१९२ जना माझीलाई राप्ती र नारायणी नदीमा माछा मार्न अनुमति
2023-08-22 16:10:58cri
Share with:

 

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीमा माछा मार्नका लागि एक सय ९२ जनाले अनुमति पाएका छन्। परम्परागतरूपमा माछा मार्दै आएका उनीहरूको अनुमतिपत्र निकुञ्जले नवीकरण गरेको राष्ट्रिय समाचार समितिले लेखेको छ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अनुमतिपत्र लिनेमा माझी, बोटे, मुसहर, कुमाल र थारू समुदायका छन्। यस वर्ष माछा मार्न अनुमति लिनेको सङ्ख्या दुई सय पुग्ने अनुमान निकुञ्जले गरेको छ। गत वर्ष पनि सोही हाराहारीमा माछा मार्नेले अनुमति पाएका थिए।

नदी किनारमा बसोबास गरेर नदीमा आश्रित उनीहरूको हरेक वर्ष अनुमतिपत्र नवीकरण गर्ने गरिन्छ। 

निकुञ्जले नदीमा माछा मार्न खुलाएसँगै अनुमतिपत्र नवीकरण गर्ने गरिएको हो। वैशाखदेखि असारसम्म नदीमा माछा मार्न रोक लगाइएको थियो,’ उहाँले भन्नुभयो, ‘साउनबाट माछा मार्न खुला गरेसँगै नवीकरण सुरु गरिएको हो।
निकुञ्जले नदीमा आश्रित भएर बसोबास गर्दै आएकाहरूका लागि वैकल्पिक व्यवसायतर्फसमेत केन्द्रित गराउन थालेको छ। निकुञ्जले जगतपुर क्षेत्रका पाँच युवालाई अटोरिक्सा, नदीमा आश्रित तर आफ्नो जग्गा भएकाहरूलाई माछापालनका लागि सहयोग र सिलाइकटाइ तालिम सञ्चालन गर्दै आएको छ। यो कार्यक्रम विगत २० वर्षदेखि सञ्चालन हुँदै आएको तिवारीले जानकारी दिनुभयो।
निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको सक्रियतामा नदी किनारमा बसोबास गर्दै आएका एवं नदीमा आश्रितलाई अन्य व्यवसायतर्फ समेत केन्द्रित गराउन थालेको उहाँको भनाइ छ।