नेपाल र चीनबीचको अन्तर्राष्ट्रिय व्यापारमा १३ प्रतिशतले कमी
2023-08-14 19:45:23cri
Share with:

गत आर्थिक वर्षमा २०७९/८० मा नेपाल र चीनबीचको अन्तर्राष्ट्रिय व्यापारमा १३ प्रतिशतले कमी आएको छ।आर्थिक वर्ष २०७८/७९ मा नेपाल र चीनबीच दुई खर्ब ६५ अर्बको अन्तर्राष्ट्रिय व्यापार भएकोमा २०७९/८० मा दुई खर्ब ३२ अर्ब रूपैयाँको मात्रै भएको छ। यो पछिल्लो तीन वर्षयताकै न्यून हो। आर्थिक वर्ष २०७७/७८ मा तीन खर्ब ३३ अर्बको अन्तर्राष्ट्रिय व्यापार भएको थियो।

 

गत वर्ष भएको नेपालको कुल व्यापारमा चीनको हिस्सा ७.५२ प्रतिशत छ। गत वर्ष नेपालले १७ खर्ब ६८ अर्बको अन्तर्राष्ट्रिय व्यापार गरेको थियो। यसै समयमा भारतसँग भने ६४.१४ प्रतिशत हिस्सा थियो। भारतीय नाकाबन्दी र भूकम्पपछिका वर्ष जम्मा व्यापारमा भारतको हिस्सा ६१ प्रतिशत थियो भने चीनको हिस्सा १३ प्रतिशत थियो। २०७२ सालमा भारतले नाकाबन्दी लगाएपछि अन्य देशसँग व्यापार विविधीकरणको मुद्दा जोडतोडका साथ उठेको थियो।

तर अहिले पुन: भारतको हिस्सा बढ्दै गएको छ। चीनको हिस्सा घट्दै गएको छ। अन्य देशहरूसँग व्यापार हरेक वर्ष बढ्दै गएको भए पनि चीनसँग भने घट्दैछ।

 

व्यापार घटेर पनि भारतपछि सबैभन्दा बढी आयात चीनबाट नै भएको छ। तर, निर्यात भने नगन्य मात्रै छ। गत वर्ष एक खर्ब ५७ अर्बको निर्यातमा एक अर्ब ७६ अर्ब रूपैयाँको मात्रै चीनमा निर्यात भएको छ। निर्यातमा चीनको हिस्सा ०.७ प्रतिशत पुगेको छ। आर्थिक वर्ष २०७१/०७२ मा भएको वार्षिक व्यापार हेर्ने हो भने ४५ गुणा बढी असन्तुलन थियो। त्यस आर्थिक वर्षमा १ खर्ब १ अर्ब रुपैयाँको व्यापार भएकोमा २ अर्ब ६ करोड रूपैयाँको निर्यात भयो। ९९ अर्ब २८ करोड रुपैयाँको आयात भयो। यस हिसाबले निर्यात भएको वस्तुको रकमको तुलनामा आएको वस्तुको रकम ४५ गुणा बढी देखिन्छ, सेतोपाटी अनलाइनले लेखेको छ।