अमेरिकाबाट ४० सम्पदाजन्य आकृति नेपाल फर्काइँदै
2023-08-11 16:13:27CRI
Share with:

विभिन्न मितिमा नेपालका मन्दिर तथा पुरातात्विक स्थलबाट चोरिएका काष्ठकला, चित्र र पुरातात्विक सम्पदाको संग्रह अमेरिकाको हवाई राज्यमा भेटिएकोमा ती सम्पदा वासिङ्टनस्थित नेपाली दूतावासको समन्वयमा घर फर्काइने भएको छ। यी सम्पदा शनिबार काठमाडौं आइ पुग्ने कान्तिपुर अनलाइनले लेखेको छ।

अमेरिकाको हवाई राज्यस्थित भन्सार तथा सीमा सुरक्षा निकायले सन् २०१० मा फेला पारेको यी सम्पदा घरफिर्तीका लागि नेपालबाट पुरातत्व विभागले सन् २०११ मा अनुरोध पठाएका थियो। सम्पदाको ‘उत्पत्तिको मुलुक’ सहितका प्रामाणिकता पहिल्याएपछि वासिङ्टनस्थित नेपाली दूतावासलाई चार महिनाअघि सम्पदा हस्तान्तरण गरिएको थियो।

गृह सुरक्षा निकायअन्तर्गत होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्सले सम्पदा बुझाएपछि कतार एयरवेजको कार्गोले यी सम्पदा ल्याउन सहयोग गरेको दूतावासले जनाएको छ। यिनै सम्पदाको प्रदर्शनीसहित नेपालको पर्यटन प्रवर्द्धन तथा प्रचारका निम्ति दूतावासले गत साता एक प्रदर्शनीसमेतको आयोजना गरेको थियो। दूतावासले अहिलेसम्म विभिन्न ४७ सम्पदा र पुरातात्विक सामग्रीको घरफिर्तीमा पहल गरिसकेको छ।