‘बेम्बो स्मोक टी’ चियाको नयाँ स्वाद
2023-08-24 16:15:18cri
Share with:

नेपाल चिया तथा कफी विकास बोर्ड फिक्कलका चिया प्राविधिक नवीन कोइराला २०६८ सालमा टी टेक्नोलोजी एन्ड म्यानेजमेन्ट विषय अध्ययन गरिरहनुभएको थियो। युवा उमेरमा चियामा केही गरौँ भन्ने उहाँमा हुटहुटी थियो। 

पढाइसँगै उहाँ चियामा नयाँ तरिकाको प्रयोग गरिरहनुहुन्थ्यो। नयाँ प्रयोग गर्ने क्रममा एक पटक उहाँलाई चियालाई ढुङ्ग्रोमा हालेर आगोको माथि राख्दा कस्तो स्वाद हुन्छ होला भन्ने जिज्ञासा उब्जियो। उहाँले तत्काल दुईपाते चिया टिपेर ढुङ्ग्रोमा हाल्नुभयो र खाना पकाउने चुलोमाथि राख्नुभयो तर कहिलेसम्म राख्ने भन्ने कुनै योजना थिएन। उहाँलाई जति पुरानो हुन्छ त्यति महत्त्व हुन्छ भन्ने जानकारी थियो। 

चुलोमाथि चियाले विभिन्न दाउराको गुणका धुवाँ, ज्वाला, विभिन्न मरमसला तथा तेलको गुणसहित चिया सुक्दै थियो,” कोइराला भन्नुहुन्छ। त्यसैले उहाँले चार र पाँच वर्षसम्म राखी राख्नुभयो। उहाँले २०७३ सालतिर सो चिया निकाल्नुभयो। चिया चार सय ग्राम बनेको थियो। उहाँले सो चियाको बेम्बो स्मोक टीनामकरण गर्नुभयो।

जागिरको सिलसिलामा उहाँको एक रसियन नागरिकसँग भेट भयो, जो चियाका पारखी थिए। कोइरालाले ती विदेशी नागरिकलाई आफूले चार र पाँच वर्ष लगाएर राखेको चियाका बारेमा भन्नुभयो। उनले सो चिया किन्ने उत्सुकता देखाए। उहाँलाई त्यसको मूल्यबारेमा कुनै अनुमान थिएन। सुरुमा त २५ हजार रुपियाँ जति भन्नुपर्ला भन्ने लागेको थियो,” उहाँ भन्नुहुन्छ। आफूले मूल्यको कुरो गर्नै नपाई विदेशी नागरिकले नै एक लाख ५० हजार रुपियाँ दिन प्रस्ताव गरे। तब कोइराला अक्क न बक्क बन्नेको बताउनुहुन्छ। मैले चियाको बनोटबारेमा सुरुमा सबै कुरा सुनाएँ। चिया बन्दा प्रयोग भएका विभिन्न दाउरा, मरमसला, तेलको गुण र स्वादसँग चार र पाँच वर्षसम्म घुलिएको कुरा सुनाएँ तब उनले नेपाली रुपियाँ एक लाख ५० हजार दिने प्रस्ताव गरे,” कोइराला भन्नुहुन्छ। यति महँगोमा बिक्री होला भनेर आफूले कहिल्यै नसोचेको उहाँ बताउनुहुन्छ। त्यही दाममा उहाँले सो चिया बिक्री गर्नुभयो। 

त्यसो त पछिल्लो समय चिया बिक्री गर्न नसकेको भन्दै धेरै कृषक चियाबारी मास्ने योजनामा समेत लागेका छन् तर चियालाई नयाँ तरिकाबाट ब्रान्डिङ र स्वाद दिन सके चियामा अनुमान गरेभन्दा बढी मूल्य पाइन्छ। तेह्रथुमको लालीगुराँस नगरपालिकाका चिया कृषक रामप्रसाद पोख्रेलले २०६८ सालबाट चिया खेती सुरु गर्नुभयो। चिया सुरु गरेको केही वर्षमा उहाँलाई चिया निल्नु न ओकल्नु बन्यो। कारण थियो न भने जति उत्पादन भयो न आम्दानी नै, त्यहीमाथि कामदारको समस्या पनि उत्तिकै थियो तर उहाँले हरेस खानु भएन। जसोतसो आफूलाई चिया खेतीमा टिकाइराख्नुभयो। उहाँलाई विभिन्न स्थानमा तालिम लिने अवसर जु-यो। ती तालिमबाट केही नयाँ गरे दाम पनि बढी पाइन्छ भन्ने जानकारी मिलेको पोख्रेल बताउनुहुन्छ। उहाँले पनि विभिन्न स्थानका तालिमपश्चात् वाइट टीनिर्माण गर्नुभयो। जसलाई उहाँले १० हजार रुपियाँ प्रतिकिलोको दरले बिक्री गर्नुभयो, जुन चिया एक पात सुइरोलाई सुकाएर निर्माण गरिएको थियो। पछि उहाँले पुनः अर्को फूल चिया बनाउनुभयो, त्यो चिया प्रतिकिलो २५ हजार रुपियाँमा बिक्री गरेको उहाँ सुनाउनुहुन्छ। उहाँ अहिले पनि नयाँ नयाँ स्वादको चिया निर्माण गरी बिक्री गर्नुहुन्छ।

अहिले सिटिसी चियाबाहेक विभिन्न ग्रिन टी, विभिन्न प्रकारका अर्गानिक टी उत्पादन हुने गरेका छन् तर कतिपय कृषकले चियाको लागत नउठ्ने तथा कतिपय बिक्री नै नहुने गुनासो गर्ने गरेका छन्। 

चिया तथा कफी बिकास बोर्डका निर्देशक डा. विष्णु भट्टराई पनि चियालाई नयाँ स्वाद दिन सके सोचेभन्दा राम्रो आम्दानी गर्न सकिने बताउनुहुन्छ। चियाको स्वाद स्थान र उचाइ अनुसार फरक हुन्छ तर त्यसलाई ब्रान्डिङ चाहिँ गर्नु प¥यो,” उहाँ भन्नुहुन्छ। नेपालीलाई चिया बेच्न गाह्रो छैन। जति नै महँगोमा बिक्री गर्नु परे पनि बिक्री गर्न सकिन्छ तर त्यसका बारेमा नेपाल आउने विदेशी चिया पारखीलाई जानकारी गराउन सक्नु पर्छ,” उहाँ थप्नुहुन्छ। निरन्तरता भने हुनुपर्ने उहाँको जोड छ। 

चियाको विकल्प खोज्ने कृषकलाई चियाको विकल्प नभई स्वाद र ब्रान्डको विकल्प खोज्न उहाँको सुझाव छ। नेपालको पहाडी क्षेत्रमा धेरै नै राम्रो ब्रान्डको चिया उत्पादन गर्न सकिन्छ, जसको मूल्य हजारौँ रुपियाँ प्रतिकिलो पर्न सक्ने भट्टराईको भनाइ छ। यो समाचार गोरखापत्र अनलाइनमा प्रकाशित छ।