जर्मन-चिनियाँ वाणिज्य संघ स्थापनाको दशौँ वार्षिकोत्सवको उपलक्ष्यमा कार्यक्रम आयोजित
2023-08-21 09:19:17cri
Share with:

स्थानीय समय अनुसार, जुलाई ७ तारिख बेलुकी “विगत १० वर्षदेखि हातमा हात मिलाएर अघि बढेको” शीर्षकमा जर्मन-चिनियाँ वाणिज्य संघको स्थापना भएको दशौँ वार्षिकोत्सवको उपलक्ष्यमा बर्लिनमा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ। चीन र जर्मनीको राजनीतिक तथा आर्थिक क्षेत्रका २०० प्रतिनिधिहरुले भेला भएर आपसी मित्रता तथा सहयोगलाई अघि बढाउने विषयबारे छलफल गर्नुभएको छ।

जर्मनीका लागि चिनियाँ राजदूत वु खनले जर्मन-चिनियाँ वाणिज्य संघ स्थापनाको दशौँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जर्मन-चिनियाँ वाणिज्य संघ चिनियाँ व्यवसायहरुले युरोप तथा विश्वमा प्रवेश गर्ने महत्त्वपूर्ण पुल हुनुका साथै चीन र जर्मनी बीचको आर्थिक तथा व्यापारिक सहयोग निरन्तर रुपमा उच्च स्तरमा पुर्याउने द्योतक भएको औँल्याउनुभयो। उहाँले भन्नुभयो,

विगत १० वर्षयता जर्मन-चिनियाँ वाणिज्य संघको निरन्तर रुपमा विस्तार हुँदै आएको छ, त्यो चिनियाँ र जर्मन व्यवसायहरु बीचको आदान-प्रदान गर्ने चौतारो बनेको छ, त्यसले चीन र जर्मनीको आर्थिक क्षेत्र बीचको सम्पर्क, आदान-प्रदान, दुई देशको सहयोग तथा साझा जीतलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। जर्मन-चिनियाँ वाणिज्य संघले आफ्नो दक्षता निरन्तर रुपमा सबल पार्न सक्ने, अरु बढी व्यवसायहरुको प्रतिनिधित्व गर्न सक्ने, सेवा प्रदान गर्ने स्तर निरन्तर रुपमा उकास्न सक्ने, चिनियाँ व्यवसायहरुले जर्मनीमा संचालन गर्ने क्रममा आफ्नो सामाजिक जिम्मेवारी अरु राम्रोसँग वहन गर्न राय-सुझाव दिन सक्ने, दुई देश बीचको सन्तुलित व्यापार तथा स्वस्थ विकासलाई प्रबर्द्धन गर्न योगदान पुर्‍याउन सक्ने हामीले आशा राखेका छौँ।

जर्मनीको एसिया प्रशान्तको आर्थिक समितिका अध्यक्ष रोलान्ड बुसले यस कार्यक्रमलाई भिडियोमार्फत् सम्बोधन गर्दै भर्खरै सफलताका साथ आयोजना गरिएको सातौँ चरणको चीन-जर्मनी सरकार बीचको संवादले दुई देशको आर्थिक क्षेत्र बीचको सहयोगमा नयाँ प्रेरक शक्ति तथा विश्वास पुर्‍याएको औँल्याउनुभयो। उहाँले भन्नुभयो,

वर्तमान पृष्ठभूमिमा सबैले राजनीतिक, आर्थिक तथा प्राबिधिक क्षेत्रबाट आएको ठूलो चुनौतीको सामना गरिरहेको छ। कुनै पनि एउटा व्यवसाय अथवा एउटा मुलुकले स्वतन्त्र रुपमा त्यस चुनौतीको समाधान गर्न सक्दैन, त्यसैले विभिन्न पक्षहरु बीच सहयोग हुनुपर्ने आवश्यकता छ। चीन सधैँ जर्मनीको निकै महत्त्वपूर्ण साझेदार हो। जर्मन-चिनियाँ वाणिज्य संघ चीनले युरोपमा स्थापना गरेको पहिलो विदेशी वाणिज्य संघ हो, र चीन-जर्मनी आर्थिक तथा व्यापारिक सम्बन्धमा विगत दश वर्षमा प्राप्त भएको तीव्र विकासबाट उक्त कुरा प्रमाणित भएको छ। विगत दश वर्षको अवधिमा चीन र जर्मनी बीचको व्यापारिक मात्रा करिब दुई गुणाले बढेको छ, प्राप्त तथ्याङ्क अनुसार सन् २०२२ मा दुई देश बीचको व्यापारिक मात्रा करिब ३ खर्ब युरो पुगेको छ। सम्पूर्ण जर्मनीमा चिनियाँ व्यवसायहरुको सबैभन्दा ठूलो चौतारोको रुपमा जर्मन-चिनियाँ वाणिज्य संघका ४०० भन्दा बढी सदस्यहरु छन्।

जर्मन-चिनियाँ वाणिज्य संघका अध्यक्ष पिटर एडरिय्नले जर्मनी र चीन विश्वको आर्थिक विकासमा अघिल्लो स्थानमा रहेकाले दुवै पक्ष बीचको बारम्बारको आदान-प्रदान तथा अन्तर्क्रिया निकै महत्त्वपूर्ण रहेको ठहर गर्नुभएको छ। उहाँले भन्नुभयो,

वर्तमान विश्वका धेरै क्षेत्रमा सुअवसरका साथै चुनौती पनि देखा परेका छन्। त्यसैले विभिन्न पक्षले सँगै मिलेर सहयोग गर्नुपर्छ। जलवायु परिवर्तन, वातावरणीय संरक्षण तथा डिजिटल लगायत समस्याहरुमा प्रगति हासिल गर्न सजिलो कुरा होइन, तथापि त्यसमा सहयोग गर्ने ठूलो निहित शक्ति छ। जर्मन-चिनियाँ वाणिज्य संघले त्यसका लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। हामी बीचको सहयोग स्थिर तथा स्थायी हुन सक्ने मैले आशा राखेको छु।