नेपालको अलैंची निकासीमा देखिएको सम्भावना
2023-08-16 15:40:16cri
Share with:

मसलाजन्य वस्तु अलैंचीको विश्व बजारमा ठूलो माग भए पनि नेपालले त्यसबाट फाइदा उठाउन नसकेको देखिएको छ। अलैंची उत्पादन विश्वमा सबैभन्दा धेरै नेपालमा हुन्छ । तर, विश्वको बजार भने अन्य मुलुकका उत्पादनले लिएको अवस्था छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र फेडेरेशन अफ नेपाल एक्सपोटर्स एसोसिएसनले गरेको एक अनुसन्धानले अलैंचीको विश्व बजार एक खर्ब ४३ अर्ब रुपैयाँको देखाएको छ ।

 

कुल विश्व बजारको मागमा नेपालको निर्यात ८ अर्ब २७ करोडमा मात्र सीमित छ। व्यापार तथा निकासी प्रवर्द्धनकेन्द्रका अनुसार अलैंची निर्यातबाट गत आर्थिक वर्षमा ८ अर्ब २७ करोड रुपैयाँ प्राप्त भएको छ । यसका लागि झन्डै एक करोड किलोअलैंची निर्यात गरिएको छ । केन्द्रका अनुसार अघिल्लो वर्षभन्दा ७२ प्रतिशतले अलैंचीको निकासी बढेको छ । नेपालको कुल निकासीजन्य वस्तुको सूचीमा अलैंची छैटौं स्थानमा छ ।

 

नेपालको प्रमुख नगदे बाली चियालाई निकासीमा पाँच वर्षअघि नै पछि पारेको अलैंचीको निर्यात ४० अर्ब रुपैयाँसम्म पुर्‍याउन सकिने अध्ययनले देखाएको छ । त्यसका लागि सरकार र किसानले धेरै मेहनत भने गर्नुपर्नेछ । अध्ययनले अलैंचीको ४० अर्ब निकासीसँगै थप १३ हजारका लागि रोजगारी सिर्जना हुने देखिएको छ । विश्व बजारमा हाल अलैंचीको बजार १ खर्ब ४३ अर्ब रुपैयाँबराबरको रहेकोमा नीतिगत सुधारमार्फत नेपालको हिस्सा बढाउन सकिने अध्ययनको निष्कर्ष छ ।

नेपालका ६ प्रदेशका ५४ जिल्लामा खेती गरिने अलैंची छिमेकी देश भारत र भुटानमा पनि उत्पादन हुन्छ । नेपालको ताप्लेजुङ जिल्लामा सबैभन्दा बढी अलैंची उत्पादन हुने गरेको कारोबार अनलाइनले जनाएको छ।

नेपालमा हाल १६ हजार ५६५ हेक्टर क्षेत्रफलमा अलैंची खेती भइरहेको छ । नेपाली अलैंची भारत र पाकिस्तानमा निर्यात हुने भए पनि पाकिस्तानको हिस्सा नगण्यमात्र छ । गत आवमा निर्यात भएको अलैंचीमध्ये भारतमा मात्र ९९.७ प्रतिशत निकासी भएकोतथ्यांक छ ।

 

अलैंची खेतीका लागि आकासे पानीमा भर पर्नुपर्ने तथा सिँचाइको बन्दोबस्त हुन नसकेको नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई बताउनुहुन्छ। उहाँका अनुसार यही कारणले गत वर्ष अलैंची निर्यात धेरै बढे पनि यस वर्ष भने ५ अर्ब हाराहारीमा मात्रै निर्यात हुन सक्ने आकलन गरिएको छ ।

 

नेपालबाट भारत निकासी हुने अलैंचीलाई अस्तित्वमा चुनौती रहेको देखिन्छ। नेपाली अलैंची हाल भारतीय अलैंचीका रुपमा तेस्रो मुलुकमा बढी मूल्यमा बिक्री भइरहेको व्यवसायीहरु बताउँछन् । यसबाट नेपाली अलैंचीले मूल्य कम पाउने तथा ब्रान्डिङ हुन नसक्ने समस्या देखिएका छन् । हाल अलैंचीको मुख्य बजारका रुपमा रहेका साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बंगलादेश, चीन, भारत, कुवेत, इजिप्ट, जोर्डन, अमेरिका, सिंगापुर र नेदरल्याण्ड्स छन् । भारत भने संसारको सबैभन्दा बढी अलैंची निर्यातक राष्ट्र हो । यसमा नेपाली अलैंचीको हिस्सा कति छ भन्ने कुनै अध्ययन हुन सकेको छैन ।

भारतले नेपालबाट प्रतिटन ६ हजार ९ सय २१ अमेरिकी डलरमा खरिद गरेको अलैंची साउदी अरेबियामा भने प्रतिटन २५ हजार ३९ डलरमा बिक्री गरिरहेको ‘आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरु’ विषयक अध्ययनमा उल्लेख छ । भारतीय व्यापारीहरुले नेपाली अलैंची खरिद गरी साउदी अरेबिया निर्यात गर्दा प्रतिटन १८ हजार १ सय १८ डलर नाफा कमाइरहेको देखिएको छ ।नेपाली अलैंची विभिन्न १० मुलुकमा प्रत्यक्ष निकासी गर्न सकिने अध्ययनले सुझाव दिएको छ ।