काभ्रेको पाँचखालमा महिला औद्योगिक ग्राम निर्माण हुँदै
2023-08-12 15:52:31CRI
Share with:

नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महतले काभ्रेको पाँचखालमा निर्माण हुन लागेको महिला औद्योगिक पार्कको अवधारणा अगाडि बढेको बताउनुभएको छ। दक्षिण एसियाली महिला मञ्चले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री डा. महतले महिला औद्योगिक पार्कको अवधारणाबारे सुन्दा यो सामान्य जस्तो लाग्छ, अब यो पार्क निर्माण कार्यलाई कसैले रोक्न सक्दैन, यसलाई कार्यान्वयनमा लैजानुपर्ने बताउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ। पाँचखालमा मात्र सीमित नभएर औद्योगिक ग्रामलाई, देशैभरि सञ्जाल विस्तार गर्नुपर्ने बताउँदै मन्त्री महतले महिलाको तुलनामा पुरुषको सङ्ख्या रहे पनि पुरुषहरू विदेश जाने भएकाले विकास समृद्धिका लागि महिलाको पनि भूमिका बढ्दै गएको बताउनुभयो। ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेकाले यसलाई राज्यले प्राथमिकताका साथ प्रवर्धन गर्नुपर्ने कुरामा जोड दिनुभयो। 

देशैभरि लघु उद्यम व्यवसायमा महिलाहरूको सहभागिता, घर घरमा उत्पादन भएका विभिन्न सामग्रीहरू व्यवसायीले निर्यात गरिरहेको बताउँदै अर्थमन्त्री महतले महिलाहरू आइटी सेक्टर पनि जोडिन थालेको जानकारी दिनुभयो। अहिले कृषि व्यवसायमा धेरै ठुलो सम्भावना देखिएको छ, डिटिजल संसारले एउटा अवसर पनि दिएको छ। बजारीकरण सहजै रूपमा गर्न सकिन्छ। महिला उद्यमीहरूले उत्पादन गरेको वस्तुको प्रविधिलाई भरपुर उपयोग गरेर बजारीकरण गर्नुपर्ने धारणा उहाँले राख्नुभयो। 

स्थानीय कच्चा पदार्थमा आधारित उद्योग महिलाले नै सञ्चालन गर्ने गरी महिला औद्योगिक ग्राम बनाउन लागिएको हो। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ग्राम निर्माणका लागि बजेटमार्फत ४१ करोड रुपियाँसमेत विनियोजन गरेको छ।

ग्राम निर्माणका लागि पाँचखाल नगरपालिका विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको जनाएको छ। नगर प्रमुख महेश खरेलले ग्राम निर्माणका लागि पर्खाल लगाउने, कालोपत्र पहुँच मार्ग, खानेपानी ट्याङ्की बनाउने काम गरिसकेकाले निर्माणका लागि टेन्डरको प्रक्रियामा रहेको जानकारी दिनुभयो। जतिसक्दो चाँडो टेन्डर गर्ने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालले समन्वय गरिरहेको जानकारी दिनुभयो। दुई वर्षभित्र ग्रामको निर्माण कार्य सकिने लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो। 

पाँचखाल नगरपालिका–७, श्रीराम पार्टीस्थित ५० रोपनी जग्गामा ५० वटा उद्योग सञ्चालन गर्ने गरी ग्राम निर्माण गरिने उहाँले जानकारी दिनुभयो। महिला औद्योगिक ग्राम निर्माण गर्ने भनेर बजेटमार्फत घोषणा भई बजेटसमेत छुट्याइएकाले निर्माण कार्य छिटो अगाडि बढाइने उहाँले जानकारी दिनुभयो। हाल ग्राममा पर्खाल लगाउने, जमिन सम्याउने र बाटो निर्माण गर्ने काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो। 

महिला औद्योगिक ग्राममा स्थानीय कच्चा पदार्थ प्रयोग गरी महिला उद्यमीद्वारा उत्पादित वस्तु राखिने छ। महिलाहरूले उत्पादन गर्ने उद्योगहरू राखिने छन्। ग्राममा महिला उद्यमीलाई मात्र राखिने छ। कृषि वन पैदावार, स्थानीय कच्चा पदार्थबाट उत्पादित उत्पादनहरू ग्रामभित्र राखिने छ। ग्राम निर्माणका लागि ९७ करोड रुपियाँ लाग्ने नगरपालिकाले जनाएको छ। स्थानीय स्रोत साधनमा आधारित कृषि उत्पादनलाई, बजारीकरण, ब्रान्डिङ गरिने नगरपालिकाले जनाएको छ।