नेपालबाट चीनतर्फ निकासी दोब्बर
2023-08-10 15:42:48CRI
Share with:

अघिल्लो वर्षको तुलनामा गत वर्ष नेपालबाट चीनतर्फको निर्यात दोब्बरभन्दा धेरैले बढेको छ। निर्यात व्यापारमा उच्च गिरावट आएका बेला चीनतर्फको व्यापार ११८ प्रतिशतले बढेको कारोबार अनलाइनले लेखेको छ।

नेपालले गत वर्ष चीनमा १ अर्ब ७६ करोड रुपैयाँको निकासी गरेको छ। अघिल्लो वर्ष यो रकम ८० करोड ८७ लाखमात्र थियो। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार गत आवमा चीनतर्फको आयात पनि घटेको छ। यसले व्यापार घाटा कम गराउन सहयोग पुगेको छ।

अर्कोतिर गत आवमा निर्यातमा देखिएको वृद्धिदरका हिसाबले चीन सबैभन्दा उच्च स्थानमा छ। चीनतर्फ नेपालले आव २०७७–७८ मा १ अर्ब १ करोड रुपैयाँबराबरको निकासी गरेको थियो। यसअघि आव २०७५–७६ मा नेपालले निकासी २ अर्ब कटाएको तथ्यांक छ। सो आवमा नेपालले गरेको २ अर्ब ७ करोड निकासीको रेकर्ड अझै कायम छ। गत आवको उत्साहजनक वृद्धिसँगै अघिल्लो आवमा नेपालको निकासी गन्तव्यको १६ औं स्थानमा रहेको चीन आठौं स्थानमा उक्लिएको छ।

चीन नेपालको वैदेशिक व्यापारको दोस्रो साझेदार मुलुक हो। चीनतर्फ निकासी न्यून रहे पनि उच्च परिमाणमा आयात हुने गरेको छ। यद्यपि, गत आवमा नेपाल भित्रिने सामग्रीको आयातमा भने कमी देखिएको छ। गत आवमा चीनबाट २ खर्ब २२ अर्बको सामग्री आयात भएको छ। अघिल्लो वर्ष २ खर्ब ६४ अर्बको आयात भएकोमा गत आवमा १५.९ प्रतिशतले कमी आएको हो। यसअघि आव २०७७–७८ मा २ खर्ब ३३ अर्बको सामग्री आयात भएको तथ्यांक छ।

केन्द्रका अनुसार गत आवमा नेपालबाट चीनतर्फ मुख्यतया चाउचाउ, ऊनी गलैंचा, ऊनी फेल्टका सामग्री, तामाका सामान, हस्तकला सामग्री तथा जडिबुटी निकासी भएका छन्। चीनसँगका उत्तरी सीमा नाकाबाट द्विपक्षीय व्यापार सुचारु भएसँगै नेपालबाट निकासी पनि बढ्न थालेको हो। गत चैत १८ बाट रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आएको थियो भने वैशाख १८ बाट तातोपानी र हिल्सा नाकासमेत सञ्चालनमा आएसँगै चीनतर्फको निर्यात व्यापार लयमा फर्कन थालेको थियो।

उत्तरी नाका खुले पनि चीनबाट आयात भने स्थिरजस्तै रहनुले मुलुकभित्र आर्थिक गतिविधिमा सुस्तता आएको संकेत गरेको छ। चिनियाँ सामान नेपालले यसअघि भारतको कोलकाता बन्दरगाहको बाटो हुँदै आयात गर्ने गरेकोमा उत्तरी नाका खुलेसँगै ढुवानी सहज भएको हो। यसले आयातकर्ताको समय र लागत दुवै बचत भएको नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधर बताउनुहुन्छ। चीनबाट नेपालले लत्ताकपडा, फलफूलजस्ता अत्यावश्यकीय वस्तुमात्र आयात गर्ने भएकाले उत्तरी नाका सुचारु भए पनि आयातमा ठूलो फरक नदेखिएको तर निर्यातमा भने यसले सकारात्मक प्रभाव पार्ने अध्यक्ष तुलाधरले बताउनुभयो। उहाँका अनुसार चीनले दिएका भन्सार सुविधा उपयोग गर्ने हो भने नेपालले धेरै ठूलो परिमाणमा निकासी गर्न सक्ने र निकासी व्यापारमा पनि चीन दोस्रो स्थानमा आउन सक्ने सम्भावना छ।

संघका अध्यक्ष तुलाधर विगतमा कोभिड महामारी, उत्तरी नाकाको कमजोर पूर्वाधारसँगै विश्वव्यापी आर्थिक मन्दी लगायतका कारणले चीनसँगको व्यापार कमजोर भए पनि अब भने लयमा फर्कने संकेत देखिएको बताउनुहुन्छ। ‘कोभिड महामारीपछि चीनमा ठूला व्यापारिक मेला हुन नसक्नु र नेपाली व्यवसायीले पहिलेजसरी खुला रुपमा भ्रमण गर्न नसक्नुजस्ता कारणले हाम्रो निकासी व्यापार प्रभावित भएको हो,’ उहाँ भन्नुहुन्छ, ‘अब भने त्यसमा सुधारका संकेतहरु देखिएका छन् र हामी आशावादी पनि छौं।’

रसुवागढी नाकाबाट आंशिक रुपमा आयात–निर्यात भए पनि ३८ महिनादेखि मानिसको आवागमन भने ठप्प थियो। नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको मे महिनामा ल्हासामा सम्पन्न बैठकले आयात–निर्यात गर्ने सहमति गरेपछि दुईतर्फी रुपमा मानिसको आवतजावतसहित रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आएको हो।