नेपालमा धान रोपाइँ अन्तिम चरणमाः अन्न भण्डारमै रोपाइँ ६० प्रतिशतमात्र
2023-08-13 16:10:50CRI
Share with:

नेपालको कुल धान उत्पादनमा सबैभन्दा धेरै हिस्सा ओगट्ने मधेश प्रदेशमा यो वर्ष ६० प्रतिशतमात्र रोपाइँ भएको छ। अन्नको भण्डारण मानिने क्षेत्रमा नै धान रोपाइँ कम भएपछि यो वर्ष खाद्य अभाव हुने संकेत देखिएको कारोबार अनलाइनले लेखेको छ।

गत वर्ष सोही अवधिमा मधेश प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ भएको थियो। यो वर्ष मधेशमा पानी कम परेका कारण धान रोपाइँको क्षेत्रफल घट्न पुगेको हो। यो साउन २६ सम्म मधेश प्रदेशमा जम्मा ६० प्रतिशतमात्र धान रोपाइँ भएको हो। यो गत वर्षको तुलनामा ३३ प्रतिशत कम हो। यो प्रदेशमा धान रोपाइँ हुने क्षेत्र ४ लाख १ हजार ६ सय ५० हेक्टर जमिन छ । यसमध्ये अहिलेसम्म २ लाख ४२ हजार ५ सय ७ हेक्टरमा मात्र रोपाइँ भएको छ । यो वर्षका लागि करिब–करिब धान रोपाइँ सकिएको छ। आगामी दिनमा छिटफुटमात्र रोपाइँ हुनेछ।

मधेश प्रदेशबाहेक देशभरको हिसाब गर्दा पनि समग्रमै धान रोपाइँ कम भएको छ। कृषि विभागका अनुसार साउन २६ सम्ममा देशभर धान रोपाइँ ८४ प्रतिशतमात्र भएको छ। यो गत वर्षको भन्दा १० प्रतिशत कम हो। गत वर्ष ९४ प्रतिशत धान रोपाइँ भएको थियो।

मनसुन सुरु हुन ढिलो भएका कारण गत वर्षभन्दा धान रोपाइँ घटेको विभागका महानिर्देशक हरिबहादुर केसीले जानकारी दिनुभयो। यस पटक मधेश प्रदेशमा अन्य प्रदेशको भन्दा ढिला मनसुन सुरु भएको हुँदा धान रोपाइँ पनि कम भएको उहाँले बताउनुभयो। रोपाइँ क्षेत्रफल पनि घटेको देखिएकाले धान उत्पादनमा पनि कमी आउने आउन सक्ने उहाँले बताउनुभयो। उहाँका अनुसार साउन पहिलो सातापछि रोपेको धानको उत्पादन नै कम हुन्छ। बिउ बूढो भसकेको हुँदा तुलनात्मक रुपमा उत्पादन कम हुने उहाँको भनाइ छ। उत्पादन कति घट्छ भन्ने अहिले नै यकिनका साथ भन्न नसकिने तर गत वर्षको भन्दा रोपाइँ पनि कम भएको हुँदा उत्पादन घट्ने सम्भावना देखिएको उहाँले बताउनुभयो।

कृषि विभागका अनुसार मुलुकभर १४ लाख ८८ हजार हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ। साउन २६ सम्म रोपाइँ ८४ प्रतिशत भएको हो। क्षेत्रफलका आधारमा हेर्दा देशभर १२ लाख ५४ हजार हेक्टरमा रोपाइँ भएको छ। समग्रमा हेर्दा यो वर्ष गत वर्षको तुलनामा १० प्रतिशत कम रोपाइँ भएको छ।

धेरैजसो खेतीयोग्य जमिनमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गर्ने बाध्यताका कारण यसपटक मनसुन ढिला सुरु भएको हुँदा धान रोपाइँ समग्रमै कम भएको विभागका महानिर्देशक हरिबहादुर केसीले जानकारी दिनुभयो। यसपटक गाईगोरुमा देखिएको लम्पी स्कीन रोगका कारण पनि धान रोपाइँमा प्रभाव गरेको उहाँले बताउनुभयो। साउन २६ सम्मको तथ्यांकअनुसार सबैभन्दा कम मधेश प्रदेशमा र धेरै सुदूरपश्चिम प्रदेशमा रोपाइँ भएको छ।

विभागका अनुसार साउन २६ सम्ममा सुदूपश्चिम प्रदेशमा ९९ प्रतिशत रोपाइँ सकिएको छ। गत वर्षको यही अवधिमा सुदूरपश्चिममा सशप्रतिशत रोपाइँ भएको थियो। यो प्रदेशमा १ लाख ७७ हजार हेक्टरमा रोपाइँ हुन्छ, जसमध्ये १ लाख ७६ हजारमा भइसकेको छ।

कर्णाली प्रदेशमा ९८ प्रतिशतमात्रै रोपाइँ भएको छ। गत वर्ष यही अवधिमा ९९ प्रतिशत रोपाइँ भएको थियो। कर्णालीमा ४५ हजार ३८७ हेक्टरमा रोपाइँ हुन्छ, जसमध्ये ४४ हजार ५०५ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ।

यसैगरी लुम्बिनीमा ९३ प्रतिशत रोपाइँ सकिएको छ। गत वर्ष सोही अवधिमा ९० प्रतिशत धान रोपाइँ भएको थियो। यो प्रदेशमा ३ लाख ११ हजार हेक्टरमा रोपाइँ हुन्छ। यसमध्ये २ लाख ८८ हजार हेक्टरमा रोपाइँ भएको विभागको तथ्यांक छ। यसैगरी गण्डकीमा ९३ प्रतिशत रोपाइँ भएको छ। यो प्रदेशमा ९७ हजार ८५१ हेक्टरमा रोपाइँ हुन्छ। त्यसमध्ये ९० हजार ९३६ हेक्टरमा रोपाइँ सकिएको छ। गत वर्षको यही अवधिमा ९७ प्रतिशत रोपाइँ सकिएको थियो।

बागमतीमा ८० प्रतिशत रोपाइँ भएको छ। यो प्रदेशमा १ लाख १३ हजार ५२३ हेक्टरमा रोपाइँ हुन्छ। त्यसमध्ये ९० हजार ९४६ हेक्टरमा रोपाइँ सकिएको छ। गत वर्ष यही अवधिमा ९७ प्रतिशत रोपाइँ भएको थियो।

कोशी प्रदेशमा ९४ प्रतिशत रोपाइँ भएको छ। गत वर्षको यही अवधिमा ९४ प्रतिशत रोपाइँ भएको थियो। यो प्रदेशमा धान रोपाइँ हुने क्षेत्रफल ३ लाख ४० हजार ८२९ हेक्टर हो, जसमध्ये ३ लाख २० हजार २०७ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ।