भैरहवा नाकाबाट भारत निकासी हुन थाल्यो नेपाली गोलभेंडा
2023-08-20 15:08:03cri
Share with:

भैरहवा नाकाबाट नेपाली गोलभेंडा आधिकारिक रुपमा भारत निकासी हुन थालेको छ। भारतमा गोलभेंडाको उत्पादनमा कमी आइ अभाव हुन थालेपछि नेपाली गोलभेंडाले भारतमा पनि बजार पाउन थालेको हो। यसअघि भारतले नेपालबाट आयात गर्न प्रतिबन्ध लगाएको सूचीमा गोलभेंडा पनि समावेश गरेको थियो ।

 

भारतमा गोलभेंडाको अभाव र आयातमा प्रतिबन्ध रहेको अवस्थामा महँगोमा बिक्री हुने भएकाले सिमावर्ती नेपालबाट अवैध तरिका(तस्करी)बाट नेपाली गोलभेंडा भारत जाने गर्दथ्यो।

 

भैरहवा भन्सार कार्यालयका अनुसार, गत साउन २८ गतेदेखि नेपाली गोलभेंडा भैरहवा नाकाबाट भारत हुन थालेको हो । भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत युवराज भट्टराईले एक हप्तामा भैरहवा नाकाबाट तीन पटक गरेर ७ मेट्रिक टन नेपाली गोलभेंडा भारत निकासी भएको बताउनुभयो। 

 

नेपाली गोलभेंडा भारत निकासी हुँदा सीमा नाकामा रहेको नेपाली क्वारेन्टाइन कार्यालयबाट रोग, किरा नभएको प्रमाणित गर्नुपर्ने प्रावधान छ। ‘यस नाकाबाट औपचारिक रुपमा नेपाली गोलभेंडा भारत निकासी हुन थालेको यो पहिलो पटक हो,’ प्लान्ट क्वारेन्टाइन बेलहिया रुपन्देहीका प्रमुख कुलदिप घिमीरेले भन्नुभयो। उहाँका अनुसार, डायमन्ड इन्टरनेसनल सिद्धार्थनगरले नेपाली गोलभेंडा भारत उत्तरप्रदेशको त्रिसागर फर्मर प्रोड्युसर कम्पनी लिमिटेडलाई निर्यात गरेको कान्तिपुर अनलाइनले खबर लेखेको छ।

 

नेपाली गोलभेंडा भारत निकासी हुँदा सिमावर्ती भारतको भन्सारमापनि बिना महसुल शून्य भन्सारमा निकासी हुने गरेको छ। नेपाली भन्सारमा पनि निकासीमा कुनै शुल्क लाग्दैन ।

 

नेपाली गोलभेंडाको निर्यातकर्ता डायमन्ड इन्टरनेसनल सिद्धार्थनगरका सञ्चालक सोनु खानले भैरहवामा आउने गरेको सल्यानको कपुरकोटमा उत्पादित नेपाली गोलभेंडा भैरहवादेखि भारत निकासी गरिएको र भारतबाट माग भए अनुरुप नेपाली गोलभेंडा उपलब्ध गराउन नसकिएको बताउनुभयो। उहाँका अनुसार, हाल नेपाली गोलभेंडा भारतमा करिब एक सय भारुमा बिक्री हुने गरेको छ।