डोल्पामा पर्यटक संख्यामा वृद्धि
2023-08-17 15:23:16cri
Share with:

डोल्पा घुम्न आउने विदेशी पर्यटकको संख्या विगतको तुलनामा बढेको छ। शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाड डोल्पाका अनुसार गत आर्थिक वर्षको तुलनामा राष्ट्रिय निकुञ्ज वन क्षेत्र लगायत प्राकृतिक सम्पदाहरुको दृश्य अवओकन गर्न आउने पर्यटकको संख्यामा दोब्बर वृद्धि भएको कारोबार अनलाइनले लेखेको छ।

आर्थिक वर्ष ०७९/८० मा डोल्पा घुम्न आउने नेपाली पर्यटकमा १ सय १५ महिला र ८७ पुरुष गरि २ सय २ जना थिए। सार्क मुलकबाट ३ जना महिला र १३ जना पुरुष गरी १६ जना घुम्न आएका थिए। यसैगरी अन्य विदेशी पाहुनाहरुमा १६९ जना महिला र २४९ पुरुष गरी ४१८ जना गरी ३ हजार ७८२ पर्यटक डोल्पा घुम्न आएको निकुन्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिनुभयो।

उहाँका अनुसार नेपाली, सार्कमुलक र विदेशी नागरिकवाट प्रवेश शुल्क वापत १६ लाख १२ हजार रुपैयाँ राजस्व संकलन भएको छ। आर्थिक वर्ष ०७८/०७९ मा नेपाली १७३, सार्क मुलकका ३९ र अन्य विदेशी ११७ गरी ४ हजार ३७९ जना पर्यटकबाट ७ लाख ८५ हजार रुपैयाँ राजस्व उठेको थियो। यो पर्यटक संख्या र राजस्व गत आर्थिक वर्षको भन्दा दोब्बरले बढी हो।

निकुञ्जले डोल्पा घुम्न आउने नेपाली नागरिकलाई प्रवेश शुल्क वापत प्रति व्यक्ति १ हजार पाँचसय रुपैयाँ र अन्य विदेशी नागरिकबाट प्रति व्यक्ति ३ हजार रुपैयाँका दरले प्रवेश शुल्क उठाउने गर्छ। विगतका वर्षमा जिल्ला प्रवेश गर्ने पर्यटकको अभिलेख राख्ने कार्य व्यवस्थित नभएकाले कुन देशका के–कति नागरिक डोल्पा भित्रिएका छन भन्ने एकिन तथ्यांकको अभाव रहेको छ।

भर्खरै निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको सुलिगाडस्थित ब्यारेक नजिक भिमपुलमा सेना र निकुन्जको संयुक्त चेकजाँच काउन्टर स्थापना गरी एकिकृत अभिलेख राख्ने कार्य शुरु गरिएको निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना रामवाण गुल्मका गुल्मपति ध्रुव कार्कीले बताउनुभयो।

डोल्पा कठिन भूबनोट भएको पर्यटकीय थलो हो। फोक्सुण्डो ताल यहाँको विशेष आकर्षणको रूपमा रहेको छ। शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र पर्ने ६५० मिटर गहिरो ताल समुद्री सतहबाट ३ हजार ६६० मिटर उचाइमा अवस्थित छ। गाढा नीलो यो तालबाट निकास भएको पानीबाट निर्मित फोक्सुण्डो झरना यहाँको अर्को आकर्षणको रूपमा रहेको छ।

अपर डोल्पा सर्किट, शे गुम्बा, विश्वकै उच्च स्थानमा रहेको मानव बस्ती ‘धो’ र डोल्पा–मुस्ताङ पदयात्रा आकर्षको रुपमा रहेका छन्। डोल्पाबाट काञ्जीरोवा, पुथा, धौलागिरी दोस्रो लगायतका हिमाल अवलोकन गर्न सकिन्छ। प्राकृतिक सौन्दर्यसँगै कला र संस्कृतिका हिसाबले डोल्पा धनी रहेको छ। माथिल्लो डोल्पामा सयौं वर्ष पुराना गुम्बाहरू छन्। रोकाय, बुढा, ठकुरी, गुरुङ, लामा, क्षत्री, ब्राहमणलगायत जातिको विविध संस्कृति र रहनसहन यहाँ रहेको छ।

फ्रान्सका फिल्ममेकर एरिक भ्यालीले डोल्पाको विकट भूगोल र जीवनशैलीलाई विषय बनाएर ‘क्याराभान’ (१९९९) फिल्म बनाएपछि यो क्षेत्रले विश्वमा ख्याति कमाएको हो। फ्रेन्च फिल्ममेकरकै साइनोका कारण डोल्पा पुग्ने विदेशी पर्यटकमध्ये आधाभन्दा बढी फ्रेन्च हुने गर्दछन्। पछिल्लो समय आन्तरिक पर्यटक पनि आउन थालेको डोल्पाका पर्यटन व्यवसायी जितेन्द्र झाँक्री बताउनुहुन्छ।

नेपालगञ्जबाट डोल्पाको जुफाल विमानस्थलसम्म हवाई यात्रापछि पदयात्रा शुरु हुन्छ। त्यस्तै भेरी करिडोरमार्फत स्थलमार्ग हुदैं डोल्पा जान सकिन्छ। भेरी करिडोरको पुरै लम्वाई ३१० किलोमिटर रहेको छ। प्राकृतिक र भौगोलिक बनावटले डोल्पा पर्यटनको अथाह सम्भावना भएको जिल्ला हो। साँस्कृतिक रुपमा पनि डोल्पा धनी छ।

तर, सडक सञ्जालको गतिलो पहुँच नहुँदा डोल्पाको पर्यटन क्षेत्रमा पर्याप्त काम हुन सकेको छैन्। डोल्पा मात्र नभएर मुलुकभरकै प्राकृतिक स्रोत र साधनबाट राज्यले लाभ लिन सकेको छैन्। डोल्पा विश्वकै अग्लो स्थानमा रहेको मानव वस्ती धो–छार्का जाने पदमार्ग पनि हो। यसलाई प्रचार गरेर आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउन सकिएमा आर्थिक विकासमा टेवा पुग्ने आकलन गरिएको छ।

त्यस्तै शे-फोक्सुण्डो नेपालको सवैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो। डोल्पा र मुगु जिल्लामा फैलिएको छ। नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ। यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू-धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउर लगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन्।

यस निकुञ्जलाई डाँफे, मोनाल, चिर लगायत २०० प्रजाति पंक्षी, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाएको छ। यहाँ पाइने हिउँ चितुवाको आहार–बिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ।

काञ्जिरोवा दक्षिण, सिकाल्पो खाङ, वेज चुचुरा जस्ता हिमशिखर र कतिपय हिमनदीले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेको छ। निकुञ्जको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ। ११औं शताब्दीमा निर्मित शे गुम्बा पनि रहेको छ। गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ। यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ।

त्यस्तै फोक्सुन्डो ताल, छार्का–धो ताराप, सालदाङ, विजेर क्षेत्रका हिउँ चितुवा अवलोकन गर्ने पदयात्रा मार्ग, छार्का क्षेत्रका नाउर र झारल अवलोकन गर्ने यात्रा समेत रहेका छन्। डोल्पाका मुख्य पदयात्रा दुनै–व्यास ऋषि आश्रम–धो तराप, कागबेनी–छार्का–धो ताराप, धो–तिन्जेखण्ड रहेका छन्।