५ लाख विदेशी पर्यटकलाई सेवा दिन सक्ने पूर्वाधार नेपालले विस्तार गरेको छ। देशभरका होटल तथा रिसोर्टले यो संख्यामा पर्यटकलाई सेवा प्रदान गर्न सक्ने पर्यटन व्यवसायीहरुले बताएका कारोबार अनलाइनले लेखेको छ।

मुलुकभरका पर्यटक स्तरीय होटलले ३५ लाख पाहुनालाई सेवा दिन सक्ने पर्यटन व्यवसायी वसन्त मिश्र बताउनुहुन्छ। अन्य साना होटलको समेत क्षमता जोड्ने हो भने यो संख्या ४० लाख पुग्ने उहाँको भनाइ छ। मिश्र भन्नुहुन्छ, ‘सरकारले वार्षिक १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। निजी क्षेत्र भने ४० लाखसम्मलाई सेवा दिन सक्षम छ।’

‘राष्ट्रिय पर्यटन रणनीतिक योजना २०१६–२०२५’ ले सन् २०२५ सम्ममा वार्षिक २५ लाखभन्दा बढी विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। अहिलेसम्मको तथ्यांक हेर्दा स्थलमार्गबाट आउने भारतीयबाहेक वार्षिक औसत ७ लाख १४ हजार पर्यटकले मात्र नेपाल भ्रमण गरेका छन्। यो वर्ष भने १० लाख पर्यटक भित्रिने संकेत देखिएको छ।

कोभिड महामारी साम्य भएसँगै पर्यटक आगमन सुधारको क्रममा छ। यद्यपि, आगमन दर उत्साहजनक भने नरहेको सम्बद्ध व्यवसायीहरु बताउँछन्। मिश्र भन्नुहुन्छ, ‘वार्षिक ३५ लाख पर्यटकलाई सहज रुपमा सेवा दिन सक्ने अवस्था भए पनि पर्यटक आगमनका लागि वातावरण बनाउन नसकिएको अवस्था छ।’

होटल संघ नेपाल (हान) का अनुसार मुलुकभरका पर्यटक स्तरीय होटलमा दैनिक १० हजार पाहुनालाई सेवा दिन सक्ने क्षमता छ। हान अध्यक्ष विनायक शाह भन्नुहुन्छ, ‘पर्यटक स्तरका होटलमा मात्र हामी दैनिक १० हजारलाई सेवा दिन सक्छौं। वार्षिक ३५ लाखलाई सेवा दिन सक्ने गरी पूर्वाधार विस्तार भएको छ।’ आर्थिक उन्नति र जनसंख्याको हिसाबले ठूला दुई छिमेकी चीन र भारतबाट नेपालले लाभ लिन सक्ने पर्याप्त सम्भावना रहेको शाह बताउनुहुन्छ।

उहाँ भन्नुहुन्छ, ‘भारत र चीनबाट वैदेशिक भ्रमणका लागि निस्किने २ प्रतिशतलाई मात्र नेपाल ल्याउन सके पनि वार्षिक ४० लाख पर्यटकका लागि चिन्ता गर्नु पर्दैन।’ संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व पर्यटन संगठनका अनुसार १ जना पर्यटकले ११ जनालाई रोजगारी दिन सक्छ। नेपाल सरकारले चालु आर्थिक वर्षमा १० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ। यद्यपि यो स्वतः आउने पर्यटकको संख्या भएको अध्यक्ष शाहको भनाइ छ। उहाँले भन्नुभयो, ‘स्वतः हुने कामको लागि सरकारले योजना बनाएको छ।’

सरकारले छिमेकी मुलुक भारत र चीनबाट पर्यटक आगमन वृद्धि गर्न सीमावर्ती सहर, ठूला सहर र शैक्षिक संस्थाहरूमा पर्यटन मेला तथा रोड शोजस्ता विशेष कार्यक्रम गर्ने भनेको छ। पर्यटन बोर्डमार्फत यस्ता कार्यक्रम गरेर १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ।

हान अध्यक्ष शाहका अनुसार होटल तथा पर्यटन क्षेत्रमा करिब २० खर्ब लगानी छ। ‘लगानी थपिँदो क्रममा छ। तर यति ठूलो क्षेत्रलाई सरकारले भने अझै उद्योगको रुपमा मान्यता दिएको छैन,’ उहाँले भन्नुभयो। आर्थिक सर्वेक्षण २०७९–८० अनुसार डिलक्ससहितका पाँचतारे होटलको संख्या १ सय ७३ पुगेको छ। त्यसैगरी तारे स्तरबाहेकका डिलक्स/लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको संख्या १ हजार २ सय २८ पुगेको छ। ८ सय ५७ तारेस्तरका होटलमा रहेका बेडको संख्या १६ हजार ३ सय ३५ छ। तारेस्तरका होटलबाहेक पर्यटकस्तरीय डिलक्स/लक्जरी हेरिटेज बुटिक होटल, लज तथा रिसोर्टमा रहेका बेडको संख्या ३७ हजार ३० पुगेको छ।

ट्राभल एजेन्सी ४ हजार ५७, ट्रेकिड एजेन्सी २ हजार ९ सय र राफ्टिङ एजेन्सी ८८ वटा छन्। टुर गाइडको संख्या ४ हजार ६ सय ६५, ट्रेकिङ गाइड १९ हजार ५ सय ३४ र रिभर गाइड ३ सय ८७ जना छन्।

नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवाको संख्या ३२ छ। त्यसैगरी द्विपक्षीय हवाई सेवा सम्झौता भएका देशको संख्या ४१ पुगेको छ। दुइतर्फी हवाई सिट क्षमता संख्या वार्षिक ८७ लाख छ। आन्तरिक उडान गर्ने वायुसेवाको संख्या २२ पुगेको छ।

गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो सयम भए पनि अन्य देशमा उडान हुन नसक्नु, स्रोत बजारमा प्रचारप्रसार गर्न नसक्नु र सडक मार्ग सुधार नहुँदा पर्यटक आगमन बढ्न नसकेको सरोकारवालाहरुको बुझाइ छ। ‘भारत र चीनबाट स्थल मार्गमार्फत पनि पर्यटक भित्र्याउन सकिन्छ। तर, हाम्रो बाटो नै राम्रो छैन,’ पर्यटन व्यवसायी मिश्र भन्नुहुन्छ, ‘बाटोमात्रै राम्रो भए पनि पर्यटक बढाउन सकिन्छ। पर्यटक बढे यसको प्रभाव सबै क्षेत्रमा पर्छ। कमजोर सडक र हवाई पूर्वाधारका कारण सम्भावना हुँदाहुँदै पनि हामी अगाडि बढ्न सकेका छैनौं।’

गत वर्ष (सन् २०२२) मा ६ लाख १४ हजार विदेशी पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएको तथ्यांक छ। यो वर्षको ७ महिना (जनवरीदेखि जुलाई)मा ५ लाख ३४ हजार पर्यटक आएका छन्। डिसेम्बरसम्ममा यो संख्या १० लाख पुग्ने अपेक्षा सरकारी अधिकारीहरुको छ।