ट्रेकिङमा अनिवार्य गाइड लैजानुपर्ने व्यवस्था प्रभावकारी बन्दै
2023-08-15 18:00:05cri
Share with:

पदयात्रा व्यवस्थित बनाउन विदेशी पर्यटकलाई गाइड अनिवार्य लैजानुपर्ने व्यवस्था कार्यान्वयन प्रभावकारी बन्दै गएको छ। पर्यटनका लागि सिजन मानिने मार्च, अप्रिल र मेमा नेपाल घुम्न आएका पर्यटकले साथमा गाइड लिएर गएको नेपाल पर्यटन बोर्डले जनाएको छ। 'यो व्यवस्था लागु गर्दै गर्दा सकारात्मकसँगै नकारात्मक टिप्पणी निस्किएका थिए। तर पहिलो सिजनमै यसको कार्यान्वयन राम्रो भयो,' बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले भन्नुभयो, 'आगामी सिजनबाट थप प्रभावकारी बन्दै जानेछ।'

सरकारले २०७९ चैत १७ गतेदेखि पदयात्रामा जाने पर्यटकका लागि अनिवार्य गाइड लैजानुपर्ने नियम लागु गरेको थियो। त्यसअघि पर्यटकहरू दुई तरिकाले ट्रेकिङमा जान्थे।

पहिलो, एक्लै। पर्यटक आफूले चाहेको गन्तव्यमा 'फ्री इन्डिपेन्डेन्ट ट्राभल्स (एफआइटी)' का लागि जारी हुने बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड लिएर सहयोगी बीना नै पदयात्रामा जान्थे।

दोस्रो, समूहमा। ग्रुप इन्क्लुसिभ ट्राभल्स (जिआइटी) लागि जारी हुने कार्ड लिएर समूहमा जान्थे।

तर गत चैतमा बोर्डले पर्यटकका लागि एफआइटी टिम्स बन्द गरेसँगै अहिले पर्यटकहरू साथमा गाइड लिएर हिँड्न थालेका छन्। यो व्यवस्था सुरू भएसँगै गत सिजनबाटै अनलाइनमार्फत टिम्स कार्ड लिन मिल्ने बनाइएको बोर्डले जनाएको छ।

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अनुसार गत सिजनमा पर्यटकले १४ हजार ४९९ वटा टिम्स कार्ड लिएका छन्। नेपाल घुम्न आउनेमध्ये २० प्रतिशत पर्यटक ट्रेकिङ जान्छन्। पर्यटकीय सिजनमा नेपाल आउने पर्यटक विशेष पदयात्रा र पवर्तारोहणमा रूचाउँछन्। यसमा सबभन्दा बढी रूचाइएका गन्तव्य सगरमाथा, अन्नपूर्ण, कञ्चनजंघा, लाङटाङ लगायत रहेको सेतोपाटी अनलाइनले जनाएको छ।