हाङचौ एसियन खेलमा शीर्ष आठमा पुग्ने नेपाली महिला भलिबल टोलीको लक्ष्य
2023-08-11 15:54:27CRI
Share with:

असोज पहिलो साता चीनको हाङचौमा सुरु हुने एसियन गेम्समा नेपाली महिला भलिबल टोलीले पहिलो पटक भाग लिँदैछ। एसियन गेम्सका लागि महिला टोली दैनिक २ चरणमा प्रशिक्षण गरिरहेको छ। उपलब्ध श्रोत साधनको उपयोग गर्दै महिला टोली प्रशिक्षणमा जुटेको नेपाल खबर अनलाइनले लेखेको छ। 

नेपालको भलिबल इतिहासलाई हेर्दा पुरुषको तुलनामा महिला टोलीले उपलब्धी हासिल गरेका छन्। महिला टोलीको सफलताका आधारमा राष्ट्रिय खेलकुद परिषद्ले पहिलो पटक एसियाडमा सहभागी गराउनले निर्णय गरेको थियो। 

एसियन गेम्समा नेपाल दक्षिण कोरिया र भियतनामसहित कठिन समुहमा छ। एसियाली वरीयतामा कोरिया चौथो र भियतनाम छैटौं स्थानमा छन्। नेपालले भलिबल इतिहासमा सबैभन्दा शीर्ष वरीयताको टोलीसँग पहिलो पटक खेल्न लागेको हो। नेपाल ८७ औँ वरीयतामा छ। 

यसअघि घरेलु मैदानमा भएको काभा महिला भलिबल च्यालेन्ज कपलाई नेपाली टोलीले एसियन गेम्सकै तयारीमा रुपमा लिएको थियो। काभापछि क्लब लिग भलिबलमा व्यस्त खेलाडी फेरि प्रशिक्षणमा जुटेका हुन्।

अहिले आफूहरु एसियन गेम्सका लागि भन्दा शारीरिक र रणनीतिक तयारीमा जुटेको टोलीकी कप्तान अरुणा शाही बताउनुहुन्छ। ‘काभाका लागि लिएको प्रशिक्षण र त्यसपछिको क्लब लिग भलिबलका कारण अहिले शारीरिक रुपमा फिट छौं’, उहाँले भन्नुभयो, ‘हामीले उच्च तहका खेलाडीसँग खेल्न पाएका थिएनौँ। तीसँग खेल्न पाउँदा आफूलाई सुधार्ने मौका पाउँछौँ।’ एसियन गेम्स महिला टोलीका लागि अनुभव बटुल्ने मौका पनि हो। यही मौकालाई सदुपयोग गर्दै शीर्ष ८ मा पर्ने योजनामा टोली रहेको अरुणा सुनाउनुहुन्छ। अनुभवी खेलाडीले उच्च प्रर्दशन गर्ने र नयाँ खेलाडीका लागि अनुभव बटुल्न एसियन गेम्स राम्रो अवसर रहेको उहाँले बताउनुभयो। 

यसअघि घरेलु मैदानमा भएको काभा महिला भलिबल च्यालेन्ज कपमा टोलीबाहिर रहेकी ओपनर स्पाइकर प्रतिभा मालीले एसियन कप खेल्ने टोलीमा पुनरागमन गरेकी छन्। राष्ट्रिय टोलीकी स्टार खेलाडी प्रतिभाको पुनरागमनले टोली बलियो देखिएको छ। 

एसियाडमा पहिलो सहभागिता ऐतिहासिक रहेकाले आफूहरुलाई प्रमाणित गर्ने अवसरका रुपमा प्रतिभाले लिनु भएको छ। एसियाडको लागि टोलीको तयारी राम्रो रहेको प्रतिभा सुनाउनुहुन्छ। ‘हामी राम्रो खेल्छौँ। पहिलो पटक एसियाड खेल्दैछौँ, हामीभन्दा बलिया टोली छन्। हामी उनीहरुको भिडिओ फुटेज हेरिरहेका छौँ,’, उहाँले भन्नुभयो, ‘हामीले सोचेजस्तो टोली नआउन सक्छ, त्योभन्दा राम्रो–नराम्रो टोली आउन सक्छ। हामीले राम्रो खेल्ने हो। अहिलेसम्मको भन्दा उच्च प्रर्दशन गर्ने योजनामा छौँ।’ 

पर्याप्त भौतिक पूर्वाधार अभावमा महिला र पुरुष टोलीले आलोपालो गरेर कभर्डहलमा प्रशिक्षण गरिरहेका छन्। एसियन गेम्सका लागि अहिले हप्तामा १० सेसनमा टोलीले प्रशिक्षण गरिरहेको छ। तीन सेसनमा पावर ट्रेनिङ, चार सेसन टेक्निकल र तीन सेसन कार्डियो तथा स्टेङन्थलाई मिक्सअप गरेर सुरुवातमा फिजिकल र टेक्निकल प्रशिक्षण भइरहेको छ।

एसियाडको पहिलो सहभागिता महिला टोलीका लागि ठूलो अवसर रहेको टोलीका प्रशिक्षक जगदीश भट्ट सुनाउनुहुन्छ। ‘महिला भलिबल टोलीले जसरी एसिया र दक्षिण एसियामा आफ्नो सफलतालाई जसरी अगाडी बढाउँदै ठूला टिमसँग खेल्ने मौका पाएको छ, त्यही अुनुरुप राखेपले पनि मौका दिएको छ’, उहाँले भन्नुभयो, ‘हामीले एसियाडमा माथिल्लो वरीयतासँग खेल्छौँ र सिक्छौँ। हाम्रो लक्ष्य शीर्ष ८ मा पर्ने हो। 

ठूला टोलीसँग खेल्नु जित्नभन्दा अनुभव बटुल्ने माध्यम हुने छ। उत्कृष्ट प्रर्दशन गर्ने योजनामा महिला टोली छ। ‘एसियाडमा सहभागीता नै ठूलो कुरा हो’, भट्टले भन्नुभयो, ‘त्यहाँबाट सिकेर अगाडि बढ्ने हो भने आगामी दिनमा पदक जित्न सफल हुन्छौँ।’ खेलाडी र प्रशिक्षकको मोटिभेसनका लागि पनि राखेपले काम गर्नुपर्ने प्रशिक्षक भट्टको अनुभव छ।

‘एसियन गेम्सका सहभागी सबैले पदक जित्ने होइन’, उहाँले भन्नुभयो, ‘हाम्रो लक्ष्य पदक जित्नेभन्दा वरीयता सुधार्ने हो। हामी त्यसका लागि तयारी गर्दैछौँ।’ भट्टले महिला टोली पहिलो पटक एसियाडमा सहभागी हुने भएकाले मिनि ओलम्पिक जस्तै भएको बताउनुभयो। 

‘खेलाडी उत्साहित छन्। अहिलेको टोलीको प्रर्दशनमा नेपालको महिला भलिबलको भविष्य पनि जोडिएको छ’, उहाँले भन्नुभयो, ‘सकेसम्म राम्रो गर्नुपर्छ भन्ने दबाब छ। त्यही दबाब र उत्साहबीच महिला टोलीले प्रशिक्षण गरिरहेको छ।’