थाइ एयरवेजले नेपालमा पुनः उडान थाल्दै
2023-08-23 16:10:43cri
Share with:

थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाइ एयरवेज इन्टरनेसनलले नेपालमा पुनः उडान थाल्ने भएको छ। कोभिड-१९ पछि उडान बन्द गरेको यो कम्पनीले आगामी नोभेम्बरदेखि नेपाल उडान पुनः सुचारु गर्ने भएको अनलाइन खबरले लेखेको छ।

थाइ एयरवेजले सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई आफ्नो जनरल सेल्स एजेण्ट (जीएसए) समेत नियुक्त गरेको छ। उक्त नियुक्ति अगस्ट १, २०२३ बाट लागू भएको कम्पनीले जनाएको छ।

सम्झौता अनुसार सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसले थाइ एयरवेज इन्टरनेसनलका लागि सम्पूर्ण ग्राहक र एजेन्ट सपोर्ट सेवा सहित चौतर्फी सेल्स, मार्केटिङ र विमानस्थलस्थित सेवा उपलब्ध गराउने भएको छ।

अब थाइ एयरवेज इन्टरनेसनलले विश्वव्यापी कोभिड१९ महामारीका कारण अप्रिल २०२० देखि रोकिएको काठमाडौंका लागि उडान पुनः सञ्चालन गर्ने भएको छ।

सन् १९६८ को डिसेम्बरमा नेपालका लागि पहिलो पटक उडान सञ्चालन गरेको थाइ एयरवेजले नेपाली उड्डयन इतिहासमा लामो समय उडान गरेको छ। थाइ एयरवेज इन्टरनेसनलका चिफ कमरसियल अफिसर कोराकोट चटासिङ्घाले थाई एयरवेज इन्टरनेशनलको काठमाडौं उडान पुनः सञ्चालनमा आउनु सुखदः भएको बताउनुभयो।

थाइल्याण्ड भित्रका विभिन्न आन्तरिक तथा विश्व प्रसिद्ध गन्तव्य फुकेट, पट्टाया र क्राबी साथै राजधानी सहर बैंककलाई थाइ एयरवेजको उडान पुनः सञ्चालनले नेपाली पर्यटक र यात्रुहरूको बढ्दो संख्यालाई सहज हुने उहाँले बताउनुभयो।

अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया र विश्वका विभिन्न सहरहरुमा थाइ एयरवेजको उडान रहेकाले नेपालका यात्रुहरुलाई सहज र सुरक्षित उडान विकल्पहरु प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवर्धन गर्न सक्षम हुने उहाँको भनाइ छ।

आरआर ग्रुप अफ कम्पनीको भगिनी संस्था सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले थाइ एयरवेज इन्टरनेसनलको नेपालका लागि जीएसए नियुक्त भई काम गर्न पाउँदा हर्षित भएको बताउनुभयो।