बीआरआईअन्तर्गतका ठूला परियोजना बनाउन नेपालको प्रस्ताव
2023-08-18 19:12:16cri
Share with:

भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने मौखिक सहमति गरेर जेठमा नयाँदिल्ली भ्रमण गरेका प्रधानमन्त्री पुष्पकमल दाहालको चीनको भ्रमणमा पनि ऊर्जा सम्झौता गर्ने गरी गृहकार्य थालिएको छ । ऊर्जा मन्त्रालयले भ्रमणका लागि गृहकार्य थालेर परराष्ट्र मन्त्रालयमा चीन भ्रमणको एजेन्डा पठाउन बाँकी नै छ । परराष्ट्रमन्त्री एनपी साउदले यूएनको महासभा र चीन भ्रमणलाई लिएर प्रारम्भिक चरणमा मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभयो। उहाँले चीन भ्रमणका सम्बन्धमा भने आवश्यक एजेन्डाहरू तय गर्नका लागि विभिन्न मन्त्रालयबाट विकास परियोजनाहरू, सम्झौता तथा समझदारीसहित अन्य विषयमा पनि गृहकार्य भइरहेको बताउनुभयो।

 

‘पहिलो चरणमा चीनसँग सम्बन्धित विषयबारे विभिन्न मन्त्रालयबाट एजेन्डा ल्याउन अनुरोध गरेको छु,’ उहाँले भन्नुभयो, ‘सबै एजेन्डा आइसकेपछि सचिवसहित अन्य सम्बन्धित पदाधिकारीसँग एजेन्डाका बारेमा विस्तृत बैठक गर्छु । त्यसपछि प्रधानमन्त्री तहमा एजेन्डाहरू प्रस्तुत हुनेछ र एजेन्डाको टुंगो लगाइनेछ ।’

 

प्रधानमन्त्री दाहालले पनि यसअघि नै भ्रमण क्रममा चीनसँग ऊर्जा सहकार्यबारे सम्झौता हुने दाबी गरिसक्नुभएको छ। किमाथांकानजिकै हुने गरी कुनै जलविद्युत् परियोजना बनाउने, कृषिमा आधारित लगानी बढाउनेलगायत विषयमा पनि कुराकानी गर्ने तयारी भइरहेको दाहालले बताउनुभयो । यसको तयारीका लागि उहाँले ऊर्जा मन्त्रालयलाई निर्देशनसमेत दिइसकेको कान्तिपुरले लेखेको छ।

 

प्रधानमन्त्री दाहालले चीन भ्रमणमा नेपालले बेल्ट एन्ड रोड परियोजना (बीआरआई) अन्तर्गत अनुदानमा कुनै एउटा ठूलो परियोजनामा सहयोग गर्न सरकारले प्रस्ताव गर्ने तयारी गरेको बताउनुभयो। विगतमा पनि चीनबाट आएका शीर्ष नेताहरूलाई प्रधानमन्त्री दाहालले नेपालमा बीआरआईअन्तर्गत कुनै एउटा ठूलो परियोजना अनुदानमा निर्माणका लागि चीनलाई आग्रह गर्नुभएको थियो। अबको चीन भ्रमणमा थप केही परियोजना निर्माणका लागि पनि चीनलाई प्रस्ताव गरिने जानकारी दिनुभयो । भ्रमणमा बीआरआई सम्बन्धमा चीनसँग थप प्रस्ट हुने र त्यसबाट लाभ लिने मौका पनि हुने दाहालले बताउनुभयो । सन् २०१७ मा हस्ताक्षर गर्दै नेपाल बीआरआईमा सहभागी भएको थियो । तर छ वर्षमा यसअन्तर्गत नेपालमा कुनै पनि परियोजना निर्माण नभएको सरकारले बताएको छ ।