काठमाडौँ उपत्यकामा भारी वर्षा, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
2023-08-08 16:32:46CRI
Share with:

काठमाडौं उपत्यकामा मंगलबार बिहानदेखि भारी वर्षा भइरहेको हुँदा नदी क्षेत्रमा पानीको सतह बढेको छ। नदीमा उर्लँदो भेल बाढी आएको हुँदा ती स्थानका आसपासका बस्ती र सडकमा हिँड्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको कान्तिपुर अनलाइनले लेखेको छ।

महाशाखाले मंगलबार सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै वाग्माती, विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जलसतह बढ्दो रहेको जानकारी दिएको छ। ती नदीमा पानीको बहाव खतराको तहमा पुगेकाले नदी तटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ।

हाल काठमाडौं उपत्यकाको वागमाती, विष्णुमती,धोविखोला,मनोहरा लगायतमा जलसतह बढ्दो छ, र खतरा तह पुगेकाले नदी तटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले दिउँसो सम्म उच्च सतर्कता अपनाऔँ। 

यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वाग्मती नदी खोकना, ललितपुर बाढीमापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको र बढ्दो रहेकाले वाग्मतीको नदी तटिय क्षेत्रमा रहनेले दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।