चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय चासो
2023-08-19 17:13:46cri
Share with:

आर्थिक वर्ष २०७९-०८० को साउनदेखि जेठसम्ममा चितवन राष्ट्रिय निकुञ्जमा २ लाख ८८ हजार ३ सय ५९ जना पर्यटकले भ्रमण गरेका छन्। यीमध्ये १ लाख ९८ हजार ८ सय २६ आन्तरिक अर्थात् नेपाली पर्यटक रहेका छन् भने ३५ हजार ८ सय ३६ सार्क मुलुकका पर्यटक रहेका छन्। त्यस्तै गरेर अन्य मुलुकका २९ हजार ५ सय ७६ जना पर्यटकले चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गरेका छन्। साथै, उक्त अवधिमा चितवन राष्ट्रिय निकुञ्जमा २ लाख ८८ हजार ३ सय ५९ पर्यटकले प्रवेश गरेबापत तिरेको राजस्व रकममात्रै १७ करोड ३० लाख ३ हजार ९ सय संकलन भएको छ। हुन त कोरोना महामारी मत्थर भएपछि नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या जसरी बढ्दै गएको देखिन्छ, त्यसरी नै आन्तरिक रूपमा नेपालको विभिन्न पर्यटकीय स्थलमा भ्रमण गर्न निक्लने स्वदेशी पर्यटकको संख्या पनि कोरोना महामारीको समयमा भन्दा धेरै नै बढी छ । तथापि पनि चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याभन्दा आन्तरिक अर्थात् स्वदेशी पर्यटकको संख्या अत्यधिक रहनुमा चितवन भौगोलिक हिसाबले नेपालको लगभग मध्य भागमा रहनु पनि मुख्य कारण हुनसक्ने देखिन्छ।

 

विगतका केही वर्षदेखि नेपालीहरू पनि राष्ट्रिय चाडबाड र बिदामा घरमै बसेर फिल्म हेर्ने, नातागोता र आफन्तलाई बोलाएर भोजभतेर गर्ने, जुवातास खेल्ने, जाँडरक्सी खाएर पैसा सक्ने, अन्य फुर्माइस गर्नेभन्दा पनि देश–देशावरको भ्रमणमा निक्लने क्रम बढ्दै गएको छ। राष्ट्रिय चाडबाड तथा बिदाको समयमा देश–देशावरको भ्रमण गर्ने संस्कृतिको विकास युवा पुस्तामा अनिवार्यजस्तै हुँदै गएको देखिन्छ। त्यस्तै गरेर आफ्नो देशको जातीय विविधता, भाषिक विविधता, सांस्कृतिक विविधता, भौगोलिक विविधता, जातजातिपिच्छेको वेशभूषा, संस्कार, संस्कृति, बोलीचाली, परम्परागत कानुन, मूल्यमान्यता, रहनसहन आदि प्रत्यक्ष हेर्ने, देख्ने र अनुभव गर्ने सुनौलो अवसर पनि पाएका छन् ।

 

जसले गर्दा नेपालको आन्तरिक पयर्टन प्रवद्र्धन गर्नमा ठूलो टेवा पुगेको छ। हुन त नेपालमा आन्तरिक पर्यटक भएर घुम्ने नेपालीहरूले खासगरी नेपालको विभिन्न क्षेत्रमा पदयात्रा गर्न जाने विदेशी पर्यटकहरूले भन्दा धेरै खर्च गर्ने गरेका छन्। नेपाली र विदेशी पर्यटकले नेपालको भ्रमण गर्न जाँदा गर्ने खर्चको फाँटबारी त्यस्तो रहे तापनि केही पर्यटकीय क्षेत्रका स्थानीय होटल, लज, कटेज, होमस्टे, गेस्ट हाउस आदि सञ्चालकले अझसम्म आफ्नो गाउँठाउँ घुम्न आउने नेपाली आन्तरिक पर्यटकलाई पर्यटक नमान्ने मानसिकता हटाइसकेका छैनन्। विश्वका हरेक देशसँग दाँज्न मिल्ने र सकिने खालका सम्पदा र सम्भावनाहरू नेपालमा छन्, कारोबारले लेखेको छ।