नयाँ डिजाइनमा ५ रुपैयाँको सिक्का प्रचलनमा ल्याइने
2023-08-09 16:01:59CRI
Share with:

नेपाल सरकारले ५ रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैंठकले उक्त परिमाणमा सिक्का टकमरी गर्न स्वीकृति दिने निर्णय गरेको हो।

हाल नेपाल राष्ट्र बैंकको टक्सार विभागले १ रुपैयाँ र २ रुपैयाँ दरको सिक्का मात्रै टकमरी गर्दै आएकोमा अब राष्ट्र बैंकले ५ रुपैयाँ दरको सिक्का बजारमा ल्याउन लागेको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोख्रेलले बताउनुभएको अनलाइन खबरले लेखेको छ।

नेपाल राष्ट्र बैंक ‘नोट छपाइ तथा सिक्का टकमरी सम्बन्धी निर्देशिका, २०६५-पहिलो संशोधन, २०७५’मा नयाँ डिजाइन हुने सिक्काको टकमरी नेपाल सरकारबाट स्वीकृति प्राप्त भएपछि मात्रै  गर्न सक्ने व्यवस्था छ।

पुरानै डिजाइनको सिक्का पुनः टकमरी भने राष्ट्र बैंकको सञ्चालक समितिबाट स्वीकृतिबाटै गर्न पाइने व्यवस्था छ।

५ रुपैयाँ दरको नयाँ सिक्का नयाँ डिजाइनमा आउने राष्ट्र बैंक टक्सार विभाग प्रमुख थानेश्वर आचार्य बताउनुहुन्छ। सिक्काको नयाँ डिजाइनमा नेपालको संस्कृति झल्कने र राष्ट्रिय जनावर पनि अंकित हुने उनले बताए।

नेपालमा यसअघि पनि ५ रुपैयाँको सिक्का प्रचलनमा रहेको थियो।

राष्ट्र बैंकले हाल ५ रुपैयाँ दरको नोट छपाइ गर्दै आएको भए पनि सिक्का टकमरी भने गर्ने गरेको थिएन। ५ रुपैयाँ दरको नोटको आयु कम हुने र छपाइ लागत बढी पर्ने भएकोले सिक्का टकमरी गर्न लागेको राष्ट्र बैंकका सहायक प्रवक्ता डा.  पोख्रेलले बताउनुभयो।

सिक्का मात्रै बोकेर बजारमा जाँदा पनि केही सामान खरिद गर्न सक्नेगरी सिक्का निष्कासन गर्नुपर्छ भन्ने राष्ट्र बैंकको योजना रहेको उहाँले बताउनुभयो। ५ रुपैयाँ मात्रै नभई त्यसभन्दा बढी दरका सिक्का पनि टकमरी गर्ने योजना रहेको उहाँले बताउनुभयो।

नोटको आयु १ देखि ३ वर्ष हुन्छ। सिक्काको आयु २० वर्ष भनिए पनि ४० वर्षसम्म पनि यसलाई प्रचलन गर्न सकिने देखिएकाले लागत पनि कम हुने राष्ट्र बैंक टक्सार विभाग प्रमुख आचार्य बताउनुहुन्छ।

‘१ रुपैयाँ र २ रुपैयाँ दरको सिक्काको खरिद क्षमता कमजोर भयो। त्यसैले ५ रुपैयाँको सिक्का प्रचलनमा ल्याउन लागिएको हो,’ उहाँले भन्नुभयो, ‘५ रुपैयाँको सिक्का पनि सानो हुन्छ। ५० रुपैयाँसम्मको सिक्का निष्कासन गर्नुपर्छ।’

अहिले नोट पनि छपाइ हुने र सिक्का पनि टकमरी हुने तर विस्तारै सानो दरको नोट भन्दा सिक्का टकमरी गर्नुपर्ने भन्ने योजना रहेको टक्सार विभाग प्रमुख आचार्य बताउनुहुन्छ।