मुगु–तिब्बत सडक १८ वर्षमा १८ किमि ट्र्याक
2023-08-19 17:12:49cri
Share with:

मुगुलाई चीनको तिब्बतसँग जोड्न १८ वर्षअघि सुरु गरिएको सडकमा अहिलेसम्म १८ किमि मात्र ट्र्याक खोलिएको छ ।०६२ फागुनमा तिब्बतको नाङचेनाङला जोड्ने गरी निर्माणको काम सुरु गरिएको सडक अहिलेसम्म छाइल बजारसम्म मात्र पुगेको छ ।

 

सदरमुकाम गमगढीदेखि तिब्बत सिमानास्थित नाक्चेनाङलासम्म ८५ किमि दूरी रहेको सडक निर्माण सुस्त हुँदा स्थानीयको गाडी चढ्ने सपना पूरा हुन सकेको छैन । सडक निर्माणमा ढिलाइ हुँदा मुगमकार्मारोङ गाउँपालिकाका स्थानीयलाई खाद्यान्न र दैनिक उपभोग्य सामान खरिद गर्न २ दिन एकतर्फी पैदल हिँडेर आउनुपर्ने बाध्यता छ । ‘छाइल बजारसम्म गाडी पुगे पनि पर्याप्त खाद्यान्न कहिल्यै पाइँदैन, सदरमुकाम गएर खाद्यान्न ल्याएर आउन कम्तीमा ४ दिन छुट्याउनुपर्छ,’ मुगमकामोङस्थित डोल्फुगाउँका सिक्पाल लामाले भन्नुभयो, ‘जब कि चीन सीमा पुग्न र फर्कन एक दिन मात्र लाग्छ, यो बाटो खुले त हाम्रो जीवन नै फेरिने थियो ।’

 

तिब्बतसम्म सडक जोडिने आसैआसमा बुढेसकाल लागेको मुगुको मुगमकार्मारोङस्थित पुवाका ६१ वर्षीय छोक्यालडोप्लुप लामाले बताउनुभयो । उत्तरी नाका खुलेपछि कर्णाली मात्र होइन सिंगो मुलुकले लाभ लिन सक्ने नागरिक अगुवा रूपबहादुर मल्लको भनाइ छ । तर सरकारले राष्ट्रिय गौरवको आयोजना नबनाउँदासम्म र नेपाली सेनालाई जिम्मा नदिँदासम्म यसले गति नलिने उहाँको भनाइ छ ।

 

सन् १९१५ देखि सीमा मुगुगाउँका आदिवासी जनजाति र तिब्बतीबीच व्यापारिक सम्बन्ध जोडिए पनि सडक नहुँदा उक्त व्यावसायिक सम्बन्ध वैध बन्न नसकेको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले जनाउनुभयो। गमगढीदेखि चीन सीमासम्मको दूरी ८५ किमि मात्र भए पनि सरकारले अहिलेसम्म १८ किमि मात्र सडक पूरा गरेको उहाँको गुनासो छ । सरकारले चीनसँग जोड्ने गरी हुम्लामा ९५ किमिको सिमकोट–हिल्सा सडक र डोल्पाबाट झन्डै ९० किमिको दुनै–मरिम्ला सडकमा पनि काम गरिरहेको कान्तिपुर अनलाइनमा खबर छ ।

मुगु अन्य ३ वटा स्थानीय तहका सबै वडामा सडक सुविधा पुगेको भए पनि कार्मारोङका बासिन्दा वर्षौदेखि सडक सुविधाबाट वञ्चित रहेको मुगुगाउँका कार्मानोर्बुल लामाले बताउनुभयो ।

सदरमुकाम गमगढीसहित लुम्स, छाइल, पुलु, तिहारबगर, चितै बगर हुँदै सिरानचौर भएर तिब्बत सिमानासम्म पुर्‍याउने गरी सरकारले सडक निर्माणको काम सुरु गरेको थियो । किम्री, कार्ती, ताखा, खारी, मुगु, डोल्फु, चितै, रिउस र पुवागाउँका स्थानीयलाई मोटर चढ्न पनि कम्तीमा डेढ दिन हिँड्नुपर्ने बाध्यता छ । अझै पनि खच्चड, घोडा र चौंरीमा सामान बोकेर गाउँमा ढुवानी गर्नुपर्ने बाध्यता रहेको उहाँले जनाउनुभयो।

 

सडक सुविधा नहुँदा कार्मारोङवासी लामो समयदेखि अत्यधिक महँगीको मारमा छन् । गमगढीमा २५ किलोको एक बोरा चामल १८ सयमा पाइने भए पनि गाउँसम्म पुर्‍याउँदा त्यसको मूल्य ५ हजार रुपैयाँसम्म पर्ने मुगुगाउँका सोनाम तामाङको भनाइ छ । उहाँका अनुसार गाउँमा खाद्यान्नको डिपो भए पनि गत असार महिनायता चामल आएको छैन । सडक नहुँदा गाउँको आलु, स्याउ, उवालगायतको कृषि उत्पादन खेर जाने गरेको छ ।

 

संघीयता लागू भएपछि अरू सबै सेवासुविधा गाउँमा पुगे पनि सडक नहुँदा स्थानीय विभिन्न सास्ती खेप्न बाध्य भएको उहाँले जनाउनुभयो। चालु आर्थिक वर्षमा संघीय सरकारले सडकमा ३ करोड रुपैयाँ मात्र बजेट विनियोजन गरेको छ । गत वर्ष पनि ४ करोड रुपैयाँ मात्र विनियोनजन भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र बिष्टको भनाइ छ । ८० करोड रुपैयाँ लागत अनुमान गरिएको सडकमा अहिलेसम्म १२ करोड रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो।

 

सडक सुविधा नहुँदा मुगुमकार्मारोङ गाउँपालिकाका स्थानीय व्यापारका लागि हिँडेरै तिब्बत पुग्ने गरेको प्रतिनिधिसभा सदस्य ऐनबहादुर शाहीको भनाइ छ । पर्याप्त बजेट छुट्याई सडक निर्माणको काम छिटो पूरा गर्न पटकपटक सरकारको ध्यानकर्षण गरिएको उहाँले बताउनुभयो । ‘सडक खुले देशले नै फाइदा लिन सक्छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले एउटा जिल्ला विशेषको योजना नसम्झेर संघीय सरकारले पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ ।’