लुम्बिनीमा पर्यटक बढे, चीन र दक्षिण कोरियाबाट संख्यामा धेरै सुधार
2023-08-20 15:07:03cri
Share with:

बुद्ध जन्मस्थल लुम्बिनी अवलोकनका लागि आउने विदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि देखिएको छ। गत वर्षको तुलनामा पर्यटकको संख्या चार गुणासम्म बढेको छ । कोरोना महामारीपछि लुम्बिनीमा विदेशी पर्यटकको संख्या शून्यजस्तै थियो। मुलुकको प्रमुख गन्तव्यमा महामारीपछि थलिएको पर्यटनमा यति बेला भने उत्साहजनक सुधार देखिएको छ। लुम्बिनीमा तेस्रो मुलुकका पर्यटक आगमन बढेसँगै पर्यटन व्यवसायी उत्साहित बनेका हुन्। सबैभन्दा धेरै चीन र दक्षिण कोरियाबाट आउने पर्यटकको संख्यामा सुधार देखिएको कान्तिपुर अनलाइनले जनाएको छ।

 

सन् २०२२ मा चीनबाट ४ सय ३२ पर्यटक आएका थिए । सन् २०२३ को जुलाईसम्म चीनबाट २५ सय जना आइसकेका छन् । दक्षिण कोरियाका सन् २०२२ मा ६ सय १७ जना आएकामा यस वर्षको ७ महिनामा ३ हजार ७२ जना यहाँ आइसकेका छन् । थाइल्यान्ड, श्रीलंका र म्यानमारबाट आउनेको संख्यामा उलेख्य वृद्धि देखिएको लुम्बिनी विकास कोषले जनाएको छ । सन् २०२२ मा म्यानमारबाट एक हजार ४ सय ९५ पर्यटक आएका थिए । यस वर्ष ७ महिनामा ५ हजार ४ सय २४ जना आएका छन् । श्रीलंकाबाट गत वर्ष एक हजार ८ सय ८५ पर्यटक आएकामा यस वर्ष अहिलेसम्म ६ हजार २० आएका छन् । थाइल्यान्डबाट गत वर्ष ४ हजार ३ सय ८० पर्यटक आएकामा यस वर्ष ७ महिनामा ८ हजार ४ सय २३ आएका छन् ।

 

कोषका अनुसार २०२२ मा लुम्बिनीमा ९६ मुलुकका २३ हजार ९ सय ९२ विदेशी पर्यटक आएका थिए । सन् २०२३ को सात महिनामा ६७ मुलुकका ३६ हजार ९ सय ९७ पर्यटक आइसकेका छन् । सन् २०२१ मा ६८ मुलुकका एक हजार १ सय ९७ विदेशी पर्यटक मात्र यहाँ आएका थिए । यस वर्ष अस्ट्रेलिया, भुटान, कम्बोडिया, क्यानडा, जापान, इटाली र नेदरल्यान्ड्सबाट आउने पर्यटक बढेका छन् ।

 

यस वर्षको जुलाईसम्म नेपाली, भारतीय र विदेशी गरी ५ लाख ६० हजार ३ सय २५ जनाले लुम्बिनी भ्रमण गरिसकेको कोषको सूचना शाखाले जनाएको छ । सन् २०२३ को ७ महिनामा ३ लाख ७९ हजार ३ सय ६० नेपालीले लुम्बिनी भ्रमण गरे । यो तथ्यांक मायादेवी मन्दिर अवलोकन गर्नेको मात्र हो । मायादेवी प्रवेश नगरेर फर्किनको संख्या गणना गरेमा धेरै पुग्ने कोषले बताएको छ । यस अवधिमा एक लाख ४३ हजार ९ सय ६८ भारतीयले लुम्बिनी भ्रमण गरेका छन्।

 

सन् २०२२ मा ६ लाख ४९ हजार ७८ नेपाली र दुई लाख ३० हजार ८ सय ६३ भारतीयले लुम्बिनी भ्रमण गरेका थिए ।

 

‘चीन, कोरिया र थाइल्यान्डबाट पर्यटक आवागमन बढ्नु सकारात्मक हो,’ लुम्बिनी होटल संघ पूर्वअध्यक्ष मिथुनमान श्रेष्ठले भन्नुभयो, ‘यसलाई दिगो राख्न कार्यक्रम बनाउन आवश्यक छ ।’ आवागमनसँगै उनीहरूलाई यहाँ टिकाउने कार्यक्रमको खाँचो रहेको उनको भनाइ छ ।

 

मुस्लिम मुलुक इरान, द्वन्द्वग्रस्त मुलुक इराकदेखि सिरिया, टर्कीसम्मका पर्यटक यहाँ आएका छन् । लात्भिया, लेथेसो, पोर्टोरिको, क्युवा, इक्वेडर र घानासम्मका पर्यटक आउने गरेकामा उनीहरूको बसाइँ अवधि बढाउन नक्दा देशले भनेजति फाइदा पाउन नसकेको लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक इन्द्र काफ्लेले बताउनुभयो। अंकमा मात्र नरमाएर ठोस नीति, योजना र कार्यक्रम ल्याउनु आवश्यक भएको उहाँको भनाइ छ ।

 

पर्यटन बोर्डका अनुसार नेपालमा आउने पर्यटकको संख्या बढ्दै गए पनि उनीहरूले नेपाल बसाइँमा गर्ने खर्च भने घटिरहेको छ । पछिल्लो विवरणअनुसार नेपालमा पर्यटकले प्रतिदिन गर्ने खर्च ४०.५ अमेरिकी डलरमा खुम्चिएको बोर्डका मिडिया परामर्शदाता टीपी भुसालले जनाउनुभयो। यसअघि सन् २०२१ मा पर्यटकले नेपालमा प्रतिदिन ४८ अमेरिकी डलरसम्म खर्च गर्ने गरेका थिए । यस्तो खर्च कोभिड महामारीका कारण अनिवार्य क्वारेन्टिनको नियमका कारण सन् २०२० मा ६५ अमेरिकी डलरसम्म पुगेको बताइन्छ ।

 

शान्तिको मुहान लुम्बिनी आउन विदेशी लालायित छन् । अक्टोबरदेखि मार्चसम्म पर्यटकीय सिजन हो । त्यही भएर यो समयमा पर्यटकको बसाइ लम्ब्याउनु योजना बनाउन जरुरी छ । धेरै पर्यटक भ्रमणको रोजाइमा लुम्बिनी पर्न थालेको छ । पर्यटक बढे पनि उनीलाई भुलाउन योजना र कार्यक्रम अभाव छ ।

 

‘अहिले पनि लुम्बिनीमा पर्यटक बसाइ अवधि लम्ब्याउन सकेकै छैनौं,’ लुम्बिनी विकास कोष योजना प्रबन्धक सरोज भट्टराईले भन्नुभयो, ‘पर्यटक भुलाउने कार्यक्रम जरुरी छ ।’