चीन-नेपाल टिप्ताला नाका खुल्ने भएपछि सीमावर्ती क्षेत्रमा उत्साह
2023-08-14 19:38:13cri
Share with:

काठमाडौंमा रहेका फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन वालुङले शनिबार दिउँसो गाउँमा फोन गरेर भदौ चौथो सातादेखि टिप्ताला भन्ज्याङ नाका खुल्ने खबर दिएपछि  यसले गाउँलेलाई उत्साही बनायो । कोरोना संक्रमण कम भएपछि स्थानीयको पहिलो चाहना नाका खुलोस् भन्ने थियो । गाउँमा पुग्ने जनप्रतिनिधि, प्रशासन, पत्रकारलगायतलाई उनीहरू नाका खोल्न पहलका लागि अनुरोध गर्थे ।

 

वडाध्यक्ष छेतेनलाई राजधानीमै बसेर नाका खुलाउने पहल गर्न गाउँका हरेकले अनुरोध गरेका थिए । सन् २०१९ मा चीनको वुहानमा कोरोना संक्रमण देखिएपछि बन्द भएको टिप्ताला भन्ज्याङ नाका सेप्टेम्बर १० (भदौ २४) देखि खुल्ने भएको हो । ‘परिचय पत्र र नागरिकता अनिवार्य गरिएकाले त्यसको व्यवस्थापन गर्नुहोला, हाम्रोतर्फबाट सेप्टेम्बर १० देखि नाका खोल्छौं भनेर खबर गरेका छन्,’ छेतेनले भन्नुभयो, ‘मलाई डिङ्जे काउन्टीका प्रशासन प्रमुख र प्रहरी प्रमुख दुवैले खबर गरेका छन् ।’ प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले पनि नाका खोल्ने प्रक्रिया सुरु भएको बताउनुभयो, कान्तिपुर अनलाइनमा खबर छ।

 

ताप्लेजुङ प्रशासन र तिब्बत प्रशासनसँग यसअघिदेखि नै छेतेनले समन्वय गर्दै आएका छन् । गत वैशाख २२ मा डिङ्जे काउन्टीका प्रतिनिधि र ताप्लेजुङका प्रतिनिधिबीच भर्चुअल बैठक गराएका थिए । वालुङका अनुसार सीमावर्ती क्षेत्रकाले सीमा प्रशासन कार्यालयले जारी गरेको परिचयपत्र र नेपाली नागरिकता देखाएर मात्रै चीनको रिउसम्म जान पाउनेछन् । त्यसको व्यवस्थापन गर्न उनीहरूले सूचना दिएको पनि वालुङ बताउँछन् । यो नाका खोल्न समन्वय गरिदिन यसअघि वडा कार्यालय ओलाङचुङगोला, फक्ताङलुङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले गृह, परराष्ट्र मन्त्रालयलाई पटक/पटक अनुरोध गरेका थिए । छेतेनका अनुसार टिप्ताला भन्ज्याङबाट मात्रै आउजाउ गर्ने गरी खुलाउने चिनियाँ अधिकारीले बताएका छन् ।

 

यसअघि घाङला नाकाबाट पनि आउजाउ हुने गरेको थियो । विशेषगरी याङ्मावासी घाङला नाका भएर रिउ जाने आउने गरेका थिए । सीमावर्ती क्षेत्रकालाई सिमानादेखि २५ किमि दूरीमा रहेको रिउसम्म जाने अनुमति दिइन्छ । रिउ तिब्बतको एउटा व्यापारिक केन्द्र हो । तिब्बतले अहिले रिउबाट ३५ किमि दूरीमा रहेको घुम्तीमा पनि व्यापारिक केन्द्र बनाएको छ । ताप्लेजुङ र संखुवासभालाई सेन्टर पर्ने गरी उक्त केन्द्र निर्माण गरेको हो । सिमानादेखि ओलाङचुङगोलाको बस्ती पनि २४ किमि दूरीमा छ ।

 

वर्षौंसम्म नाका ठप्प हुँदा व्यापार व्यवसाय ठप्प थियो । नेपालबाट गलैंचा, जडिबुटीलगायत वस्तु निर्यात हुन सकेको छैन भने चीनबाट नुनलगायतका वस्तु ल्याउन सकिएको छैन । सिमानादेखि नजिकैका बस्ती याङमाबाट रिउ पुग्न तीन दिन लाग्छ भने ओलाङचुङगोलाबाट एक दिनमा पुगिन्छ । सिमानादेखि दुवै देशका बस्तीसम्म मोटरबाटो जोडिएको भए पनि कोरोना संक्रमणपछि नेपालतर्फको सडक पुरै अवरुद्ध छ ।

मर्मतसम्भार हुन सकेको छैन । चीनतर्फबाट भने सिमानासम्मै गाडी आउने गरेको स्थानीय बताउँछन् । नाका खुलेपछि सबैभन्दा पहिला गलैंचा, घिउ, जडीबुटी निर्यात गर्ने डोङ्गाले बताउनुभयो। तिब्बतबाट भनें चौंरीलाई खुवाउने नुन, चामललगायत खाद्य सामग्री ल्याउने स्थानीयको तयारी छ । हरेक वर्ष नेपाल र चीनबीच हुने अन्तर्राष्ट्रिय व्यापारमा कमी आउन थालेको छ। सरकारले व्यापारको विविधीकरण गर्ने रणनीति तयार गरे पनि छिमेकी देश भारतको हिस्सा लगातार बढ्दै र चीनको घट्दै गएको छ।