मधेशमा खडेरीका कारण रोपाइँमा समस्या
2023-08-07 16:05:20CRI
Share with:

महोत्तरी, धनुषा, पर्सा, राजविराज — अन्न भण्डार मानिने मधेशमा साउन तेस्रो साता बितिसक्दा पनि ४० प्रतिशत खेतमा रोपाइँ हुन सकेको छैन । पर्याप्त वर्षा नहुँदा जेनतेन रोपाइँ गरिएको खेतमा रोपो सुक्न थालेको छ ।

सुक्खाका कारण रोप्न तयार बीउ पनि सुकेको छ । चैतमा गहुँ भित्र्याएपछि छाडेको खेत बाँझै छ । गत वर्ष यतिबेला प्रदेशभर ८० प्रतिशत रोपाइँ भएको थियो । अघिल्ला वर्ष मल अभावले धान उत्पादनमा ह्रास बेहोरेका किसान यसपालि खडेरीको सामना गर्नुपर्दा आर्थिक भार पर्ने तनावमा रहेका कान्तिपुर अनलाइनले लेखेको छ।

मधेश प्रदेशमा धान खेती हुने ४ लाख १ हजार ६ सय ५० हेक्टर जमिनमध्ये शुक्रबारसम्म २ लाख ४२ हजार ५ सय ७ हेक्टर (६०.३८ प्रतिशत) मा रोपाइँ भएको छ । सिँचाइ नपुग्दा रोपोसमेत सुक्न थालेको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता रोशन मेहताले बताउनुभयो। ‘बोरिङ, नहर र वर्षाको पानीले रोपिएको धान पनि खडेरीका कारण अहिले सुक्न थालेको छ,’ उहाँले भन्नुभयो, ‘लहलह हुने बेलासम्म वर्षा नहुँदा खेतमा धाँजा फाटेका छन् । रोप्न राखेको बीउ ब्याडमै सुकिरहेको छ ।’

प्रदेशका ८ जिल्लामध्ये साउन तेस्रो सातासम्म महोत्तरीमा २० प्रतिशत मात्रै खेतमा रोपाइँ भएको छ । पर्सामा ७० प्रतिशत, बारामा ८०, रौतहटमा ९०, सर्लाहीमा ५७, धनुषामा ३१, महोत्तरीमा २०, सिरहामा ५५ र सप्तरीमा ८५ प्रतिशत खेतमा रोपाइँ भएको प्रदेश कृषि विकास निर्देशनालयका निमित प्रमुख कमलदेवप्रसाद कुशवाहले बताउनुभयो । लामो समयसम्म पर्याप्त वर्षा नभएर रोपो सुक्न थालेपछि आठ वटै जिल्लाका विपद् व्यवस्थापन समितिले सुक्खा क्षेत्र घोषणा गरेका छन् । प्रभावित किसानका लागि राहतको पहल गर्ने उनीहरूको निर्णय छ ।